सामाजिक अगुवाहरू भन्छन्– संसदीय व्यवस्थाको औचित्य छैन

    काठमाडौँ : जनअधिकार अभियान नेपालले ‘वर्तमान राजनीतिक व्यवस्था र मानवअधिकार’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । काठमाडौँमा शुक्रबार सम्पन्न उक्त कार्यक्रमका वक्ताहरूले खुलेरै यो व्यवस्थाको औचित्य नभएको बताए ।

संसदीय व्यवस्थाको पक्षपाती नेपाली काङ्ग्रेसका नेता रमेश लेखकले समेत यस किसिमको संसदीय व्यवस्थाको औचित्य नभएको धारणा राखे ।
कार्यक्रममा अभियानका अध्यक्ष वरिष्ठ अधिवक्ता एकराज भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै भने, ‘संसदीय व्यवस्थामा मानवअधिकारका कुरा पनि देखाउने दाँतशिवाय अरू केही होइन रहेछ भनी सोच्न बाध्य भएका छौँ ।’ जाँडरक्सी, राँगा र भैँसीको मासु ख्वाउने र लोभलालच देखाउँदै जनतालाई चुनावमा भोट हाल्न लगाएर जिताउने विधि संसदीय व्यवस्थाले गरेको धारणा उनले राखे । उनले २१ औँ शताब्दीमा पनि राजनीतिक अधिकारमाथि बन्देज लगाएर अदालतमा गुहार माग्न जानुपर्ने स्थिति निर्माण गरिएको भन्दै यो कस्तो लोकतन्त्र हो भनेर प्रश्नसमेत गरे ।
वरिष्ठ अधिवक्ता भण्डारीले न्यायपालिकालाई राजनीतिक भर्तीकेन्द्र बनाइएकाले यसलाई तत्काल रोक्न माग गरे । निर्मला पन्तलगायत कयौँको मानवअधिकार हनन भएको सार्वजनिक हुँदा पनि सरकारले अहिलेसम्म पीडितलाई न्याय दिलाउन नसकेको उनले बताए ।
कार्यक्रमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले अहिले पनि सरकारको मानवअधिकारसम्बन्धी व्यवहार सुधारोन्मुख दिशातिर जान नसकेको बताए । संविधानले दिएको भेला हुने, बोल्ने, जुलुस निकाल्नेलगायत काममा सरकारले अवरोध गरिरहेकाले यसको पुष्टि गरेको उनको भनाइ थियो । सरकारले निर्मला पन्तको हत्या र बलात्कारको घटनाका अपराधी पत्ता लगाई कारबाही गर्न नसक्ने सरकार आफ्नो कामभन्दा पनि अरुको कामप्रति केन्द्रीकृत भएर जनतालाई सशक्त बनाउनुको साटो दमनतर्फ गएको भन्दै उनले आपत्ति पनि जनाए ।


कार्यक्रममा नागरिक अगुवा डा. सुन्दरमणि दीक्षितले सरकारसमक्ष एक तिहाइ जनमत पनि नभएको भन्दै यो व्यवस्था नेपालमा टिकाउ हुँदै नहुने बताए । यसका विरुद्ध अब अर्को क्रान्ति आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा प्राध्यापक डा. युवराज सङ्ग्रौला, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापा, नेपाली काङ्ग्रेसका नेता रमेश लेखक, नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल, मानवअधिकारकर्मी गौरी प्रधान र पत्रकार नरेन्द्रजङ्ग पिटरले वर्तमन राजनीति व्यवस्थाको विरोध गर्दै मानवअधिकार रक्षका विषयका मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष एकराज भण्डारी, सञ्चालन सरला रेग्मी र स्वागत मन्तव्य प्रभात चलाउनेले राखेका थिए ।
२०७५ कात्तिक ३० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :