शीतयुद्धको स्थितिमा छिमेकी

india-chinaरातो खबर संवाददाता  काठमाडौँ भारतको गलत विदेश नीतिका कारण नेपालमा मात्र होइन, दक्षिणएसियामा नै उसको सम्बन्ध बिग्रेको छ । नेपालसँग पनि उसको सम्बन्ध सहज छैन । गत वर्षको नाकाबन्दीपछि त सिङ्गो नेपाल भारतविरोधीजस्तो बन्न गयो । विद्यालय, क्याम्पस अध्ययन गर्दै गरेको नयाँ पुस्ता जो राष्ट्रियताका विषयमा तटस्थ वा सरोकारविहीनजस्तो थियो, त्यही पुस्ता भारतीय व्यवहारका विरुद्ध सडकमा उत्रियो । २०४५ सालमा जसरी सरकारविरोधी दलहरू नेपाल सरकारकै विरुद्ध सडकमा उत्रिएनन् । नेपाल सरकारको भन्दा भारतको विरोधमा उनीहरू अग्रभागमा देखिए । त्यसको प्रभाव जनतामा पनि देखियो । सरकारसँगको विरोधलाई थाती राखेर दलहरू र नागरिक विदेशी हस्तक्षेपका विरुद्ध उभिए ।

नेपालमा भारतविरोधी लहरका कारण भारतमै मोदी सरकार चर्काे आलोचनाको घेराबन्दीमा प¥यो । त्यस्तो कठिन समयमा उत्तरी छिमेकी चीनले भने सहयोगको हात बढायो । उसले अल्पकालीन र दीर्घकालीन सहयोगको हात बढायो । त्यही क्रममा ओली सरकार र चीनका बीच अल्पकालीन र दीर्घकालीन सम्झौताहरू भए । त्यसबाट भारत झन् उत्तेजित भयो । उता चीनका राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने चर्चा चल्न लाग्यो । चिनियाँ अधिकारीहरूले त्यसलाई खण्डन गरेनन्, बरु यसै वर्ष उच्च तहको भ्रमण हुने भन्दै पर्ख र हेरको नीति लिए । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएका ठूलो लगानी हुनसक्ने र त्यसबाट नेपालमा चिनियाँ प्रभाव झन् बढ्ने सम्भावना देखेर भारतले नेपाली काङ्ग्रेसको नेतृत्व र मधेसवादी दलहरूको समर्थनमा माओवादी केन्द्रका नेता प्रचण्डलाई अगाडि सारेको आम विश्वास गरिन्छ । एकातिर चीनका राष्ट्रपतिको नेपाल भ्रमण होला कि भनेर भारत त्रसित छ भने उनीहरूकै समर्थनमा आएको भनिएको पुष्पकमल दाहाल सरकारले अघिल्लो सरकारले चीनसँग गरेका सम्झौता प्रभावित नहुने बताइरहेको छ । उता चिनियाँ कूटनीतिज्ञहरूले पनि नेपालमा सरकार परिवर्तन भए पनि राष्ट्रपतिको भ्रमण प्रभावित नहुने बताइरहेका छन् । चिनियाँहरू नेपालमा चीनविरोधी गतिविधि बढिरहेको ठान्छन् । केही समय अगाडि नेपाल भ्रमणमा रहेको चिनियाँ टोलीले नेपालमा चीनविरोधी गतिविधि गरिरहेको गुनासो गरेका थिए । चीन नेपालको समृद्धिमा तिब्बतको सुरक्षा देख्छ । गरिबी र अज्ञानतामै  अस्थिरता र गलत तत्वले खेल्ने ठाउँ पाउँछ भन्ने कुरा चीनले बुझेको छ । एक क्षेत्र एक सडक ९इलभ दभति यलभ च्यबम० योजना सी जिनपिङको सपना देखिन्छ । त्यसकारण चीन नेपालको राजधानी काठमाडौँसहित भित्री भाग हुँदै भारतको सीमासम्म रेलसेवा विस्तार गर्न चाहन्छ । तर भारत चीनसामु सधैँ लघुताभास अनुभूति गरेको गर्छ । चीनको उक्त योजनामा भारत बाधक भएको देखिन्छ । विश्वशक्ति अमेरिकासमेत चीनको प्रभावबाट आत्तिएको छ ।

भारत, नेपाल हुँदै चीनले भारतमा बजार विस्तार गर्न चाहेको ठान्छ । नेपाल भौगोलिक रूपमा चीन र भारतको बीचमा साँघुका रूपमा रहेको छ । जसको कारण दुवै देश नेपालमा आआफ्नो प्रभाव विस्तार गर्न चाहन्छन् । नेपालको सम्मान र समृद्धिसहित बराबरी नीति ९ध्ष्लधष्ल उयष्अिभ० चाहन्छ । तर भारत आफूलाई दक्षिणएसियामा ठूल्दाइ बन्न चाहन्छ । तर आजको विश्वमा भारतको चाहना सम्भव छैन । यो फरकफरक स्वार्थका कारण भारत र चीन नेपालमा शीतयुद्धका अवस्थामा देखिन्छन् । जसबाट नेपाल नराम्ररी प्रभावित भएको छ ।

 राजनीतिक अस्थिरता त्यसैको कारण भएको देखिन्छ । तसर्थ शक्तिशाली दुई देशको प्रभावबाट मुक्त भएर आन्तरिक तथा बाह्य नीति लागू गर्नसक्ने व्यवस्था नेपालको आजको चुनौती हो । अमेरिका र तत्कालीन सोभियत सङ्घका बीचको शीतयुद्धलाई पचाउन नसकेका कतिपय देशको भौगोलिक नक्सा नै फेरिएको अथवा गृहयुद्ध तथा सैन्य ‘कू’ को पीडा झेल्न बाध्य भएको दुःखद् इतिहास हाम्रासामु ताजै छ । त्यसो त विचार र कौशल भएमा सङ्कटलाई ऊर्जामा बदल्ने सम्भावनामा पनि त्यतिकै हुन्छ । चीन र भारतका बीचमा युद्धको परिस्थिति बढिरहेका बेला २०२६ सालमा नेपालले चीनसँग सीमा जोडिएको उत्तरी क्षेत्रबाट भारतीय सेना फिर्ता गरेको चातुर्य पनि नजिरका रूपमा छँदैछ । त्यसैले छिमेकीको शीतयुद्धको अवस्थाबाट नेपालले फाइदा लिन सक्नुपर्छ । तर नेपालका दलहरूले त्यो क्षमता र कौशल देखाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!