अखिल नेपाल लेखक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,लेखकहरूलाई इच्छुकले रोजेको बाटो समात्न निर्देशन

काठमाडाैँ ः नेकपाको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आङ्गिक सङ्गठन अखिल नेपाल लेखक सङ्घको ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलन काठमाडौँमा सोमबार सम्पन्न भएको छ । सम्मेलनले शोभा दुलालको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । सम्मेलनले सङ्घको उपाध्यक्षमा अशोक सुवेदी, लम्जेल सङ्घर्षशील, महासचिवमा खोमा तरामु, सचिवमा मुक्तान थेवा र कोषाध्यक्षमा प्रतिबद्धलाई चयन गरेको छ ।

सम्मेलनले सङ्घका केन्द्रीय सदस्यहरूमा डा. शिवशङ्कर बस्याल, प्रसिद्धा शर्मा, भीम भारती, करन दयाल, मणि शर्मा, सीता विक ‘सम्झना’, सिद्ध खड्का, जानकी दहित, प्रदीप जैसी, पूर्ण इन्फादा, अम्बिका पाठक, एसके श्रेष्ठ, बीपी विद्रोही, गणेश लोहार, ध्रुवलाल शर्मा, युवराज नास्तिक, ममता सुर्खेती, रामप्रसाद खनाल, प्रतिमा गहतराज, कुमार धामी, ज्ञानु केसी र अम्बिका राई रहेका छन् ।

सम्मेलन उद्घाटन गर्दै महासङ्घका अध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य माइला लामाले अब माक्र्सवादी लेखकहरूले एकीकृत जनक्रान्ति पूरा गर्न इच्छुकले लिएको जनपक्षीय सिर्जना, त्याग, शौर्य र बलिदानको बाटो लिनुपर्ने बताए । लेखकहरूले सङ्गठन निर्माणका साथै क्रान्तिकारी लेखनका माध्यमबाट दलाल पुँजीवादी सत्तालाई चुनौती दिनुपर्नेमा उनको जोड थियो । लेखकहरूमा दम्भ, अहङ्कार र आडम्बर बढेमा ऊ क्रमशः पलायनको बाटोमा जाने भएकाले जनतासामु नम्र भएर सिर्जना पस्कनुपर्ने उनले बताए ।

नेकपाका केन्द्रीय सदस्य एवम् पश्चिम ताम्सालिङ ब्युरो इन्चार्ज आधारले माक्र्सवादी लेखकले सिर्जनाका माध्यमबाट क्रान्तिकारी मोर्चामा अग्रपङ्क्तिमा भाग लिनुपर्ने बताए । जनयुद्धकालीन अनुभूतिहरूसमेत सुनाउँदै आधारले माक्र्सवादी लेखकहरूले दलाल पुँजीवादलाई परास्त गर्ने सिर्जना गर्दै तिनका मतियार स्रष्टाका सिर्जनाहरू खारेज गर्नुपर्ने धारणा राखे । प्रमुख अतिथि माइला लामा र अतिथि आधारले स्रष्टा बीपी विद्रोहीको ‘आँधी हुरी’ गजलसङ्ग्रह लोकार्पण गरेका थिए ।

सम्मेलनमा महासङ्घका महासचिवसमेत रहेका सम्मेलन आयोजक समितिका सदस्य खेम थपलियाले विधान र प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले अबको लेखकीय आन्दोलन माक्र्सवादी र गैरमाक्र्सवादी गरी दुई कित्ता हुने गरी राजनीतिक प्रतिवेदनमा प्रस्ताव गरिएको पनि बताए ।
सम्मेलनको अध्यक्षता गरिरहेकी महासङ्घकी उपाध्यक्ष एवम् सम्मेलन आयोजक समितिकी संयोजक शोभा दुलालले नवनिर्वाचित कार्यसमितिका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै सङ्घले महासङ्घ र पार्टीले राखेको अपेक्षा पूरा गर्ने बताइन् । कार्यक्रमको सञ्चालन महासङ्घका सचिव अशोक सुवेदीले गरेका थिए । सहभागीहरूलाई महासङ्घका कोषाध्यक्ष आरोह नेपालीले स्वागत गरेका थिए ।

सम्मेलनलाई अखिल नेपाल जनकलाकार सङ्घ तथा सामना परिवारका संयोजक सरल माझी, अखिल नेपाल लोककलाकर्मी सङ्घका संयोजक ढुण्डीराज अधिकारीलगायतले शुभकामना दिएका थिए । सम्मेलनको बीचबीचमा बीपी विद्रोही, खोमा तरामु, मुक्तान थेवा, ढुण्डीराज अधिकारी, पारस ठाकुर, उषा किरण आजाद, ममता सुर्खेती, अम्बिका राईलगायतका कविता, गीत प्रस्तुत गरेका थिए ।सम्मेलनले जेल र हिरासत बसेर बसेर आएका स्रष्टाहरूलाई सम्मान गर्दै जनयुद्ध, एकीकृत जनक्रान्ति, सबै विद्रो र आन्दोलनमा बलिदान गर्ने स्रष्टाहरूलाई सहिद घोषणा गर्न माग गरेको छ ।

सम्मेलनले अश्श्लील साहित्य प्रकाशन बन्द गर्न, नेपाल र संसारभरका माक्र्सवादी लेखकमाथि भएको दमन बन्द गर्न, भारतीय जेलमा राखिएका बरबर राव, गौतम नौलखालगायत सबै स्रष्टाहरूलाई मुक्त गर्न, सरकारी ढुकुटी खर्च गरी गठन गरिएका प्रज्ञाप्रतिष्ठान, साभाmा प्रकाशनलगायत स्थानमा भएको भ्रष्टाचार, अनियमितता, भ्रष्टीकरण अन्त्य गर्न, भ्रष्टहरूमाथि काराही गर्न, प्रज्ञा प्रतिष्ठानमा राखिएको भारतीय झन्डा तत्काल हटाउन, स्रष्टाहरूमाथि लादिएको एनजीओकरण, आईएनजीओकरण, आदर्शवादीकरण अन्त्य गर्न पनि माग गरेको छ । अन्यथा सशक्त सङ्घर्षमा उत्रिने सङ्घको निर्णय छ ।

 

२०७५  मङ्सिर १० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :