बन्दुकको घेराभित्र चुनाव गराउने प्रयास असफल

 

तस्बिर : दिया चन्द
तस्बिर : दिया चन्द

अम्बिका चन्द/काठमाडौंः बैशाख १०, कालीकोटमा सोमवार बिहान सात बजेदेखि नै सेना र प्रहरीले जनताका घर, दैलो, गोठ र मेलापातसम्म पुगेर मतदानमा सहभागी हुन उर्दी जारी गरे । दिनभर सयौँको सखयामा परिचालित प्रहरीले जिल्लाका माल्कोट, सल्लारूख, सेरापाटा, धनपाटा, राइटा, घोडेपाटा, पाग्रालगायत क्षेत्रमा मिनी अप्रेसन चलायो । त्यहाँ घरमा बसिरहेका र आफ्नो कामकाज गरिरहेका जनतालाई पनि प्रहरीले बन्दुक देखाएर मतदानमा भाग लिन चर्को दबाब दियो । कम्युनिस्ट विरासत वोकेको क्रान्तिको अभेद्य किल्ला कालीकोटका मतदाताले मतदान बहिष्कार गरिरहे र प्रशासनले स्थानीय जनताभन्दा दोब्बरको सङ्खयामा प्रहरी परिचालन गर्दै जबर्जस्ती मतदातालाई भोट खसाल्न दबाब दियो । प्रशासनले निर ङ्कुश राणाकालीन व्यवस्थाको झल्को दिने गरी यस्तो हर्कत गर्दा उनीहरूकै भाषाको लोकतान्त्रिक प्रणालीको उपहास भयो । खासगरी माके कालीकोटका सांसद महेन्द्रबहादुर शाहीलगायतको दबाबमा मतदाता बाहिरिन सक्ने भन्दै सेना, सशस्त्र र जनपदलाई मुखय नाकाहरूमा तैनाथ गरी आतङ्कित बनाइयो । तर पनि हजारभन्दा बढी मतदाता भएको ठाउँमा सयको सेरोफेरोमा जबर्जस्ती मत खसालिएको बताइएको छ । यो चुनाव हो कि विशेष फौजी अप्रेसन हो भनी नेकपाका नेताहरूले सोधेको प्रश्नमा प्रमुख जिल्ला अधिकारी गिरिधारी सुवेदीले अप्रेसन त होइन भनी निरीहता प्रदर्शन गरेका छन् । उनले निर्वाचनमा नेकपाका कार्यकर्ता र स्थानीयबाट असुरक्षा भएको भन्दै व्यापक सङ्खयामा सुरक्षाकर्मी परिचालन गरिएको प्रतिक्रिया विभिन्न सञ्चारमाध्यमहरूलाई दिए ।

स्थानीय बासिन्दाहरूले भने आफूहरूको चाहनाविपरीत काममा गएको बेला पनि प्रहरीहरू गएर बन्दुक देखाउँदै तिमीहरू भोट हाल्न नगए राम्रो हँुदैन भन्दै जबर्जस्ती मतदान केन्द्रसम्म ल्याएको बताएका छन् । गत वैशाख ३१ गते नै जनताको व्यापक उपस्थिति र नेकपाको अगुवाइमा ब्यालेट बक्स नै कब्जामा लिई जलाएर ध्वस्त पारिएको थियो । प्रहरी र निर्वाचनमा खटिएका कर्मचारीहरू हतियार छोडेर भागेका थिए । त्यसपछि जेठ ७ गतेका लागि तोकिएको निर्वाचन देखावटी रूपमा सफल बनाउनका लागि शक्ति केन्द्रित गरिएको थियो । तर पनि बन्दुकको बलमा कुल मतदाताको पन्ध्र प्रतिशत मात्र मत खसालेर त्यहाँका जनताले फेरि पनि असफल व्यवस्थाले गरेको चुनावलाई खारेज गरिदिएका छन् । यसैबीच वैशाख ३१ गते नै कालीकोटमा प्रहरीद्वारा मारिएका धनरूप बटालाको स्मृतिमा देशका विभिन्न ठाउँहरूमा शोकसभाहरू सम्पन्न भएका छन् । शोकसभा मनाउने क्रममा नै काठमाडौँ, पोखरालगायत देशका विभिन्न ठाउँहरूबाट दर्जनौँलाई गिरफ्तार गरिएको छ । काठमाडौँको असनबाट प्रहरीले अनेमसङ्घ क्रान्तिकारीकी महासचिव धीरेन्द्रा उपाध्याय ‘भृकुटी’, पत्रकार सुदर्शन मङ्गोल, जयसिंह, लोकेन्द्र बिष्ट, एल.के. रायमाझी, देवी, विजयलगायतलाई गिरफ्तार गरी हिरासतमा राखेको छ ।

उता पोखराको पृथ्वीचोकमा पनि कार्यक्रम गरिरहेका नेकपाका दुई दर्जनभन्दा बढी जिल्लास्तरीय नेता र कार्यकर्ताहरूलाई गिरफ्तार गरिएको छ । यस्तै नुवाकोटलगायत देशभरि नै नेकपाका कार्यकताहरूलाई गिरफ्तार गर्ने र विभिन्न खालका झूट्टा मुद्दामा फसाउने तयारी गरिरहेको छ । यता नेकपाले भने गिरफ्तार गरिएका आफ्ना नेता–कार्यकर्ताहरूलाई रिहा नगरिए त्यसबाट आउने परिणामको भागीदार स्वयम् हुनुपर्ने बताउँदै आएका छन् ।
गिरफ्तार नेता नछोडे स्थानीय प्रशासकमाथि निगरानी गरिने
नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङले गिरफ्तार गरिएका आफ्ना स्थानीय नेतालाई रिहा नगरे त्यसको बदलामा स्थानीय प्रशासकमाथि पनि उच्च निगरानी गरिने चेतावनी दिएको छ । गत आइतबार आफ्नो पार्टीका मेची ब्युरो सदस्य रामकुमार चुडाललाई प्रहरीले पक्राउ गरेको विरोधमा नेकपाले यस्तो चेतावनी दिएको हो । नेकपा ताप्लेजुङका इन्चार्ज आशीषद्वारा जारी प्रेसविज्ञप्तिमा बिनाकारण पक्राउ पुर्जीबिना नै घरमा बसिरहेको अवस्थामा सादा पोसाकमा आएका प्रहरीले अपहरणको शैलीमा चुडाललाई पक्राउ गरेको बताइएको छ । साथै विज्ञप्तिमा आफ्ना कार्यकर्तालाई बिनासर्त रिहा नगरे त्यसका विरुद्ध कारबाही अघि बताउने र सम्बन्धित व्यक्तिहरू आफ्नो निशानामा पर्नसक्ने जनाइएको छ ।
साथै आफ्ना कार्यकर्ताहरूमाथि झूट्टा मुद्दा लगाउने र शारीरिक तथा मानसिक यातना दिनेजस्ता गम्भीर मानवअधिकार उल्लङ्घनका घटना दोहोरिइरहेको भन्दै विज्ञप्तिमा त्यसप्रति घोर आपत्ति प्रकट गरिएको छ ।

रातो खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :