म आतङ्ककारी

खाल्डाको राजधानी छोडेर
सहर र सदरमुकाम छोडेर
जब म गाम पस्छु
गाम पसेजस्तै
राति जून र ताराको लीला
दिउँसो घाम र बादलको लुकामारी
ती
लीला र लुकामारीको सदृश्य हेर्न सकिने
झुपडीभित्र निहुरिँदै पस्छु
विक्षिप्त अनुहार बोकेकी आमालाई
एकसरो फाटेको वस्त्रले आङ ढाकेकी आमालाई
श्रद्धाले नमन गर्दै
सूर्य निदाइसकेपछि ।

खाल्डाको राजधानी छोडेर
सहर र सदरमुकाम छोडेर
जब म गाम पस्छु
चिसोले थुरथुर कठ्याङ्ग्रिएको आँटो
आफ्नै फोका उठेका हातले
पीडा भरिएको रुग्ण

अस्थिपञ्जर शरीर दरो बनाई
सिल्टीको कसौँडीबाट
सिल्टीकै पन्युले पस्केर दिनुअघि
निरस आँखाले
रस भरिभरि सँगाल्दै
अनेकन बाँसका लामा घाराझैँ
लामा प्रश्न तेस्र्याउँछिन्
जून उठिसकेपछि ।

म वाक्यहीन हुन्छु
निःशब्द हुन्छु ।
र त्यो लामो मौन प्रश्नझैँ
लामो मौनतापछि
म मौनतामै उत्तर दिन्छु–
–क्रान्ति !
–फेरि क्रान्ति
अनि फेरि पनि क्रान्ति ।
तब
मलाई किन देशद्रोही भनिन्छ !?
मलाई किन आतङ्ककारी भनिन्छ !?
मलाई किन भूमिगत भनिन्छ !?
हँ, आमा !

२०७५ मङ्सिर १ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :