अपर तामाकोसीमा भूमाफियाको चलखेल

काठमाडौँ : जिल्लाको शङ्खरापुर नगरपालिका ३ स्थित कुलामुनि गाउँको खेतीयोग्य १९० रोपनी जमिनमा अपर तामाकोसी हाइड्रोले अधिकरण गरी त्यहाँका किसानलाई मुआब्जा रकममार्फत रकम उपलब्ध गराउने नाममा भूमाफिया र स्थानीय स्तरमा गठित सङ्घर्ष समितिले ठूलो चलखेल गरिरहेको समाचार रातो खबरलाई पुनः प्राप्त भएको छ । समाचारअनुसार किसानको हितमा बनेको सङ्घर्ष समितिको संयोजक सत्यमान लामाले त्यहाँका सोझा जनतालाई राजनीतिक आडमा धाकधम्की दिने गरेको मुआब्जा रकम नपाउने किसानले बताएका छन् ।

पीडितहरूलाई न्याय दिलाउनुको सट्टा निकै मोटो रकम हात पार्ने दाउमा भूमाफियाले त्यहाँका पीडित किसानलाई कमिसन मागेको र सङ्घर्ष समितिलेसब स्टेसनमा जग्गा पर्नेहरूसँग कमिसनको दोहोरो कागजसम्म गरी दुःख दिइरहेको खुल्न आएको छ । छिनछिनमा कुरा फेर्दै हिँड्ने सत्यमान लामाको साँठगाँठमा स्थानीय जनप्रतिनिधि, वडा अध्यक्ष, नगरपालिका, मालपोत कार्यालय, उक्त नगरका मेयरलगायत मूल्याङ्कन समिति, नापी विभाग, भूमिसुधारलाई पनि आफ्नो मुठीमा लिई मुआब्जा पाउने रकमको चलखेल गरिरहेको बुझिन आएको छ । तीन पुस्ता अघिदेखि नै भोगचलन गर्दै आइरहेका स्थानीय किसानलाई मर्का पर्ने गरी काठमाडौँबाहिरका पहिचान नभएका व्यक्तिलाई अनधिकृत रूपमा तल्सिङ खडा गरी विभिन्न कित्ताको जग्गा एकलौटी हात पारी अकुत रकम हात पार्ने षड्यन्त्रमा लागेका सत्यमान लामासँग त्यहाँका पीडित किसानहरू रुष्ट भएका छन् ।

सङ्घर्ष समितिको सदस्यसम्मलाई थाहा नदिई मनोमानी काम गर्दै आइरहेका सत्यमानविरुद्ध उनकै समितिमा रहेका सदस्यले पनि आक्रोश पोखेका थिए । त्यहाँका किसानले चेतावनी दिँदै भनेका छन्– राजनीतिक शक्तिको आडमा हामीले पाउने मुआब्जा रकममाथि चलखेल गर्छ भने चुप लागेर बस्दैनौँ । विभिन्न समूहहरूसँग मिली हामीमाथि अनावश्यक दुःख दिँदासम्म वडा अध्यक्ष सन्तबहादुर लामा मौन बस्नुले आश्चर्यचकित भएको त्यहाँका पीडित किसानले बताएका छन् ।

प्राप्त समाचारअनुसार मुआब्जामार्फत प्राप्त अर्बौं रकममा ठूलो कमिसन लिने खेलमा रहेका त्यहाँका भूमाफियाहरूको सक्रियता बढेसँगै स्थानीय पीडित किसानहरू सशङ्कित बन्न पुगेका छन् । पितापुर्खाले भोगचलन गर्दै कमाई खाई आएको उक्त जग्गा एक्कासि सबस्टेसनमा पर्दा सुकुमबासी बन्नुपर्ने पीडा त छँदैछ, पाउनुपर्ने रकमसम्म पनि कुदृष्टि लगाउने र ढिलासुस्ती गर्ने कार्यले ठूलो मारमा परेको भन्दै पीडित तीर्थमाया वाइबा, नारनसिंह वाइबा, चन्द्रबहादुर वाइबा, बुद्धिमाया वाइबा, प्रेमबहादुर तामाङ, बीकेबहादुर स्याङ्बो, रामलाल स्याङ्बो, सुभाष स्याङ्बो, नमराज तिवारी, बुद्धबहादुर वाइबा, हर्क स्याङ्बो, जितबहादुर वाइबा, गुणबहादुर वाइबाले न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् । स्रोतका अनुसार अझै गहिराइमा गई गम्भीर अनुसन्धान गर्नुपर्ने र सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग पीडितहरूको छ ।
अागामी दिनमा किसानहरुसित दिएको भिडियो अन्तर्वार्ता पनि प्रशारण गर्ने छौँ ।

२०७५ कात्तिक १७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :