सामना जनसङ्गीत अभियान भव्य

   

काठमाडौँ : अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारले काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा सामना जनसंगीत अभियान प्रस्तुत गरेको छ । देशभर सांस्कृतिक कार्यक्रममार्फत जनचेतना फैलाउँदै आएको सामना परिवारले काठमाडौँमा पनि २१ गते आइतबारदेखि बेजोड प्रस्तुति प्रदर्शन गरिरहेको छ । आइतबार नेकपाका पोलिटब्युरो सदस्य पदम राई विकास र सोमबार अर्का पोलिटब्युरो सदस्य ओम पुनले कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । सोमबार नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य पनि उपस्थित भएर सामनाको प्रस्तुति अवलोकन गर्नुभएको थियो ।
‘शान्ति समृद्धि र समानताका लागि वैज्ञानिक समाजवाद, वैज्ञानिक समाजवादका लागि सामना जनसङ्गीत अभियान’ मूल नाराका साथ सामना परिवारले विशेष साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेको हो ।
पहिलो दिन आइतबार जनवादी सांस्कृतिक आन्दोलनका अग्रजहरुको साथमा सामनाका कलाकारहरुले कार्यक्रम प्रस्तुत गरे । पहिलो दिनको कार्यक्रममा जनवादी कलाकारहरु रायन, जेबी टुहुरे, लक्ष्मी गुरुङ विद्रोहीलगायत अतिथि कलाकारका रुपमा उपस्थित हुनुहुन्थ्यो । ६ वटा नृत्य, ७ वटा गीत, अपेरा र नाटक प्रस्तुत गरिएको थियो ।
वक्ताहरुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डहरुले माओवादी आन्दोलनका एजेन्डाहरु बेचेर खाएको धारणा राखे । नेपालमा प्रचण्ड–बाबुरामहरुले अधुरै छोडेको क्रान्ति पूरा गर्ने अभिभारा अब विप्लव नेतृत्वको नेकपाले बोकेको भन्दै गोलबन्द हुन सबैलाई आग्रह गरे ।
सरकारका गतिविधिलाई कलाको माध्यमबाट खबरदारी गर्न कार्यक्रम आयोजना गरिएको महासङ्घले जनाएको छ । सोमबारको कार्यक्रममा जनगायक गायिका निर्मला घिसिङलगायतले पनि प्रस्तुति दिएका थिए । कार्यक्रममा करिब एक दर्जन गीत–नृत्य, नाटक र अपेरा प्रस्तुत गरिएको थियो ।

लामाे समय हिरासत बसेर रिहा हुनुभएका नेकपाका पोलिटब्युरो सदस्यहरु ओमप्रकाश पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रीय सदस्य टेकबहादुर केसीलगायतलाई केन्द्रीय सदस्य मकर गुरुङलगायतले सम्मान गरेका थिए ।
२०७५ असोज २२ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :