तिम्रो सत्तासँग लड्न वा प्रतिस्पर्धा गर्न तयार छौँ : लोहनी

लुम्बिनीमा पनि कविगोष्ठी

  

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् प्रकाशन ब्युरो इन्चार्ज गुणराज लोहनीले आफ्नो पार्टी वर्तमान दलाल संसद्वादी सत्तासँग लड्न वा प्रतिस्पर्धा गर्न जे गर्नु परे पनि तयार र सक्षम रहेको बताएका छन् । जनतालाई पुरानो सत्ताका विरुद्ध नयाँ विद्रोहका लागि आह्वान गर्दै लोहनीले विद्यमान सत्ता प्रतिक्रियावादी नै रहेको प्रस्ट पारे । माक्र्सवादी, प्रगतिवादी र क्रान्तिकारी संस्कृतिकर्मी/स्रष्टाहरूले विद्यमान दलाल पुँजीवादी तथा श्रमिक जनताविरोधी सत्तासँग सांस्कृतिक विद्रोह गर्न पनि आह्वान गरे । पार्टीले यही मङ्सिर ८ गते काठमाडौँमा आयोजना जनसभामा बाधा पु¥याए सरकारलाई नै घातक र प्रत्युत्पादक हुने बताए ।

पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घ केन्द्रीय समितिले बिहीबार संवाद डबलीमा आयोजना गरेको ‘राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि बृहत् कविता गोष्ठी’ मा प्रमुख वक्ताका रूपमा उपस्थित नेता लोहनीले नेकपाले गर्न लागेको कार्यक्रमलाई देशभित्र र बाहिर विशेष महत्वका साथ हेरिएकाले सरकार पनि शान्तिपूर्ण कार्यक्रममा कुनै अवरोध नगर्न सरकारलाई सुझावसमेत दिए ।

शान्तिपूर्ण कार्यक्रम गर्न पाउने अधिकार संविधानले नै सुनिश्चित गरे पनि नेकपाका शान्तिपूर्ण कार्यक्रममा रोक लगाएकोमा आक्रोश व्यक्त गर्दै लोहनीले भने, ‘तिमीहरू आफैँले निर्माण गरेको संविधान आफैँ च्यातेर हामीलाई सहयोग गर्नेछौ ।’

पार्टी पुनर्गठनको अवसर पारेर नेकपाले यही मङ्सिर ८ गते काठमाडौँमा आयोजना गरेको विशाल ¥याली तथा जनसभाको पूर्वसन्ध्यामा पार्टीको केन्द्रीय कार्यक्रमअनुसार महासङ्घको केन्द्रीय समितिले बिहीबार काठमाडौँमा र ब्युरोस्तरीय समितिहरूले विभिन्न स्थानमा कविगोष्ठी आयोजना गरेका हुन् ।

कार्यक्रममा आयोजक जनसांसकृतिक महासङ्घका महासचिव खेम थपलियाले बुर्जुवाहरूको क्रान्तिकारी तथा न्यायपूर्ण आन्दोलनको घाँटी रेट्ने लेखरचनाविरुद्ध धावा बोल्ने बताए । उनले इच्छुकको जेल कविता पनि वाचन गरे ।

त्यस्तै महासङ्घका सचिव अशोक सुवेदीले साहित्यकारहरू भावना एकातिर र काम अर्कोतर गर्ने प्रवृत्तिबाट मुक्त हुनुपर्ने धारणा व्यक्त गरे । उनले आफ्नो मोर्चा जनयुद्धकालमा झैँ सबै चुनौती सामना गर्दै एकीकृत जनक्रान्तिमा हेलिएको बताए ।

गोष्ठीमा डा. रामप्रसाद ज्ञवाली, शाेभा दुलाल, झपेन्द्र वैद्य, बन्धु चन्द, खुमा सुवेदी, अशोक सुवेदी, अग्निराज पौडेल ‘अराप’, ढुण्डीराज अधिकारी, अतृप्त पाण्डेय, प्रमोद स्नेही, छायादत्त न्यौपाने, ओमप्रसाद कोइराला, प्रकाश गुरागाईं, त्रिभुवनचन्द्र वाग्ले, युवराज नास्तिक, खम्बु चन्द, मुक्तान थेवा, झनक श्रेष्ठ, आस्था घिमिरे, सङ्गीता पनेरु, उमाकान्त यूके, बलराम तिमिल्सिना, केबी गाउँले, नारायण नेपाल, मुकुन्द न्यौपाने, भुवन शिवाकोटी चौघरे, वेदनाथ ढकाल, डिल्लीप्रसाद मुल्तिहुन, गणेश बोहोरा, इच्छुक अनिश्चित, चेतनाथ धमला, समीर यात्री, हरिबहादुर श्रेष्ठ, भावना न्यौपाने, धनञ्जय बुढा, छायादत्त न्यौपानेलगायत ४० जना कविले रूपान्तरणका पक्षमा रचना वाचन गरेका थिए । उनीहरूले कवितामार्फत अन्यायपूर्ण राज्य व्यवस्थाको विकल्पमा आवाज उठाए ।कार्यक्रमकाे अध्यक्षता महासङ्घकी उपाध्यक्ष शाेभा दुलालले र सञ्चालन सचिव अशाेक सुवेदीले गरेका थिए । 

लुम्बिनीमा पनि कविगोष्ठी

यसैबीच अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी ब्युरोको आयोजनामा बुटवलमा बृहत् कविगोष्ठी सम्पन्न भएको छ । कविहरूले कवितामार्फत देश भयानक अवस्थामा अघि बढिरहेको भन्दै वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाए ।

गोष्ठीमा माक्र्सवादी सौन्दर्यचिन्तक दिल साहनीले राष्ट्रियताको दृष्टिकोणले देश गम्भीर अवस्थामा रहेको भन्दै देशभक्त लेखक साहित्यकारहरूले खबरदारी गर्नुपर्ने बताए । गोष्ठीमा गिरि श्रीस मगर, दीपक विश्वकर्मा, ज्ञानु केसी, मीन राना, गुरूप्रसाद कुमाल बुलबुल, पारस राहादी मगर, रूपा बुढामगर, शिव डुम्रे, प्रकाशसिंह रानामगर, इन्दु ओली, ताराप्रसाद श्रेष्ठलगायत २१ जनाले कविता प्रस्तुत गरेका थिए भने क्षितिज परिवारका कलाकार आत्मा र अखिल नेपाल लेखक सङ्घ रूपन्देहीका संयोजक बिहानी मगरले गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कार्यक्रमको उद्देश्यवारे जानकारी गराउँदै महासङ्घका केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले पार्टी पुनर्गठन दिवसलाई देशव्यापी उत्सवका रूपमा मनाउने निर्णयअनुसार कविता गोष्ठी गरिएको भन्दै दलाल पुँजीवादी संस्कृतिका विरुद्ध सम्पूर्ण देशभक्त कलमजीवी एवम् संस्कृतिकर्मी एक हुनुपर्ने बताए ।

 

२०७५ मङ्सिर ६ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :