महापतन : ‘नायक’ हरूको खलनायीकरणको सैद्धान्तिक पक्ष

सन्दर्भ

महोदय, प्रुँधोलाई युरोपका बारेमा विशेष गरेर गलत तरिकाले बुझ्नका लागि दुर्भाग्य हात लाग्यो । फ्रान्समा उनलाई एउटा खराब अर्थशास्त्री हुने अधिकार प्राप्त भएको थियो किनभने उनी जर्मनीका कुशल दार्शनिक थिए । जर्मनीमा उनलाई एउटा खराब दर्शनशास्त्री हुने अधिकार थियो किनभने उनी फ्रान्सका स्थापित अर्थशास्त्री थिए । एकैपटक जर्मन र अर्थशास्त्री हुने कुरा, हामी यी दुवै गल्तीहरूको विरोध गर्ने इच्छा राख्दछौँ ।
कार्ल माक्र्स, दर्शनको दरिद्रताको भूमिकाबाट, प्रगतिशील प्रकाशन, १९५५ (अङ्ग्रेजीको नेपालीमा उल्था)

१८४७ मा पीजे प्रुँधोले गरिबीको दर्शन भन्ने पुस्तक लेखेका थिए । राजनीतिक अर्थशास्त्र र दर्शनमा विशेष दखल राख्ने भनी प्रख्याती कमाएका प्रुँधोको उक्त पुस्तकको खण्डन गर्दै कार्ल माक्र्सले त्यसै सालमा अर्को किताब लेख्नुभयो— दर्शनको दरिद्रता । माथि उल्लेख गरिएको वाक्यांश त्यही पुस्तकको भूमिका हो । कुनै समयमा माक्र्स र प्रुँधो एकअर्काबाट ज्यादै नै प्रभावित भएको भन्ने गर्दथे । प्रुँधो फ्रान्सका राजनीतिज्ञ थिए । आफूलाई समाजवादी भन्न रुचाउँथे । लेखन र प्रवचनद्वारा परम्परागत राज्यप्रणालीको कट्टर विरोधी पनि बनेका थिए । तत्कालीन युरोपमा स्थापित पनि थिए । १८४७ मा कम्युनिस्ट लिगको स्थापना हुनुभन्दा अघिसम्म रहेको अन्तर्राष्ट्रिय कामदारहरूको सङ्गठनका पक्षमा लागेका पनि थिए । उनले सामाजिक क्रान्ति शान्तिपूर्ण गर्न सकिन्छ भन्ने तर्क राख्नुका साथै दरिद्रको दर्शन लेखेपछि माक्र्सको प्रुँधोप्रतिको आकर्षण, सम्मान, प्रभाव हटेन मात्र, राजनीतिक, वैचारिक रूपमा माक्र्सले विरोध नै गर्नुपर्ने भएको थियो । कम्युनिस्ट लिगको पहिलो अन्तर्राष्ट्रिय सम्मेलनमा माक्र्स र एङ्गेल्सहरूले प्रुँधोहरूका ‘सबै मान्छेहरू साथी’ लेखिएको ब्यानर हटाएर ‘संसारका श्रमिकहरू एक होऔँ !’ लेखिएको ब्यानर राखेर सम्मेलन सम्पन्न गरिएको थियो ।

यस वर्ष नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का दुईवटा पुस्तक सार्वजनिक भएका छन्— वैज्ञानिक समाजवाद र महापतन । यी पुस्तक सार्वजनिक हुनेबित्तिक्कै आफूलाई घागडान माक्र्सवादी सौन्दर्यशास्त्री भनाउने, माक्र्सवादका खाँटी व्याख्याता भन्न रुचाउने एकजना बुज्रुक ऋषिराज बराल न्वारनदेखिको बल लगाएर विरोधमा उत्रिएका छन् । उनले उक्त किताबका बारेमा गरेका टिप्पणी र विरोधका बारेमा केही सन्दर्भ पनि यहाँ प्रस्तुत गरिनेछ ।

गत असोजमा प्रकाशित महापतनले नेपालको वामपन्थी आन्दोलनमा हलचल पैदा गरेको छ । छोटै समयमा यसको ठूलो सङ्ख्यामा यसको बिक्रीवितरण पनि भएको छ । यस पुस्तकमा पेस गरिएका सामग्रीले नयाँनयाँ बहस सिर्जना गरिराखेको छ । विभिन्न क्रियाप्रतिक्रियाहरू आइराखेका छन् । त्यसैले महापतनबारे समीक्षा गर्न खोजिएको छ ।

पुस्तक परिचय र विषयवस्तु

रातो खबर प्रकाशन गृह प्रा.लि.द्वारा प्रकाशित नेपाल कम्युनिस्ट पार्टीका महासचिव, प्रचण्डहरूद्वारा विसर्जित नेपाली क्रान्तिको नयाँ शिराबाट नेतृत्व गरिराखेका युवा नेता विप्लवले जनयुद्धको तयारी, सुरुआत, विकास र मूल रूपमा प्रचण्ड—बाबुराममा आएको राजनीतिक, वैचारिक र सांस्कृतिक विचलनलाई शृङ्खलाबद्ध घटनाक्रमलाई महापतनमा प्रस्तुत गर्नुभएको छ । भीषण वर्गसङ्घर्ष र जनयुद्धकालमा भएको पार्टी अन्तरसङ्घर्ष र वर्गसङ्घर्षले पारेको प्रभाव, त्यसमा मुख्य नेतृत्वको भूमिका र हैसियत, अमूक नेताहरूको क्षमता र हैसियतहरूलाई पनि खुलस्त पारिएको छ ।

पुस्तकमा प्रचण्ड—बाबुराममा भएको वैचारिक पतन, उनीहरूमा रहेको राजनीतिक सत्ताको प्रश्न, वैज्ञानिक समाजवादी व्यवस्थाको प्रश्न, क्रान्तिको प्रश्न, सशस्त्र सङ्घर्षसम्बन्धी दृष्टिकोण, संसदीय व्यवस्थाप्रतिको दृष्टिकोण, कम्युनिस्ट पार्टीको प्रश्न, जनयुद्धको तयारी र प्रतिबद्धता, जनमुक्ति सेनाको प्रश्न, राष्ट्रिय स्वाधीनताको सोचाइमा पतन, आर्थिक दृष्टिकोणमा विचलन, अन्तर्राष्ट्रियवादप्रति गद्दारी, साम्राज्यवादको प्रश्न, संशोधनवादसम्बन्धी दृष्टिकोण, राजनीतिक पार्टीलाई हेर्ने दृष्टिकोण, अन्तरसङ्घर्ष र दुई लाइन सङ्घर्षको प्रश्न, सांस्कृतिक दृष्टिकोण, वार्ता र सम्झौताको प्रश्न, प्रचण्डका विचलनकारी कदमहरू, महिला मुक्तिबारे, जातीय मुक्तिको प्रश्न, दलित समुदाय र मुक्तिको प्रश्न, माओवादी पार्टीको पुनर्गठन, क्रान्तिकारीहरूलाई लगाइएको आरोप, क्रान्ति र प्रतिक्रान्तिबीच सङ्घर्षको सम्भावना र क्रान्तिको उज्ज्वल सम्भावना गरी २६ वटा शीर्षक र राजनीतिक पार्टीहरूलाई हेर्ने दृष्टिकोणअन्तर्गत बहुदलीय जनवादसम्बन्धी धारणा र एमालेमा विलय, काङ्ग्रेसलाई मुख्य दुस्मनको घोषणा, चुनावी गठजोड र मसाललाई प्रतिक्रियावादी—उन्मुख घोषणा, अन्तरसङ्घर्ष र दुई लाइन सङ्घर्षको प्रश्नमा प्रचण्ड—बाबुरामबीचको सङ्घर्ष, प्रचण्ड र बादलबीचको सङ्घर्ष, प्रचण्ड र किरणबीचको सङ्घर्ष र प्रचण्ड र आलोकबीचको सङ्घर्ष, प्रचण्डको विचलनकारी कदमहरूमा ‘प्रचण्डपथ’ र संविधानसभाको कार्यनीति, एक्काईसौँ शताब्दीको जनवाद, चुनबाङ बैठकको ‘लोकतान्त्रिक गणतन्त्र’ को कार्यनीति, जनसत्तालगायत उपलब्धिहरूको विघटन, जमिनदारको जमिन फिर्ता र दलाली, बेचबिखन, जनमुक्ति सेनाको विघटन, विस्तृत शान्तिसम्झौता, ‘सङ्घीय र प्रतिस्पर्धात्मक जनपक्षीय गणतन्त्र’ को कार्यक्रम, ‘भए संविधान नभए विद्रोह’ को लाइन, जसरी हुन्छ संविधान र राष्ट्रघात र जनघात उपशीर्षकहरू राखिएका छन् ।

२६ वटा मुख्य शीर्षक र उपशीर्षकहरू राखिएको भए पनि यस पुस्तकका मुख्य अंशहरू भने जनयुद्ध सुरु हुनुभन्दा पहिला र पछि एमालेमा आएको राजनीतिक विचलनप्रति प्रचण्ड र बाबुरामहरूले लेखमार्फत गरेका असन्तुष्टि र वैचारिक खण्डनहरू, बहुदलीय जनवादको चिरफार र खण्डनमण्डनलाई कसरी व्यक्त गरिएको छ । यी शीर्षकहरूमा मूल रूपमा प्रचण्डको नेपाली क्रान्तिका समस्याहरू, बाबुरामको नेपाली क्रान्तिका आधारहरू पुस्तकमा समावेश गरिएका लेखहरूमा अभिव्यक्त उद्धरणहरू समावेश गर्नुका साथै प्रचण्डले प्रस्तुत गरेका दस्ताबेजहरूबाट लिइएको छ । यी दुवै पात्रले संसदीय व्यवस्था र एमालेजस्ता संशोधनवादी कम्युनिस्टहरूको विरोध र भण्डाफोर कसरी र कस्ता तर्कहरूद्वारा गरेका थिए र अहिले आएर प्रचण्ड किन र कसरी एमालेमा विलय हुनुका साथै संसदीय व्यवस्थामा सामेल भएका छन् साथै बाबुरामले माक्र्सवादलाई नै किन परित्याग गर्न पुगे भन्ने तथ्य र सत्यलाई सङ्गतिपूर्ण प्रस्तुति रहेको छ ।

पवित्र नियतले सुरु गरिएको र ८ वटा प्रतिबद्धता लिइएको जनयुद्धको विकाससँगै प्रचण्ड र बाबुरामहरू आफ्नै सन्तातको हत्या गर्ने स्थितिमा किन, कसरी र कहिलेदेखि पुगेका थिए भन्ने विषयहरूलाई तथ्यहरूका आधारमा यस पुस्तकमा समावेश गरिएको छ । उनीहरूमा राजनीतिक र वैचारिक विचलन कहिलेदेखि सुरु भयो भन्नेबारेमा यहाँ तथ्यहरू पेस गरिएका छन् ।

उक्त पुस्तकमा ‘बादलको कारबाहीपछि (यसबारे पछि चर्चा गरिनेछ) एक वर्षजति उनीहरू मिलेजस्तो गरे । बादललाई कमजोर बनाउनमा भने दुवै एकै ठाउँमा थिए । परन्तु २०५४—२०५५ सालमा पुग्दानपुग्दै प्रचण्ड—बाबुरामको सङ्घर्ष उत्कर्षमा पुग्यो । प्रचण्डले नेतृत्व ‘केन्द्रीकरण’ को विषय उठाएका थिए भने बाबुरामले ‘सामूहिक नेतृत्वप्रणाली’ को विषय उठाए । प्रचण्डको केन्द्रीकरणभित्र पार्टी—मोर्चा र सेनाको नेतृत्वमा उनी आफैँ हुने थियो भने बाबुरामको सामूहिक नेतृत्वको तर्कभित्र कम्तीमा जनमोर्चाको अध्यक्ष आफैँ भैराख्ने थियो ।’
(महापतन—२०७५, पृष्ठ नं. १४४)

पुस्तकमा प्रस्तुत गरिएअनुसार जनयुद्धको तयारीसँगै प्रचण्ड र बाबुरामका बीचमा बादलको कारबाहीलाई लिएर बाहेक अन्यकालमा सधैँजसो अन्तद्र्वन्द्व र अन्तर्विरोध रहिआएको थियो । यसले प्रचण्ड र बाबुरामका बीचमा वैचारिक र राजनीतिक विवाद र अन्तर्विरोध हुनुभन्दा पनि पद र प्रतिष्ठाका लागि भएको स्पष्ट देखिन्छ ।

तर उनीहरूका बीचमा जनयुद्धकालका तीनवटा परिघटनामा एकमना एकता भएको सहजै बुझ्न सकिन्छ । जनयुद्धको तयारी र पहलकदमीदेखि निरन्तर, सक्रिय र नेतृत्वतहमा नै रहेर सहभागी रहनुभएका, पार्टीको २०५५ सालको चौथो विस्तारित बैठकबाट केन्द्रीय नेतृत्वमा पुग्नुभएकाले पार्टीका विशेष सम्मेलन, बैठक र निर्णयहरूमा सामेल हुनुभएका विप्लवले प्रचण्ड र बाबुरामका बीचमा भएका एकता र सङ्घर्षलाई स्पष्ट पार्दै मिहिन तरिकाले व्याख्या गर्नुभएको छ । उहाँका अनुसार जनयुद्धलाई योजनाबद्ध विसर्जन गरी पुरानै संसदीय राज्यप्रणालीमा फर्काउन उनीहरूले कहिलेदेखि र केके नीतिमार्फत गरेका थिए भन्ने तथ्यहरू यस पुस्तकमा प्रस्तुत गर्नुभएको छ ।

यसमा भनिएको छ, ‘एउटा रोचक र मूल घटना छ २०५६—२०५७ को जसले पार्टीलाई नै आश्चर्यमा पा¥यो । त्यो थियो, दोस्रो राष्ट्रिय सम्मेलनमा ‘प्रचण्डपथ’ को संश्लेषणमा बाबुरामको पूर्ण सहमति अनि बाबुरामको ‘संविधानसभाको कार्यनीति’ मा आम सहमति (मुख्यतः प्रचण्डको) र उनको उच्च मूल्याङ्कन । नेतृत्व केन्द्रीकरणमा पनि सहमत नभएका बाबुराम ‘प्रचण्डपथ’ को संश्लेषणमा कसरी सहमत भए होलान् ।’
(महापतन—२०७५ पृष्ठ १४४)

 

पुस्तकमा विप्लवले भनेझैँ उनीहरूको यस्तो सहमतिको मुख्य कारक तत्व भनेको नै विकसित हुँदै गएको जनयुद्धलाई अवतरण गराउने उपायको खोजी थियो । आमनेता र कार्यकर्ताहरूमा प्रचण्डलाई विचार, राजनीति, सङ्गठन र सङ्घर्षको मुख्य नेतृत्वको वैचारिक केन्द्रीकरण गरिएको नाममा प्रचण्डपथमा संश्लेषण गरिएको ढोङ रचियो तर यथार्थमा संविधानसभामार्फत पुरानो सत्तालाई ध्वस्त गर्नका लागि विजयोन्मुख जनयुद्धलाई मिहिन पाराले योजनाबद्ध तरिकाले समापन गर्ने कोसेढुङ्गा साबित भयो ।

यस पुस्तकमा लेखिएअनुसार २०६० सालमा रोल्पाको गैरीगाउँमा भएको केन्द्रीय समितिको बैठकमा प्रचण्डद्वारा गरिएको ‘एक्काईसौँ शताब्दीमा जनवादको विकासबारे’ को प्रस्तावले पार्टी, सेना र जनसत्तालाई योजनाबद्ध ढङ्गले माक्र्सवादमा नयाँ विकासका नाममा विलय गर्ने योजना ल्याइएको थियो । त्यसमा प्रचण्ड र बाबुराम एक ठाउँमा रहेका थिए भने किरणले प्रतिवाद गर्न नसकेको देखिएको छ । यसरी संविधानसभाको रणनीतिलाई नीतिगत रूपमा भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादलाई पार्टी, सेना र जनसत्ता विघटन गर्ने आधारभूत रूपमा विश्वस्त तुल्याउन ‘एक्काईसौँ शताब्दीमा जनवादको विकासबारे’ ल्याइएको स्पष्ट रहेको छ । संविधानसभाको नारा, ‘एक्काईसौँ शताब्दीमा जनवादको विकासबारे’ पार्टी, सेना र जनसत्ता विघटनको योजनाको उत्कर्ष रूप नै २०६२ मा रुकुमको चुनबाङस्थित भेरीडाँडामा भएको केन्द्रीय समितिको बैठकद्वारा पारित ‘लोकतान्त्रिक गणतन्त्र’ को नारा हो । यही नाराले २०६२ सालको मङ्सिर ८ गतेको तत्कालीन माओवादी र सात राजनीतिक दलका बीचमा १२ बुँदे समझदारी दिल्लीमा जन्मिएको थियो । २०६३ साल मङ्सिर ५ गतेको विस्तृत शान्तिसम्झौताले जनयुद्धको अन्त्य गरेको थियो ।

प्रचण्ड र बाबुरामको साँठगाँठ, सहमति र भारतीय प्रायोजनमा २०५७ सालदेखि सुरु भएको यो विघटनको यात्रामा बाबुरामले आफू प्रधानमन्त्री हुँदा २०६८ साल चैत २८ गते जनमुक्ति सेनामाथि नेपाली सेना लगाएर विघटन गराएका थिए । यही कुरालाई महापतनमा विप्लवले सङ्गतिपूर्ण तरिकाले शृङ्खलाबद्ध प्रस्तुत गर्नुभएको छ । यही क्रममा प्रचण्ड, बाबुराममा आएका वैचारिक, राजनीतिक, सांस्कृतिक विचलनका पक्षहरूलाई राखिएको छ ।

तर यहाँ केही मान्छेहरू, त्यसमा पनि आफूलाई खाँटी क्रान्तिकारी भन्न रुचाउनेहरूले चुनबाङ बैठकले लिएको कार्यनीतिबाट मात्र प्रचण्ड र बाबुराममा समस्या आएकाले जनयुद्धको विसर्जन हुन पुगेको भन्ने तर्क गरिराखेका छन् । उनीहरूको यो तर्कमा आंशिक सत्यता रहेको छ, पूर्णता रहेको छैन । यसरी चुनबाङ बैठक त अन्तिम पटाक्षेप मात्र हो ।

महापतनका बारेमा आफ्नौ बौद्धिक दम्भ ओकल्ने काम डाक्टर ऋषिराज बरालले गरेका छन् । उनी अहिले नेपाल कम्युनिस्ट पार्टीका बारेमा उनीद्वारा सञ्चालित जनमेल अनलाइनमा अन्टसन्ट बकिरहेका हुन्छन् । नेपाल कम्युनिस्ट पार्टीका नेता÷कार्यकर्ताका लेखरचना आए भने पहिलो नकारात्मक प्रतिक्रिया महाशय बरालको आउँछ । कहाँसम्म भने नेकपाका प्रवक्तासहितका नेताहरूको गिरफ्तारीलाई उनको जनमेलले पार्टीभित्रको अन्तर्विरोधको परिणाम ठोक्यो ।

महाशय बराल केही समय आफैँ जनयुद्धमा सहभागी भएका मान्छे हुन् । उनलाई जनयुद्ध सुन्दर लाग्थ्यो तर जिउ हत्केलामा राखेर जनयुद्ध लडिरहेका नेता÷कार्यकर्ता उनलाई स्वाँठ र गँवार लाग्थे । खुनपसिनालाई एक बनाएर जनयुद्धको मलजल गरेको रोल्पाको थबाङ, रुकुमको क्याङ्सी, जाजरकोटका लहँ, अछामको रामारोशन उनलाई मन परेन । त्यहाँका जनता मन परेन । सलाम रोल्पा, फेरि लालभञ्ज्याङमा उभिएरजस्ता उनले दैनिकीहरूमा लेखेका छन् । यसरी श्रमजीवी, कर्मजीवी र क्रान्तिजीवीहरूलाई नरुचाउने डाक्टरसाहेबलाई तिनै जनता र राष्ट्र मुक्तिको नयाँ अभियन्तालाई किन मन पराउँथे र ?

माओले १ फेब्रुअरी १९४२ मा ‘पार्टीको कार्यशैली सुधार’ विषयक लामो प्रवचन दिनुभएको थियो । उहाँले लेखनशैलीका बारेमा भन्नुभएको थियो, ‘लेखनशैलीमा केही कुरा गलत छ भन्नुको हाम्रो तात्पर्य फोस्रो लेखनको रोगको कुरा हो । यी सबै गलत कुरा छन् । यी सबै दूषित हावाजस्तै हुन् । यो हावा शीतकालमा बहने उत्तरी हावाजस्तो भने छैन, जो पूरै आकाशभरि फैलिन्छ । मनोगतवाद, सङ्कीर्णवाद र फोस्रो पार्टीलेखन आज प्रभुत्वशाली शैली होइनन्, बरु त्यसको उल्टो, यी दूषित हावाका त्यस्ता झोंक्का मात्र हुन् जो हवाईहमलाबाट बच्न बनाइएका सुरुङहरूबाट बहने गर्छन् ।’
(माओ त्सेतुङका सङ्कलित रचनाहरू भाग ३, पेज १८)

अहिले चुनबाङको कार्यनीतिको विरोध गर्ने डाक्टर साहेबले नै चुनबाङ बैठकपछि भएको चर्चित सांस्कृतिक कार्यक्रम (जुन कार्यक्रम हेर्दै प्रचण्डहरू रोएका थिए) को उद्घोषण गरेका थिए । उनले उद्घोषणको सुरुआतमा नै प्रचण्डको गुणगान गर्दै भनेका थिए, ‘हाम्रो पार्टी जनयुद्धका अभियन्ताहरूको पार्टी हो । ती अभियन्ताहरूका पनि महाअभियन्ता, नेपाली क्रान्तिका महानायक कमरेड प्रचण्ड ।’ जब डाक्टर साहेब केन्द्रीय जनपरिषद्को सदस्य हुन पाएनन्, त्यसपछि उनी विरोधी हुन पुगेको कुरा यो लेखकलाई राम्ररी थाहा छ ।

उनलाई यहाँ घसेट्नुपर्ने आवश्यकता थिएन । उनी आफैँ त्यसका लायक बन्न पुगेका हुन् । उनी अराजक हुन् । जसरी प्रुँधोले आफूले आफैँलाई अराजक घोषणा गरेका थिए, अब उनले पनि प्रुँधोपथ अँगालेको राम्रो । नेपाली एकीकृत जनक्रान्तिका विरुद्ध न्वारनदेखिको बल लगाएर विरोधमा उत्रिरहेका महाशय बराललाई केही मान्छेले ‘डा. ऋषिराज बराल चार दशकभन्दा अघिदेखि लगातार प्रगतिवादी लेखनमा संलग्न एकजना वरिष्ठ लेखक हुनुहुन्छ । उहाँको लेखन प्रगतिवादी घेरामा पर्दछ भनिरहनु पर्दैन तर बराल समयसमयमा आलोचनात्मक धारामा उभिएर लेख्नुहुन्छ । त्यसप्रकारका शैलीलाई कतिपय सौन्दर्यचिन्तकका अबुझ विषयगत ज्ञान नभएका र सङ्कीर्ण व्यक्तिहरूलाई माक्र्सवादकै विरोधीजस्तो लाग्न सक्छ’ भनी अभिव्यक्ति दिने गरेका छन् । बरालले महापतनप्रति गरेको विषबमनसम्म पुग्दा बरालप्रतिको मोहभङ्ग नभएका ती सौन्दर्यशास्त्रीले के सोचेका होलान् ? लुतो कन्याएर आनन्द लिने वा आफ्नै शरीरमा सङ्क्रमण निम्त्याउने कि सफासुग्घर गरेर र औषधी लगाएर सफाचट पार्ने ?

निष्कर्ष

विश्व हल्लाउने र सर्वहारा वर्गको सत्ता स्थापनाको सम्मुख पुगेको दुस्मनसँगको भिडन्तमा कहीँकतै नहारी महान् जनयुद्धलाई प्रचण्ड—बाबुरामले चमडी र दमडी बचाउनका लागि गरेको विसर्जनको विस्तृत व्याख्या महापतनमा समावेश गरिएको छ । नेपालजस्ता अविकसित राष्ट्रहरूमा विजयोन्मुख क्रान्ति विचारमा भन्दा पनि भौतिक परिवेशमा परेर कसरी विचलित हुँदै भयानक वैचारिक विचलन आउँछ र त्यस्ता नेताहरू कसरी स्खलित हुन पुग्छन् भन्ने तथ्यहरू प्रस्तुत गरिएकाले यो पुस्तक जनयुद्धका अभियात्रीका लागि मात्र नभएर क्रान्तिको चाहना गर्ने, समर्थक र विरोधीहरूका लागि पनि पठनीय छ । यस पुस्तकका सम्पादकले भनेजस्तै केही भाषिक र मिति–तिथिहरूलाई सच्याउनु पर्नेछ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका क्रान्तिका भुल्का, उतार, शिखर विजयोन्मुखदेखि विसर्जनको भयानक अभिसापसम्मका परिघटना र त्यसका वैचारिक, राजनीतिक पक्षहरू र नयाँ ढङ्गको क्रान्तिकारी पार्टी निर्माण, भग्नावशेषमा परिणत क्रान्तिको खण्डहरलाई सिनित्त पारेर नयाँ क्रान्तिको जग बसाल्ने सपना मात्र नभएर यथार्थ परिणतिलाई यस पुस्तकमा समावेश गरिएकाले यो पुस्तक पठनयोग्य मात्र नभएर जनयुद्धको तयारी, उद्घोष, विकास र विसर्जनसम्मका विभिन्न मुख्यमुख्य घटना र बैठकहरूका शब्ददृश्यहरू पनि समावेश गरिएकाले सङ्कलन योग्य पनि छ । यस पुस्तकले माक्र्सको पालादेखि अहिलेसम्म विभिन्न रूपरङमा देखापरेका संशोधनवाद र प्रतिक्रियावादलाई पनि उजागर गरिएकाले यिनीहरूको यथार्थ बुझ्नका लागि पनि सहयोग पुग्छ ।

अन्त्यमा कमरेड विप्लवलाई महापतनजस्तो पुस्तकका लागि विशेष धन्यवाद तथा बधाई दिँदै अब महान् सम्भावनाको अपेक्षा राख्दछु ।

२०७५  मङ्सिर १० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :