लथालिङ्ग घरको भताभुङ्ग चाला

प्र.म.ओली स्वच्छ प्रशासन, सुशासन, शान्ति, सुरक्षा तथा सुख समृद्धि विकासको भाषण गर्दै बर्बराउँदै हिँडिरहनुभएको छ तर उहाँ जतिजति यस्ता भाषण गर्दै हिँडिरहनुभएको छ व्यवहार र कार्यान्वयन भएको कहीँकतै देखिँदैन । कागजमा मात्र सीमित छन् यी नाराहरू । समानताको प्रसङ्गमा दसैँको टीका ग्रहण गर्ने क्रममा नै स्पष्ट देखियो । ज्वाइँ, छोरी, आफन्त र आसेपासेहरूलाई कुर्चीमा राखेर सम्मानजनक तरिकाले टीका, जमरा लगाइयो तर स्वयम् पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली जसले उनलाई राष्ट्रपति पदको शपथ गराएका थिए र राष्ट्रपति पद समालेकी थिइन् । मानौँ पराजुली त उनकै गुरु नै भए तर त्यस्तो सम्मानजनक व्यक्तिलाई घुँडा टेकाएर टीका, जमरा लगाइयो । त्यस्तै आफूभन्दा पार्टीमा अग्रज व्यक्ति वामदेव गौतमलाई, त्यतिले नपुगेर पूर्वसेनापति, पूर्वप्रहरीमहानिरीक्षक तथा अन्य विशिष्ट व्यक्तिहरूलाई अपमानजनक तरिकाले टीकाजमरा लगाएको देख्दा यस्तो पो हुँदो रहेछ समानता भन्ने बल्ल थाहा भयो । यस्तो हुकुमी शासन राणा तथा शाहकालमा समेत देखिएको थिएन । सङ्घीयता भनेको सबैलाई समान दृष्टिले हेर्ने र व्यवहार गर्ने हो जस्तो लाग्थ्यो तर रहेनछ । सरकारी नेकपाको सङ्घीयता यस्तो अनौठो खालको कठोर र एकलौटी शासन चलाउने रहेछ ।

पश्चिमा देशहरूको दबाबमा परी बिनाज्ञान, अनुभव आफ्नो देशको भूबनोटलाई नसुहाउने खालको शासन प्रणाली स्थापित गरी डलरको लोभमा फसेर उनीहरूको मनसाय नै नबुझी विभिन्न प्रान्त बनाएर देश टुक्र्याउने, भाइभाइमा कलह र झगडाको बीज रोपी आफ्नै हैकम जमाएर अपदस्थ गर्ने अभिप्राय हो । खै यी डलरमा सुतेकाहरूले बुझेको ? त्यो दिवासपना कोही–कसैले पनि नदेखे हुन्छ । हामी विश्वमा नै सुपरिचित वीर गोर्खालीका सन्तान हौँ । यही कारणबाट नेपाली आमा सदासर्वदा जीवित रहनेछिन् । यी दुईजिब्रे, बोलीको ठेगान नभएका, ‘कहिले चरी काफल पाक्यो कहिले चरी बिउ कुह्यो’ भन्ने । यो तानाशाही सरकारको के विश्वास ! यही कारणले आफ्नै पार्टीभित्र थुप्रै विवाद छ । माधवकुमार नेपाल पार्टी फुटाएर निस्कने सुरसारमा छन् । झलनाथ खनाल मेरो अपमान भयो भनेर हिँडिरहेका छन् अनि वामदेव गौतम पराजित सांसद पुनः सांसद बन्ने दौडमा छन् । त्यस्तै केन्द्रदेखि स्थानीय तहसम्म विवाद छ । कर्मचारी समायोजन गरिएको छैन । देशमा महँगी, भ्रष्टाचार, हत्या, बलात्कार, हिंसा दिनहुँ बढ्दै छ । बिचौलिया, ठेकेदारहरूको मनोमानी, तस्कर, मानवबेचबिखन, गुन्डागर्दी चेली बेचबिखन र असुरक्षित । सम्पूर्ण क्रियाकलापहरूको जिम्मा सरकारले नै लिनुपर्दछ । यो दण्डहीनता अभावको कारणबाट उत्पन्न समस्या हो ।

सिन्डिकेट तोड्न नसक्नु, साढे ३३ किलो सुन प्रकरणमा कारबाही गरिँदा स्वयम् सरकार नै धरापमा पर्ने भई कान टाल्नु, पप्पु कन्स्ट्रक्सन जसले देशमा १०० भन्दा बढी पुल र १५।२० वटा बाटो निर्माण गर्ने जिम्मा लिएर पनि कहीँकतै कुनै निर्माण पूरा भएको छैन । उदाहरणका लागि निर्माण सम्पन्न बबई नदीको पुल पनि एक वर्ष नपुग्दै भत्कियो । हरिनारायण रौनियारलाई पदबाट मुक्त गरेर मात्र पुग्दैन । उनले जिम्मा लिएका कार्यहरूको क्षतिपूर्ति र बिगो भराई बिगोबमोजिम जरिबाना गर्नु पर्दछ । त्यस्तै प्रचण्डका चितवनका घरधनी पनि यही स्तरका नै हुन् । उनको खोजखबर, नामनिसान छैन । गुपचुप गरी राखिएको छ । एउटै बोली बोल्ने पूर्वमन्त्री शेरबहादुर तामाङको पद नै गयो तर दुर्गा प्रसाईं (मार्सी चामलको भात ख्वाएर बदनाम व्यक्ति) किन सुरक्षित छन् ? के ‘सानोलाई ऐन, ठूलोलाई चैन’ भनेको यही हो त ? दिन, दशा, ग्रह लाग्दा पञ्चेबाजा बजाएर आउँदैन, अकस्मात् आउँछ । त्यो कुरा ख्याल गरे हुन्छ ।

सुख, समृद्धि र विकासको नारा भुक्ने सरकारले खै भूकम्पपीडित, बाढीपीडित, सर्वसाधारण नागरिकहरूलाई बिहानबेलुका पेटभरि रोटो, पीठो र नाङ्गो शरीरमा एक जोर कपडासमेत दिन नसकेको अवस्थामा केको रेल, पानीजहाज र घरघरमा ग्याँस पाइपको नारा दिने ? देशविदेशबाट प्राप्त आर्थिक सहयोग रेमिट्यान्समाथि नै गिद्देदृष्टि पुग्छ र तँछाडमछाड गरी भ्रष्टाचार गर्छन् । सिंहदरबार भनेको त भ्रष्टाचार, गुन्डागर्दी, सुन तस्कर तथा बलात्कारी र हत्याहिंसाको जमघट स्थल रहेछ, स्पष्ट नै भयो । अझै चाखलाग्दो विषय वाइड बडी जहाज खरिदप्रकरणमा ६ अर्ब ५० करोड घोटाला भएको सुनिएको छ र आयोग पनि गठन भएको छ तर आयोगहरू मात्र गठन गर्ने, प्राप्त रिपोर्ट यथार्थ छ कि छैन जाँचबुझ गरी किन जनसमक्ष प्रस्तुत गरिँदैन । किताबका माछा नखाने तर खोलाका पाए सडेगलेका र दुर्गन्धितसमेत बाँकी नराख्नेहरूको के विश्वास ?

प्रत्येक तह र निकायहरूका कर्मचारी पुरानै सोचविचारका हुँदा काम गर्न सकिएन भनी जिम्मेवारी पन्छाउन खोज्नु कहाँसम्मको लाजमर्दो विषय हो ! ‘नाच्न जान्दिनँ आँगन टेढो’ भनेजस्तो मात्र हो । काम गर्न र गराउन सक्ने हैसियत हुनुप¥यो र आफू पनि बदलिनुपर्ला नि होइन र ?

२०७५ मङ्सिर ३ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :