चट्याङ कसरी पर्छ ?

मनसुन सुरु हुँदैछ । पूर्वमनसुन सुरु भइसकेको छ । त्यसैले आकाशमा गड्याङगुडुङ गरेको सुनिन थालेको छ । त्यसो हुँदा आकाशमा आगोको झिल्काजस्तै लामो प्रकाश देखिन्छ । त्यो विशेष प्रकारको विद्युतीय प्रवाह हो । त्यो समयमा जमिनसम्म नै प्रवाहित हुन्छ । त्यसैलाई चट्याङ भनिन्छ । वर्षा र हुरीबतासको समयमा र बर्सात्मा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिमा प्रवाहित वायु एकापसमा ठोक्किन्छन् । त्यसरी ठोक्किँदा ठूलो आवाजसहित उच्च भोल्टको विद्युतीय विस्फोटबाट पैदा हुने विद्युतीय लहर नै चट्याङ हो ।

chatyang
सूर्यको तापले पानीका विभिन्न स्रोतबाट पानीका कणहरू वाष्पीकरण भई आकाशतिर जान्छन् । तिनै पानीका कणहरू चिसिँदै गएर बादलको रूप लिन्छन् तर सबै बादल एकै प्रकारका हुँदैनन् । तिनीहरू विभिन्न तापक्रममा रहन्छन् । जब बादलमा पानीको मात्रा बढ्दै जान्छ बादल बाक्लिँदै जान्छ । बादल बाक्लो हुँदै गएपछि त्यसबाट प्रकाश छिर्न सक्दैन । प्रकाश छिर्न नसकेपछि त्यो बाक्लो बादल कालो देखिन्छ । कालो बादलको तल्लो तहमा पानीको थोपा बढी हुन्छ । बादलको माथिल्लो तहमा सूर्यको किरण नपुग्ने भएकाले धेरै चिसो भई त्यहाँको पानी हिउँ, बरफ अथवा असिनाका रूपमा ठोस बनेको हुन्छ ।
बादलको एउटै टुक्रा वा समूहमा पनि तापक्रम फरकफरक हुन्छ जसका कारण बादलको गति तीव्र बन्दछ । बादललाई हावाले पनि उडाइरहेको वा धकेलिरहेको हुन्छ । यी दुवै कारणले बादलभित्र हुरीबतास चल्न थाल्छ जसका कारण बादल–बादलबीच घर्षण पैदा हुन्छ । घर्षणले धनात्मक र ऋणात्मक चार्जहरू पैदा गराउँछ जसका कारण गड्याङगुडुङ आवाज र विद्युतीय लहर पैदा गराउँछ । यस्तो आवाज बादलदेखि २० किमि परसम्म सुन्न सकिन्छ । चट्याङ बादलभित्रै सीमित रहने, बादलहरूबीच सीमित रहने वा बादलबाट जमिनसम्म फैलन सक्छ । त्यो कुरा घर्णणको स्तरमा भर पर्छ । सबै चट्याङले विद्युतीय लहर पैदा गर्ने भएकाले खतरा रहन्छ । चट्याङ पर्न बादको घर्षण अनिवार्य भए पनि कति बेला कहाँ घर्षण हुन्छ वा चट्याङ पर्छ भन्न सकिन्न । तर त्यसको जोखिम घटाउन सकिन्छ । त्यसका लागि –
– खुला आकाशमा बस्नु हुँदैन
– घरभित्र बसेर झ्यालढोका बन्द गर्नुपर्छ
– झ्यालढोकाभन्दा पर बस्नुपर्छ
– घरको छत वा विद्युत्को तारनजिक बस्नु हुँदैन
– रूखमुनि कहिल्यै बस्नु हुँदैन (गड्याङगुडुङ गर्दा
– विद्युतीय सामग्री बन्द गर्नुपर्छ
– टेलिफोन, मोबाइल बन्द गर्नुपर्छ वा प्रयोग गर्नु हुँदैन ।
– खाली खुट्टाले जमिनमा वा धातुमा टेक्नु हुँदैन
– विद्युतीय सुचालकबाट टाढा रहनुपर्छ
– घर, भवनमा लाइटेनिङ रड प्रयोग गरेर सुरक्षित रहन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :