जनसंस्कृति निर्माण गरौँ

 

परम्परागत चाडपर्वहरूको लहर नै चलेको मौसम छ । भर्खरै परम्परागत पर्व दसैँ सकियो । अर्को परम्परागत पर्व तिहार नजिकिइसकेको छ । नेपाल संवत् ११३९ र छठ पनि सँघारमै छन् । यी चाडपर्व, संस्कार र संस्कृति झल्काउने सन्दर्भहरूले नेपाली समाजको वर्तमान अनुहार झल्काएका छन् । यो अवस्था हेर्दा नेपाली समाजलाई सत्ता संस्कृतिले गाँजेको देखिन्छ । सत्ता संस्कृति दलाल पुँजीवादी छ र यो दिनानुदिन फासिवादी बन्दै गएको छ । त्यसैले यो समाज र विद्यमान संस्कृति सन्तोषजनक ढङ्गले नभएर सिङ्गो नेपाली समाजलाई नै दूषित बनाउने गरी फासिवादी र दलाल संस्कृति लिएर अघि बढिरहेको छ भन्ने बुझ्न कुनै गाह्रो छैन ।

परम्परागत पर्व दसैँको सन्दर्भमा राष्ट्रपति विद्या भण्डारीले पूर्वप्रधानन्यायाधीश, सुरक्षा निकायका प्रमुख र सरकारका कयौँ जिम्मेवार निकायका व्यक्तिहरूलाई घुँडा टेकाएर टीका लगाइदिएको विषय धेरै विवादित बन्यो । राष्ट्रपतिले देखाएको यो संस्कार एक दशकअघि समाप्त हुनुअघि राजतन्त्रका वाहक र प्रमुखहरूले देखाएको व्यवहारभन्दा पनि बढी सामन्ती शैलीको रहेको विषयमा जनस्तरमै अत्यधिक टीकाटिप्पणीको विषय बन्यो । एकातिर वर्तमान सत्ता न्याय, समानता र मुक्तिका पक्षपाती विद्रोही शक्तिहरूविरुद्ध फासिवादी र निरङ्कुश बनिरहेको अवस्थामा सत्ताका विभिन्न निकायहरूमा रहेका व्यक्तिहरूले निकृष्ट सांस्कृतिक चरित्र प्रदर्शन गर्दा जनताको निशाना बन्ने कुरा अस्वाभाविक होइन, स्वाभाविक र आवश्यक नै हो । यो दलाल सत्ताले निर्माण गरेको दलाल संस्कृतिको अन्त्य नभएसम्म जनसंस्कृति फस्टाउन सक्तैन ।

विशेषतः महिला उत्पीडन, हिंसा, बलात्कार र हत्या संस्कृति मौलाइरहेको दलाल पुँजीवादी व्यवस्था र सत्ताका कारण समाजलाई दलाल संस्कृतिले गाँज्दै लगेको छ । सरकारका गृहमन्त्री हाकाहाकी भनिरहेका छन्– पुँजीवादी समाजमा बलात्कार संस्कृति मौलाउनु स्वाभाविक हो । उनको अभिव्यक्ति सुन्दा लाग्छ, पुँजीवादी समाज महिलाहरूमाथि सांस्कृतिक उत्पीडन गर्नकै लागि र बलात्कार–हत्याका घटना गराउनकै लागि स्थापना हुने हो । गत फागुनमा जनकपुरधाममा हत्या गरिएकी स्टाफ नर्स शर्मिष्ठा सुवेदी बरालदेखि तीन महिनाअघि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र यस आसपासका सयौँ बलात्कार र कयौँ हत्याका घटनाहरूलाई हेर्दा सत्ता र सरकार जनता तथा विद्रोहीहरूमाथि जति क्रूर बनेर प्रस्तुत भइरहेका छन् त्यही संस्कृति समाजमा सरेको छ र समाजमा दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरिएका महिलाहरूमाथि बलात्कार र हत्याका घटना लादिएको छ । राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीदेखि सरकारका मन्त्रीहरूसम्म पनि बलात्कारी र हत्याराहरूलाई कारबाही गर्ने आश्वासन दिइरहेका छन् । उनीहरूको आवाज वायुमण्डलमा गुन्जिरहेको समयमा बलात्कार, हत्या र व्यभिचारका अरू घटनाहरू चौबरका दरले बढिरहेका छन् । यसले के सङ्केत गर्छ भने उत्पीडकसँगै उत्पीडितको सङ्ख्या दिनदिनै बढिरहेको छ । यसको अन्त्यका लागि यो दलाल सत्ता, दलाल संस्कृतिको अन्त्य आवश्यक छ । त्यसका लागि शक्तिशाली आन्दोलन, विद्रोह र क्रान्ति आवश्यक छ ।

परम्परागत संस्कार, संस्कृति र पर्वहरूको कुरा गर्दा यिनले साउन महिनादेखि कात्तिक महिनासम्म नै नेपाली हिन्दु बाहुल्य समाजलाई गाँज्ने गर्छन् । नेपाली समाजको सांस्कृतिक अनुहार परम्परागत संस्कार, संस्कृति र पर्वहरूको समयमा राम्ररी देख्न सकिन्छ । साउनमा हरिया चुरा र सारीचोलो पहिरिएका महिलाहरूबाट नेपाली समाजमा पर्वहरूका नयाँनयाँ अनुहार भित्रिन थाल्छन् । त्यो एक महिनासम्म विभिन्न रेस्टुरेन्ट र पार्टी प्यालेसमा देखिने तीज पर्व र त्यस पर्वका अवसरमा गाइने गीत–नृत्यमा गएर अभिव्यक्त हुन्छ । यो दलाल समाजले महिलालाई उपभोग्य वस्तुका रूपमा उपभोग गरिरहेको एउटा सामान्य उदाहरण हो यो ।

समाजमा असमानता र विभेदका विरुद्ध, न्याय र समानताका लागि सञ्चालित वर्गसङ्घर्ष घनीभूत बन्दै जाँदा अन्यायपूर्ण राजनीतिसँगै विभेदजन्य संस्कृतिको पनि अन्त्य हुँदै जान्छ र न्यायपूर्ण, जनवादी, समाजवादी संस्कृति पनि निर्माण हुँदै जान्छ । जनयुद्धको समयमा परम्परागत संस्कार र संस्कृतिलाई विस्थापन गर्दै नवीन संस्कृति निर्माण भइरहेको थियो । जनयुद्धको मूल नेतृत्व आफैँ दलाल संस्कृतिको वाहक बनेर राजनीतिक–सांस्कृतिक प्रतिक्रान्तिको नेतृत्वकर्ता बनेपछि अब नेपाली समाजको प्रमुख अन्तरविरोध दलाल पुँजीवादी संस्कृति बनेको छ र एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापनासँगै जनसंस्कृति स्थापित हुने पक्का छ । यसका लागि सचेततापूवर्क विद्यमान सत्तासंस्कृतिविरुद्ध सङ्घर्ष गर्नु आवश्यक छ । सम्पादकीय

२०७५ कात्तिक १६ गते  प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :