क्रान्तिकारी पत्रकार सङ्गठनको ३ दिने पत्रकारिता तालिम शुरू

     काठमाडौं :  क्रान्तिकारी पत्रकार संगठन, नेपालको ३ दिने जनपक्षीय पत्रकारिता तालिम काठमाडौंमा शुरु भएको छ । सोमबारदेखि शुरु भएको तालिम बुधबार सम्म चल्नेछ । तालिममा ७० भन्दा बढि प्रशिक्षार्थीहरु सहभागी भएका छन् । तालिममा जनपक्षीय पत्रकारिताका विभिन्न विधामा तालिम दिइने आयोजकले जनाएको छ ।


नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य एवं पूर्वी कमाण्ड ईन्चार्ज अनिलशर्मा विरहीले तालिमको उद्घाटन गरेका थिए । नेता शर्माले आफ्नो पार्टी अधिकार विहीन, उत्पीडित समुदायलाई सदाका लागि मुक्त गर्ने एकीकृत जनक्रान्तिको कार्यदिशा सहित अघि बढिरहेको बताए । उत्पीडनमा पारिएका नागरिकको समाचार र उसलाई अधिकार सम्पन्न तुल्याउनेबारे हरपल संचार प्रवाह गर्ने पत्रकारहरुको खाँचो रहेको भन्दै शर्माले यो खाँचोलाई क्रान्तिकारी पत्रकार संगठन नेपालद्वारा संचालित तालिमले पूरा गर्ने विश्वास ब्यक्त गरे ।


कार्यक्रममा संगठनका पूर्व महासचिव एवं नेकपा मोरङ जिल्ला इन्चार्ज प्रज्वलले जनपक्षीय पत्रकारिताले मात्र जनताको अधिकार र जनताको परिवर्तनको आन्दोलन एकीकृत जनक्रान्तिलाई ठोस सहयोग पुर्याउने बताए । नेकपाले लिएको परिवर्तनको यात्रालाई अब पत्रकारिताकोे साथलिएर मात्र पूरा गर्न सकिने बताउँदै प्रज्वलले जनताले दुःख पाएका, खान नपाएका र राष्ट्रियता विरुद्धको हरेक षडयन्त्रबारे नागरिकलार्ई मात्र नभई विश्व समुदायलाई सूचना दिने पत्रकार अगाडि आउन अनिवार्य भइसकेको बताए ।

त्यस्तै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकालले शिक्षा, स्वास्थ्य र मौलिक तथा आधारभूत अधिकारलाई वर्तमान दलाल सत्ताले छिन्दै लगेको बताए । तालिमले शिक्षा र स्वास्थ्य जस्तो नागरिकको मौलिक अधिकारलाई माफिया र व्यापारीको पकड रहेको नीजि क्षेत्रलाई सुम्पेर चरम अन्याय गरेकोले त्यसको भण्डाफोर गरेर सत्ताको अन्यायकारी, दलाली चरित्रबारे सूचना पत्रकारिताको माध्यमबाट नागरिकसम्म पुर्याउनु अहिलेको मुख्य आवश्यकता रहेको बताए ।


कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष प्रकाश डुम्रेले गरेका थिए भने संचालन महासचिव हिम विष्टले गरेका थिए । संगठनकी कोषाध्यक्ष जानकी चौधरीले स्वागत मन्तव्य दिएकी थिइन् । क्रान्तिकारी पत्रकार संगठनले गत असोज ४ गते यता पूर्वमा ताप्लेजुदेखि कञ्चनपुरसम्म गरी १५ जिल्लामा मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तक्रिया गरि सकेको छ । बाँकी स्थानमा गर्दै जाने सो संगठनले जनाएको छ । २०७५ मङ्सिर १० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :