महिलाको कैलाली अध्यक्षमा मीना

 

कैलाली : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी कैलाली जिल्लाको प्रथम जिल्ला भेला यही १८ गते आइतबार सम्पन्न भएको छ ।

भेला हुनुअघि महिलाहरूले ‘संसारका सम्पूर्ण श्रमजीवी तथा उत्पीडित महिलाहरू एकजुट होऔँ, महिलामाथि भइरहेको सम्पूर्ण दमनका विरुद्ध सङ्घर्ष गरौँ, मालेमावाद जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद’ लगायत नारा लगाउँदै बजार परिक्रमा गरेका थिए ।

भेलाले मीना साउदको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति गठन गरेको छ । भेलामा प्रमुख अतिथि अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्दले महिलामाथिको सम्पूर्ण विभेद, अन्याय, अत्याचार र हिंसा समाप्त पार्न सशक्त आन्दोलन सिर्जना गर्नुपर्ने बताइन् ।

विशिष्ट अतिथि नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले एकीकृत जनक्रान्ति नै महिलालगायत सम्पूर्ण श्रमजीवी जनताको मुक्तिको आधार रहेको बताए ।

भेलामा पार्टी जिल्ला इन्चार्ज विवेक, जिल्ला सेक्रेटरी प्रकाश मल्ल, जनवर्गीय सङ्गठन र पार्टीका नेता अतिथिका रूपमा सहभागी थिए । भेलाको अध्यक्षता मीना साउद, सञ्चालन विनीता मल्ल र स्वागत मन्तव्य सुनीताले गरेका थिए ।

२०७५ कात्तिक १९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :