एउटै अभियान टोलीले बनायो ५० पार्टी कमिटी नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान

   

लुम्बिनी ब्युरो : नेकपाले गत भदौ १ गतेदेखि आरम्भ गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान लुम्बिनी ब्युरोमा सानदार ढङ्गले सम्पन्न भएको जानकारी प्राप्त भएको छ । ब्युरोको एक केन्द्रीय टोलीका कमान्डर पूर्णबहादुर सिंहका अनुसार उनको नेतृत्वमा सञ्चालित अभियान टिम प्रत्यक्ष रूपमा पाँच हजार जनताका बीचमा पुगेको छ भने पार्टीका ४४ वटा सेल कमिटी निर्माण गरेको छ । अभियानले चार सय ३६ जनालाई सङ्गठित सदस्यता प्रदान गरेको छ । त्यत्ति नै सङ्ख्यामा सदस्यताका लागि आवेदन परेका छन् ।
उक्त अभियान टिमले १९ सदस्य रहेको योङ रेड फोर्स युवा सङ्गठन तीनवटा, ३४ सदस्य रहेको महिला सङ्गठन सातवटा र ३५ सदस्य रहेको विद्यार्थी सङ्गठन तीनवटा निर्माण गरी ६० विद्यार्थी संगठित गरेको छ । डेढ महिनाको अवधिमा ५६ वटा जनभेला गरिएको र ८ सय ४३ परिवारबाट जनसहभागिता गराइएको जानकारी उक्त टिमका कमान्डर सिंहले दिएका छन् । त्यस्तै दुईवटा जनसभामा तीन सय ७५ जनाको सहभागिता रहेको बताइएको छ । टिमले ११ वटा विद्यालयमा १०४ जना शिक्षकशिक्षिकासँग बहस÷छलफल गरेको छ भने तीन सय ४७ वटा घरमा घरदैलो र ८३ वटा गाउँटोलमा जनतासँग छलफल गरेको छ । अभियानका क्रममा ८३ वटा भित्तेलेखन गरेको जानकारी टोली कमान्डर सिंहले दिएका छन् ।
अभियान टोली जनताको घरदैलोमा पुगेर पार्टीको विचार, कार्यदिशा, नीति र कार्यक्रम जनतामा सम्प्रेषण गर्न सफल भएको, आम जनतालाई पार्टी र क्रान्तिप्रति आकर्षित, सङ्गठित र परिचालित गर्न सफल भएको, दलाल पुँजीवादी सत्ता र त्यसका मालिकहरूको भण्डाफोर गर्दै एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादलाई स्थापित गर्न सफल भएको निष्कर्ष टोलीले निकालेको छ । अभियान टिमले त्यसैगरी पानी र माछाझैँ जनसम्बन्ध हासिल गर्दै जनदिशाको नयाँ प्रयोग गर्न सफल भएको, आशङ्का, अविश्वास र अकर्मण्यतालाई नयाँ आशा र विश्वाससहित एकीकृत जनक्रान्तिको उद्देश्य नयाँ ढङ्गले स्थापित गर्न सफल भएको र अभियानको मूल उद्देश्य हासिल भएको निष्कर्ष निकालेको छ ।
भदौ १ गते नेकपा स्थायी समिति सदस्य सन्तोष बुढाले लुम्बिनीको अभियान उद्घाटन गरेका थिए ।
२०७५ असोज २३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :