तिलाठीमा अमरसिंहको पुनर्जन्म अनिल शर्मा

Anil-sirनदीको प्राकृतिक बहावलाई रोक्ने कार्य प्राकृतिक नियम मात्र होइन, अन्तर्राष्ट्रिय कानुनको समेत प्रतिकूल कार्य हो । आफू नै पक्ष भएको उक्त कानुन र परम्पराको भारतले उल्लङ्घन गर्दै आएको छ । नेपालका सबैजसो हिमनदी, खहरे खोला तथा सानाठूला नदीहरू उत्तर–दक्षिण हुँदै बहन्छन् । त्यसप्रकारका नदीहरूका ४६ स्थानमा भारतले नेपालमा डुबान हुने गरी अथवा नदीहरूको प्राकृतिक बहावलाई रोक्ने गरी मानवरहित क्षेत्र (दसगजा) वा त्यसवरपर बाँध निर्माण गर्ने राणनीति बनाएको छ । हाललाई ४६स् स्थानमध्ये यसले १३ स्थानमा त्यसप्रकारका बाँधहरू निर्माण गरिसकेको छ । त्यसैको पछिल्लो कडी हो सप्तरी जिल्लाको तिलाठी गाविस । जहाँ मधेसका जनताले बहादुरीपूर्वक भारतीय ज्यादतीका विरुद्ध लडेका छन् ।

तिलाठी बेल्छी भन्सार राजविराजदेखि १० किमि दक्षिणमा पर्छ । आजभन्दा १५ वर्षअघि भारतले खाँडो नदीमा आएको बाढीले उक्त बाँध भत्काएपछि नदीको बहाव पुरानै स्थान र स्थितिमा फर्केको थियो । त्यसबाट भारतीय भूभागमा कटान बढेको भए पनि नेपालतिर भने राहत महसुस गरिएको थियो । दसगजापारिका बिहारी भैयाहरूले साउन १२ गते सोही दसगजा क्षेत्र अतिक्रमण गरेर पूर्ववत् बाँध बाँध्न सुरु गरे । दसगजाको सुरक्षा गर्न बसेको भारतीय सीमा सुरक्षा बल (एसएसबी) आफँैले दसगजा अतिक्रमण गरेर बाँध बनाउने कार्यको नेतृत्व ग¥यो ।

नेपाली पक्षले अवैध बाँध निर्माणको विरोध गर्न थाल्यो । पछि भारतीय पक्षले दिनभरि निर्माण सामग्री जम्मा गर्ने र चोरले झँै रातिराति बाँध बनाउन थाले । सो अवैध बाँधका कारण सप्तरीका सीमावर्ती गाविसहरू तिलाठी, रामपुरा, मल्हनियाँ, सकरपुरा, विपिरया, कोइलाडी र बरसाइन डुबानमा पर्दै आएका थिए । भैयाहरूले रातिराति बाँध बनाउने, नेपालीले दिउँसो भत्काउने क्रम जारी थियो । अवैध बाँध भत्काउन गएका नेपालीहरूलाई बिहारी भैयाहरूले अक्रमण गरेर दर्जनौँलाई घाइते बनाए । टाउको फुटे । साउन १३ र १४ गते तिलाठी रणमैदान बन्यो । बाँध मात्र होइन, नेपाली जनता राष्ट्रियताकै नारा लगाउँदै घरेलु हतियार लिएर सीमा क्षेत्रमा उत्रिए । जहाँ तिलाठीले नेतृत्व गरे पनि एक्लो थिएन । आसपासका नागरिकहरू पनि उत्रिए । नेपालीहरू ठूलो सङ्ख्यामा प्रतिरोधमा उत्रिएपछि भारतीयहरू पछि हट्न बाध्य भए । झडपका कारण कुनौली नाका केही दिन बन्द भयो । बिहारीहरूले नेपालीलाई भारततिर जान रोकेपछि नेपालीहरूले पनि बिहारीलाई नेपालबाट लखेटेका थिए । त्यसपछि मात्र लामो दिनदेखि समझदारी गर्न अनिच्छुक भारतीय अधिकारीहरू वार्ता गर्न अग्रसर भए । सीमा क्षेत्रमा हाललाई कुनै संरचना नबनाउने र दुवै क्षेत्रका प्राविधिक रहेको समितिको प्रतिवेदनका आधारमा आवश्यक कारबाही गर्ने सहमति भयो ।tilathi

मधेस÷तराईका जनताको देशभक्तिको भावनामा यी प्रश्न उठाइरहेको÷उठिरहेको बेलामा तिलाठीमा “नेपाली भूमि मिच्न दिंदैनाँै ! दसगजामा बाँध बाँध्न दिँदैनौँ !!” नारा घन्किरहेका थिए । बिहारीहरूले भारतीय प्रहरीको आडमा नेपालीमाथि आक्रमण गरेपछि नेपाली जनताले प्रतिरोध गर्दै बाँध भत्काएका थिए । बिहारी आक्रमणमा हर्ष कर्ण, रोशनकुमार झा, देवनारायण यादवलगायत दर्जनौँ नेपाली घाइते भए । रगत बगाएर भए पनि जनताले सिमानाको रक्षा गरे । सादा पोसाक, अर्धसैन्य बल र पोसाकमै बिहार प्रहरीका जवान आएर आक्रमण गर्दा पनि प्रतिरोध हुनु, भारतीय पक्ष पराजित हुनु सामान्य विषय होइन ।

भारतले २०२८ सालमा पहिलोपटक खाँडो नदीमा दसगजामा कच्ची बाँध बाँधेर नेपालको बेल्ही बजार (बेल्ही नाका) पारि रहेको कुनौली बजार (कुनौली भन्सार) जोगाउने प्रयास गरेको तिलाठीका बुढापाका सम्झन्छन् । २०२८ सालदेखि नै वर्षायाममा पटकपटक तनाव हुँदै आएको हो । भारतीय बाँधका कारण खाँडो नदीको पुल बालुवाले पुरिएको देख्न सकिन्छ । यस्तो अवस्थामा बाँध अझ उत्तर सार्दा थप नेपाली भूभाग पुरिनु अनिवार्य थियो । जसले नेपालीलाई थप चिन्तित र आक्रोशित बनाएको थियो । कतिपय भारतका दासहरूले तिलाठीको वीरता र मधेसी समुदायको गौरवगाथालाई जनजीविकाको प्रश्न भनेर न्यूनीकरण गर्न खोजेका छन् । उनीहरू के बुझ्दैनन् भने राष्ट्रियताको अन्तर्य नै जनजीविकाका प्रश्न हुन् । विश्वका साम्राज्यवादी हस्तक्षेपहरू स्रोत लुट्ने उद्देश्यले भए पनि उत्पीडित देशहरु विदेशीलाई लुट्न नदिन दृढ देखिन्छन् । तिलाठी घटना स्थानीयबीचको द्वन्द्व होइन । मध्यपूर्व आफगानिस्तानका द्वन्द्वहरू तेलका लागि भएका होइनन् । भारतमा अङ्ग्रेज तिरूपति धामका लागि आएको थियो ? तिलाठी घटना भारतको बलमिच्याइँ र त्यसको प्रतिकार गर्दै सीमा क्षेत्रको रक्षाका लागि बलिदान दिन तयार नेपालीको गौरवगाथा हो । भारतीयले दसगजामा बाँध बनाएका कारण झडप भएको हो । तिलाठी राष्ट्रिय स्वाभिमानको प्रतीक हो । तिलाठीका जनता भारतीय अतिक्रमणका विरुद्धमा सीमारक्षकका रूपमा लडेर घाइते भए ।

मधेस÷तराईका जनताको देशभक्तिको भावनामाथि बेलाबेलामा प्रश्न उठ्ने गर्छ । त्यसका ऐतिहासिक कारणहरू र मनोविज्ञान छन् । अङ्ग्रेजहरू भारतमा आउनासाथ देशभक्त धारालाई दमन गर्ने र सामन्तहरूलाई स्थानीय सत्ता दिएर दलाल बनाएर राज गर्ने रणनीति बनाए । भारत पूरै निल्नेदेखि कुमाउको गोरखाली किल्ला कब्जा गर्न त्यही रणनीति अङ्ग्रेजका लागि बरदान भयो । नेपालको तराईमा पनि अङ्ग्रेजले दलालहरू बनाएको थियो । सुगौली सन्धिमा “नेपालका राजाले तराईका जनतालाई प्रतिशोधको भावनाले नहेर्ने” बुँदा थपेर बहुअर्थी बुँदा थपियो । त्यो बुँदामा टेकेर अथवा नेपालको राजाले सन्धि मानेन । तराईका जनतामाथि दमन ग¥यो भनेर बुटवल र स्युराजमा झैँ निहुँ खोज्ने आधार हुन्थ्यो । तराईबासीको हित नेपाल सरकारले होइन, अङ्ग्रेजले गर्छ भन्ने मनोविज्ञान दियो जुन आज भारतले गरिरहेको छ । यता तराई र मधेसका सामन्त र दलाललाई हेरेर नेपालका शासकले समग्र तराई मधेसप्रतिको धारणा बनाए । दलाल र सामन्त नै मधेस–तराई होइन भन्ने हेक्का राखेनन् । गजराज मिश्र अहिले पनि मधेसको नाम बेचेर दिल्ली पोस्ने खेलमा छन् । तर आजका गजराज नै तराई–मधेसका प्रतिनिधि होइनन् ।

मेचीदेखि महाकालीसम्मको सीमा रक्षा तराईका जनताले नै गर्दै आएका छन् । सुस्तामा मधेसी, पहाडी, मुस्लिम, हिन्दु, महिला, पुरुष एक भएर भारतीय ज्यादतीका विरुद्ध लडिरहेका छन् । वाल्मीकि आश्रमको सीमाक्षेत्र (त्रिवेणीपारि चितवन राष्ट्रिय निकुञ्ज) मा तराईकै जनता जङ्गेस्तम्भ बनेर बसेका छन् । चितवनको सोमेश्वर पहाडमा सीमा अतिक्रमण गरेर भारतीय पक्षले बनाएका टहरा भत्काउन डोल्पा वा मनाङबाट होइन, चितवनकै जनता ज्यान जोखिममा राखेर लाठी खुकुरी बोकेर २०७० जेठ १६ मा सोमेश्वर चढेका थिए । जसले सरकारी सरोकारवाला निकायलाई पनि घचघच्याएको थियो भने भारतीय पक्षपछि हट्न बाध्य भयो । २०६३ सालमा परेवाडाँडा (ठोरीडाँडा) तल सडक कब्जा गरी बसेको एसएसबीलाई नेपालीले पर्सा जिल्लाभरिका मधेसी, पहाडी नभनी प्रतिरोध गरेर १ किमि दक्षिण सरेर बस्न बाध्य पारिएको ऐतिहासिक घटना ताजै छ । त्यसअघि २०५१ सालमा दिवंगत दिवाकर भुसालको नेतृत्वमा ठोरी सीमा रक्षाका लागि गएको टोलीलाई भारतीय बालुवा–गिट्टी तस्करले कुटपिट गरेका थिए । त्यस घटनामा अनिल शर्मा, डीआर पौडेललगायत घाइते भएका थिए । साउन ३० गते इलामको मानेभन्ज्याङ क्षेत्र (पशुपतिनगर ५) अन्तर्गत चित्रे गाउँका जनताले लगातार अत्याचार गर्दै आएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानलाई लखेटे । भारतीय प्रहरी हबल्दार रमेश कुमाललाई पक्रेर प्रहरी चौकीलाई बुझाए । यहाँ देशको सीमारक्षा र स्वाभिमानका लागि नेपाली जनताले गरेका प्रतिरोधका एकदुई उदाहरण मात्र दिइएको छ । यस्ता हजारौँ कथा–व्यथा छन् । हरेक दिन नेपाली लडिरहेका छन् । देशभक्ति लडाइँमा तराईका जनता अन्य क्षेत्रका भन्दा अगाडि छन् । तिलाठीको गौरवगाथाले त्यसलाई पछिल्लोपटक उजिल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :