हिरासत मोर्चाका तीक्ष्ण अनुभूति

कमरेड किरण राईसमेतका साथीहरूलाई अभिनन्दन गरेपछि पुष्प कोइराला र म एक ठाउँमा बास बसेका थियौँ । त्यही दिन इटहरी बजारबाट दुईजना कमरेडहरू गिरफ्तार भएको सुनियो । उनीहरूलाई हामी बसेको इटहरीको बास थाहा थियो । राती १०ः३० मा आधा घन्टा हिँडेर अर्को घरमा गएर बास बसियो । अर्को दिन स्थानीयसँग राजनीतिक छलफल राखिएको थियो । दुई घन्टा विभिन्न पार्टीका मानिसहरूसँग छलफल भयो । सकारात्मक छलफल भयो ।

त्यो छलफल सकेर हामी देवनारायण मुखियाको घर श्रीपुर, जब्दी टोलमा गयौँ । जब्दी भन्टाबारी नजिकैको गाउँ हो । कोसी बाँध वर–पर भएको कारण त्यस वर–पर भारतीय गुप्तचरको निगरानी हुने नै भयो । भारत–नेपाल नाका भएकाले तस्करी भइरहन्थ्यो । त्यसकारण पनि संवेदनशील थियो । अर्को संयोग त्यसै दिन श्रीपुरमा दुई नम्बर प्रदेशका मुख्यमन्त्रीको भ्रमण रहेछ । त्यस्ता कुरामा हामी गम्भीर भएनछौँ ।

हामी साथी मुखियाको घरमा गयौँ । तर उनी मुख्यमन्त्रीको कार्यक्रममा गएका रहेछन् । उनी हाम्रो पार्टीका चिनिएका कार्यकर्ता थिए । उनले मेरो घरमा नबस भन्दै अर्को घरमा जान भनेपछि भटभटे त्यहीँ छोडेर उनले भनेको अर्को घरमा गएर बस्यौँ । भट्भटे निगरानी स्थलमा राखेर आपूm मात्र अन्यत्र जानुको त्यति अर्थ हुँदैनथ्यो । हामीले धेरैबेर कुर्नुप¥यो । भोक र पट्यार लागिरहेको थियो । हामी बसेको स्थानमा एमाले पार्टीका मान्छेहरू छलफल गर्न आए । ती राजनीतिक मान्छे नै थिए कि गुप्तचर ? थाहा भएन । महेन्द्रराजमार्गको श्रीपुर चोकस्थित पुष्पकमल होटेलमा खाना तयार गर्न भनी मुखिया कतै गए । केही समयमा नै उनी फर्केर आए अनि आफूले पनि खाना खाए । त्यसपछि इनरुवा जान हतार छ भन्दै सबैको खानाको रकम तिरेर हामीलाई छोडेर गए । हामी चारजना थियौँ । चोकमा समूहमा हिँड्नु उचित नहोला भनेर बिदा भयौँ । म धनुषातिर जान बसको प्रतीक्षा गर्दै थिएँ ।

होटेलबाट अस्थायी प्रहरीचौकी ३ सय मिटरको दूरीमा रहेछ । हामी त्यही बाटो हुँदै बिहान गएका थियौँ । सानो झुपडीमा रहेको प्रहरी चौकी देखिन्नथ्यो । भट्भटे घुमाएर साथीहरू हिँड्नासाथ तीनजना प्रहरी मेरो नजिक आइपुगे । मलाई मुखियाको घरबाटै मनमा चिसो पसेको थियो । आँखा होटेलतिरै थिए । एकजना प्रहरीले होटेलवालासँग केही सोध्यो । होटेलवालाले हातको इसाराले नकारात्मक जबाफ फर्कायो ।

एकजना प्रहरीले ‘तपाईंको झोलामा के छ ?’ भन्यो । मैले झोला खोल्न थाल्दा उनीहरू डराएर अलि पर गए । उनीहरूलाई मेरो हुलिया आइसकेको रहेछ । ‘पहिला झोलावाला मान्छे नियन्त्रणमा लिनू’ भन्ने रहेछ । मैले प्रतिवाद गरेँ । ‘यो बाटोमा कति मान्छे हिँड्छन्, मतलब हुँदैन । तपाईंलाई ल्याउनू भन्ने माथिको आदेश छ, हिँड्नुस’ भन्दै थिए । हामीलाई गिरफ्तार गर्न जब्दी गाउँमै प्रहरी गएको रहेछ । केही मिनेटमै प्रहरीको बाहन आएर मलाई नियन्त्रण गरे ।

मोरङका एकजना साथीलाई आफू गिरफ्तार भएको खबर दिएँ । सुरक्षात्मक उपायहरू गरेँ । त्यही बेला परिवारको फोन आयो । जानकारी गराएँ । त्यसपछि झोला, फोन सबै लुटपाट गरे । सुनसरीको डीएसपीले मानसिक यातना दिन थाल्यो । ‘म मर्न तयार भएर हिँडेको छु, दबाब दिएर के पाउनुहुन्छ !’ भनेपछि ऊ कतै गयो । राति १० बजे हत्कडी लगाएर प्रहरी बाहनमा महेन्द्र राजमार्गबाट उत्तरतर्फ कोसी नदीको किनारैकिनार लगे । ‘कहाँ लग्दै हुनुहुन्छ ?, किन यसो गरेको ? भनेर धेरैपटक सोधेँ तर कोही बोलेनन् । चतारा सडकतिर जंगलको सुनसान बाटो, कोशीको किनार, रातको समय मार्न लगेको त होला भन्ने लाग्यो । डर लाग्यो, घरपरिवार सम्झेँ, साथीहरू सम्झेँ । प्रतिरोध गरेर मर्छु भन्ने लाग्यो । तर हात बाँधेका थिए । त्यतिकै भए पनि एउटालाई त घाइते पार्छु भन्ने लाग्दै थियो । उनीहरू ८ जना थिए ।

चक्रघट्टीको एउटा चिया पसल खोल्न लगाए । सायद त्यो प्रहरीकै हुँदो हो । त्यहाँ ओराले । त्यसबेला रातको १०ः३० भैसकेको थियो । प्रहरी निरीक्षक बल्ल छलफल गर्न थाल्यो । त्यसको छेउमै प्रहरीचौकी रहेछ १० मिनेटजतिको कुराकानीमा उसले पार्टीको प्रशंसा ग¥यो । उसले ‘तपाईंलाई राम्रो ठाउँमा राखौँ, राजनीतिक मान्छे दुःख नहोस् भनेर यतातिर ल्याएको हो’ उसले कूटनीतिज्ञले झैँ प्रहरी कार्यशैलीको बचाउ ग¥यो ।

त्यहाँ नयाँ कैदी, बन्दी आउनासाथ हातगोडा धुन लगाउने र त्यसपछि ‘अनुशासन सिकाउनु प¥यो’ भन्दै लगेर पिटीपिटी निरुत्साहित पार्ने चलन रहेछ । तर नेकपाको कार्यकर्ता भन्ने थाहा पाएका हुनाले मलाई पिटेनन् । त्यसपछि भदौ १९ सम्म हिरासतको दैनिकी चल्यो । एक सातापछि घरबाट परिवार कल्पना लामा भेट्न आउनुभयो ।
भदौ २० गते सदरमुकाम इनरुवा लग्यो । दुई दिन त्यहीँ बस्नुप¥यो । इनरुवा प्रहरी उपरीक्षकले मोबाइलमा केही फोटाहरू देखाएर ‘तपाईंको कमान्ड इन्चार्ज को हो ?’ भनी प्रश्न ग¥यो । मैले किरण राईको फोटो देखाएँ । उसले ‘मलाई ढाँट्ने हो ?’ भन्यो । त्यसपछि उसले ईरातोखबर विद्युतीय पत्रिका खोलेर लेखसहितको फोटो देखाउँदै ‘यो होइन ?’ भन्यो । मैले ‘तपाईंलाई थाहा रहेछ, मलाई किन सोधेको त ?’ भनेँ । त्यसपछि ऊ हाँस्यो र विषयान्तर ग¥यो ।

इनरुवा महिला कक्षको सानो, सास फेर्नै कठिन कोठामा थुनेको थियो । २ हजार धरौटीमा रिहा ग¥यो । त्यहाँ एउटा रसिद दिएर २ हजार लिए । पुनरावेदन अदालत धनकुटा गएपछि थाहा भयो त्यो त नक्कली बिल रहेछ । बिल हेर्दै न्यायाधीशले नक्कली बिल दिएर ठगेको बताए । मलाई जिल्ला प्रशासन कार्यालयमा नै इनरुवा चौकीमा कपडा लिन हिँड्नुस् भनेका थिए । परिवारले सञ्चार र अधिकारकर्मी लगाएर मेरो खोजी गरिरहेको कारण हतारहतार अन्यत्र लग्न खोज्दै रहेछ । त्यसपछि गढीमाई चौकीमा लगेर राखे । त्यसपछि धरान, भेडेटार हुँदै धनकुटा लगियो । धनकुटा डीएसपीले ‘नेता हो, तपाईंको पार्टी राम्रो लाग्छ । उनीहरूले जेजे गरे म त्यही गर्दिनँ’ भन्दै हतकडी नलगाई कुराकानी गर्दै धनकुटा पु¥याए । उनी मलाई लिन भेडेटार आएका रहेछन् । उनी पदम राईकै छिमेकी रहेछन् ।

धनकुटामा कमरेड ध्रुव पनि रहेछन् । उनको परिवारमार्फत घरमा सम्पर्क गरेँ अथवा आफू धनकुटा भएको सूचना पठाएँ । मलाई पुनरावेदन अदालतले रिहा गर्न आदेश दियो । बार एसोसिएसनका अध्यक्षले बुझेर लिए । प्रहरी फेरि गिरफ्तार गर्न आयो । उनले बारको सभा कक्षमा लगे । प्रहरीले घेरा हाल्यो । त्यस बेलासम्म थुप्रै साथी अदालतमा जम्मा भैसकेका थिए । कानुन व्यवसायी र प्रहरीको वाक्युद्ध धेरैबेर चल्यो । ‘अदालतको अनुरोध र आदेशमा मैले निर्दोष नागरिकको जिम्मा लिएको छु । तपाईंलाई कानुन तोड्ने अधिकार कसले दियो ?’ बारका अध्यक्ष भन्दै थिए । उनले ‘मलाई पनि लैजानुस्’ भन्दै एसपीलाई हकारे । ‘राजनीतिक घटनाको जिम्मा तपाईंले लिनुहुन्छ ? केही घटना भयो भने जिम्मा लिनुहुन्छ ?’ प्रहरी पनि कस्सिँदै थियो । लामो घम्साघम्सीपछि बन्दुकको अगाडि सबैजना पराजित भए । अदालत निरीह बन्यो । कालो कोट थकित देखियो । मलाई अड्डासार गर्दै इलाम जिप्रका पु¥याइयो । बाटोमा नै तपाईंको अर्को नेता किरण राई पनि पक्राउ परेका छन् भनी प्रहरीले भनेको थियो । प्रहरी बाहनको चालक सीके राउत समर्थक रहेछ । सीके राउत मधेसी जनताको स्वतन्त्रताको घातक हो भनिदिएँ । लामो छलफल गर्ने अवस्था थिएन । तरहरामा २ दिन राखेको थियो । राती १० बजे इटहरी र एक घन्टा बेलबारीमा रोकेका थिए । १२ः३० मा दमक पु¥याए । हरेक चौकीमा पु¥याएपछि फोटो खिच्थे । नयाँनयाँ मान्छे आउँथे, नाम, ठेगाना सोध्थे र जान्थे । सायद उनीहरू भविष्यमा फेरि गिरफ्तार गर्नुपर्दाको तयारी गरिरहेका थिए ।

इलाम प्रहरी हिरासतमा डम्बर र विजय दुईजना साथी थुनिएका रहेछन् । भदौ १३ गते सूर्योदय नपाबाट सौगात, सुमनसहित १० जनालाई गिरफ्तार गरेर ल्यायो । कमान्ड इन्चार्ज त्यहाँ बल्लबल्ल बचेको थाहा भयो । त्यहाँ पनि पुनरावेदन भयो । असोज १७ गते मलाई फेरि रिहा गर्न आदेश भयो । कानुन व्यवसायीले लामो बहस गरेका हुनाले अबेर भयो । अदालतले अबेर पुनः रिहा गर्न आदेश ग¥यो । कमरेड सौगातका भाइले मलाई आफ्नो घरमा लग्नुभयोे । उहाँकी आमा राजनीतिक रूपले सचेत हुनुहुँदोरहेछ । मधेसका आमाहरू कहिले यस्तो सचेत होलान् ? मनमा कुरा खेल्यो । आमामा कम्युनिस्ट आदर्शप्रति अगाध आस्था देखिन्थ्यो ।

असोज १८ गते धनुषा फर्कें । यसबीचमा जेल–हिरासत नै भए पनि म तराईमा नै जान चाहन्थेँ । तर उनीहरू ‘त्यता गर्मी छ, लामखुट्टे, उपियाँ र उडुसले टोक्छ भनेर चिसो ठाउँमा राखेको हो’ भनेर टार्थे । तराईमा प्रभाव विस्तार गर्ला भनेर मलाई तराईमा समातेर पहाडी जिल्लामा थुनिएको थियो । पार्टी, कानुन व्यवसायी, सञ्चारकर्मी, अधिकारकर्मी सबैको सहयोगमा रिहा भएर जनताको बीचमा आएको छु । सरकारको दमनकारी नीति असफल भएको छ । जीवन सङ्घर्षमा नौलो अनुभूति र अनुभव भएको छ । यो अनुभव भविष्यको क्रान्ति मार्गमा प्रेरणाको सोत बनिरहनेछ ।
२०७५ कात्तिक १८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :