मानव अधिकारको गम्भीर उल्लङ्घन भएको छ – सुदिप पाठक

       

काठमाडौँ : क्रान्तिकारी पत्रकार सङ्गठन, नेपाल केन्द्रीय समितिले काठमाडौँमा शनिबार ‘मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । काठमाडौँको भद्रकाली प्लाजास्थित राष्ट्रिय महिला आयोगको भवनमा सम्पन्न कार्यक्रममा अधिकारकर्मी, राजनीतिक दल तथा नागरिक समाजका अगुवाले मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता राज्यले कुण्ठित गरेको बताएका छन् ।

कम्युनिस्ट नामको सरकारले जनतालाई न्याय दिनुको सट्टा झन् फासिवादी तरिकाले अघि बढेको भन्दै यसको भण्डाफोर गर्न अभियानले झन् राम्रो सन्देश दिएको अधिकारकर्मीले बताएका छन् ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सु्दीप पाठकले देशमा सरकारबाटै मानव अधिकारको गम्भीर उल्लङ्घन भएको भन्दै त्यसका विरुद्ध आफू सधैँ लडिरहने बताए । उनले पछिल्लोपटक सरकारले वार्ता टोली गठन गरेको र वार्ताको वातावरण बनाउन देशभर गिरफ्तार गरिएका नेकपाका नेता–कार्यकर्ता रिहा गर्नुपर्ने, पटकपटकको गिरफ्तारी र धरपकड बन्द हुनपर्ने, देशभर नेकपाका नेता तथा समर्थकले स्वतन्त्रतापूर्वक देशभर विचार लिएर जान पाएमा वार्ता वातावरण बन्नसक्ने बताए । नेकपा वैज्ञानिक समाजवादको विषयमा वार्ता गर्न तयार रहेको उनको भनाइ थियो ।

नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले आफू हिरासतमा रहँदाको अनुभूति राख्दै यो सरकारले आफूलाई सुत्दासम्म आँखामा कालोपट्टी लगाएको प्रस्ट पारे । उनले लागूपदार्थ कारोबारीबाट प्रहरीले कमिसन खाने गरेको आफूले हिरासतमा बस्दा थाहा पाएको स्पष्ट पारे । प्रहरी आफैँले राम्रो खान नपाएको आफूले थाहा पाएको उनले बताए । नेता पुनले कम्युनिस्ट नामको सरकारले साम्यवाद लागू गर्नुपार्ने ठाउँमा फासिवाद लागू गरेको बताए ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा जनअधिकार अभियान, नेपालका अध्यक्ष एकराज भण्डारीले संसदीय व्यवस्था एकजना नेताले चलाउने व्यवस्था रहेको प्रस्ट पार्दै यस्तो सरकारले नागरिकको मौलिक हक कसरी दिनसक्छ भनी प्रश्न गरे ।

उनले यो राज्य व्यवस्थामा अदालतको निर्णय नमान्ने सरकारले मानवअधिकारका विषयमा पनि काम गर्न नसक्ने बताए ।

विप्लव नेतृत्वको नेकपाले सङ्गठन विस्तार गर्न र राजनीतिक रूपमा विचार लिएर जनतासम्म पुग्ने वातावरण सरकारले दिनुपर्ने बताएका छन् ।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले एउटी महिलाको हत्या भएपछि पीडितलाई न्याय दिन नसक्ने यो कसको सरकार हो भनी प्रश्न गरिन् । जनताको सरकार हो भने निर्मला पन्तजस्ता कैयौँ पीडितलाई न्याय दिनुुपर्ने उनको भनाइ थियो । उनले पीडितलाई न्याय दिन सरकार सत्यतथ्य छानबिन टोली गठन गर्दैन भने आफूहरू चुप लागेर नबस्ने बताइन् ।

बार एसोसिएसनका महासचिव खम्मबहादुर खातीले नेकपाका नेता प्रकाण्डलाई अदालतले रिहा गर्न आदेश दिँदा पनि सरकारले आदेश नमानेका उदाहरण दिँदै सरकारले सर्वोच्च अदालतदेखि सबै तहका अदालत खारेज गर्नुपर्ने बताए ।

महासचिव खातीले आफू जून पार्टीमा आस्था राखे पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारका विषयमा नेकपाले सञ्चालन गरेको आन्दोलनमा सहभागी हुन तयार रहेको बताए । नेकपालाई सङ्गठन विस्तार गर्न र राजनीतिक ढङ्गले अगाडि बढ्नसमेत उनले सुझाव दिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य टेकबहादुर केसी, डेमोक्रेट लयर्स एसोसिएसनका योगेन्द्र नेपाल, नेपाल पत्रकार महासङ्घका महासचिव रमेश बिष्टलगायतले मन्तव्य राखेका थिए ।

क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा भएको कार्यक्रम सङ्गठनका महासचिव हिम बिष्टकाे सञ्चालनमा सङ्गठनकी सचिव श्रीजना तिमिल्सिनाले स्वागत मन्तव्य राखेकी थिए ।

२०७५ असोज २० गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :