डडेल्धुरामा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु, २७ जना घाइते

डडेल्धुरा : डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका ११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दुर्घटनामा १६ जनाको मृत्यु भएको पुष्टि गरे । बस सडकबाट २०० मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतनको बस दुर्घटनामा परेको हो । बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए । मेला भरेर फर्किने क्रममा बस दुर्घटनामा परेको हो ।

२०७५ मङ्सिर ६ गते प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :