भारतीय प्रहरी र नेपालीबीच झडप

पशुपतिनगर, रातोखवर सम्वाददाता  imagesइलाम, पशुपतिनगर ५ स्थित चित्रे गाउँमा बिहिवार मध्यान्ह १२ बजे भारतीय सिमा सुरक्षा बलका प्रहरी प्रवेशगरी ज्यादती गरेपछि स्थानीय नेपाली गाउँले र भारतीय प्रहरीबीच झडप भएको छ । स्थानीय समाजसेवी त्रिलोचन भट्टराइले पशुपतिनगरबाट दिनु भएको जानकारी अनुसार स्थानीयको प्रतिकारपछि ३ जवान भागेर भारततिर गएका र हवल्दार रमेश कुमारलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पशुपतिनगरमा बुझाएका थिए । भारतीय प्रहरीले नेपालतर्फ दशगजा भन्दा २ कि.मी. भित्र आएर लुटपात, हप्ता असुली, कमिशन माग्ने, व्यापारीलाई दुःख दिने गर्दै आएका थिए । ‘अति भएपछि प्रतिकार गर्यौं’ स्थानीय चित्रे निवासी विवेक लिम्बुले भने । भारतीय सिमा सुरक्षाबल, २९ औं बटालियन अन्तर्गत कम्पनी मुख्यालयका हवल्दार रमेश कुमारलाई बिहिवार साँझ भारतीय अधिकारीसमक्ष बुझाइएको थियो । इलामका प्रमुख जिल्ला अधिकारी जकराज दाहालले ‘घटना सामान्य भएको र स्थलगत अध्ययनका लागि शुक्रवार दुवै देशका अधिकारी घटनास्थलको भ्रमण गरेको’ जानकारी दिएका छन् । इलामका सहायक जिल्ला अधिकारी सुजन फागो, इलामका एसएसपी र भारतका डिआइजीसहितको टोलीले निरीक्षण गरेको थियो । सो क्षेत्र माने भन्ज्याङ क्षेत्र हो जहाँ पञ्चायतीकालमा पनि भारतीयहरुको पटकपटक ज्यादती भैराख्ने गर्दथ्यो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :