सरकार कम्युनिस्ट छ भन्न लाज मान्नुपर्ने स्थिति आएको छ – अधिकारकर्मी

झापा : सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याएर फासीवादी शासन चलाउन खोजेको अधिकारकर्मीले बताएका छन् । कानूनी व्यवसायी अधिवक्ता राजन ढुंगानाले सरकार कम्युनिस्ट छ भन्न लाज मान्नुपर्ने स्थिति सरकारमा बस्ने मान्छेहरुले निर्माण गरेको बताए ।
क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रीय समितिको आयोजना र जिल्ला शाखा झापाको संयोजनमा शुक्रबार झापामा भएको ‘मानवअधिकार र प्रेस तथा अभिव्यक्ति स्तन्त्रतता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारले मानवअधिकार र स्वतन्त्र प्रेसको विश्व मान्यतालाई कुल्चेर जनविरोधी र फासिवादी शासन चलाउन उद्यत रहेको बताए।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका झापाका इन्चार्ज सौगत आचार्यले संविधानमा भएमै भएको मौलिक अधिकारलाई नागरिकले उपभोग गर्न नपाइरहेको बताए । मानवअधिकार उल्लंघन र गैरकानूनी घटना सरकार पक्षबाटै भएको दावि गरे ।  त्यस्तै नेपाल कम्युनिस्ट पार्टी झापाका सेक्रेटरी सुमनसिंह पौडेलले वर्तमान सरकार स्वेच्छाचारी र फासिवादी भएको भन्दै देशीविदेशी दलालहरुको कब्जामा सरकार फसेको बताए । फासिवादी सरकारकै कारण देशमा व्याप्त मात्रामा भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, महँगी राष्ट्रघातले तीव्रता पाइरहेको बताउँदै सेक्रेटरी पौडेलले भने ‘त्यसैकारण नेकपाले जनताको आफ्नै सत्ता सञ्चालनको यात्रामा लागिरहेको छ । जनताको सत्ता भनेकै वैज्ञानिक समाजवादी व्यवस्था हो । यसमा सबैले निसङ्कोच साथ दिनु्पर्छ ।’ दलाल संसदीय व्यवस्थामा नागरिकले सधैं मौलिक अधिकारबाट वन्चित हुनुपर्ने भएकोले यसलाई भत्काउन मिडियाले सशक्त भूमिका खेल्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका झापाका पूर्व अध्यक्ष मोहन कार्की, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटा, नेकपा (क्रान्तिकारी माओवादी) लुमानाथ भण्डारी, नेकपा (माओवादी केन्द्र)का मिलन खड्का, जेसिस झापाका अध्यक्ष महेन्द्र भट्टराई, राप्रपाका १ नम्बर प्रदेशका संयोजक राम थापा, संघीय लिम्बुवान मञ्चका यामबहादुर लिम्बुलगायतले सरकारको चर्को आलोचना गरेका थिए । संगठनले अस्ति मोरङको विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो ।

गत असोज ४ गते यता सङ्गठनले सुदूरपश्चिमको कञ्चनपुरदेखि पूर्वको ताप्लेजुङसम्म करिब डेढ दर्जन स्थानमा अन्तरक्रिया गरिसकेको छ ।

२०७५ मङ्सिर १ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :