नयाँ गठबन्धनको सङ्केत

चुनाव खारेजी समानान्तर सत्ता अभ्यास नै हो : धर्मेन्द्र बास्तोला, नेता नेकपा

18644708_1366600986765764_414236236_nरातो खबर साप्ताहिक/काठमाडौंः बैशाख १०, पहिलो चरणको निर्वाचनमा व्यापक धाँधलीबीच सत्तारूढ दलहरू पछारिएका छन् । २००७ सालको रानाविरोधी आन्दोलनको नेतृत्व गरेपछि पचासौँ वर्षसम्म निर्वाचनमा पहिलो दलका रूपमा स्थापित (२०५४ बाहेक) हुँदै आएको नेपाली काङ्ग्रेस दोस्रो पार्टीका रूपमा स्थापित भएको छ । व्यापक सरकारी गठबन्धनका बीच नेकपा (एमाले) ले जेठ ३१ गते भएको प्रथम चरणको निर्वाचनमा बहुमत हासिल गरेको छ । नक्कली राष्ट्रियता, राजतन्त्र पैरवी र हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपालाई जनताले अस्वीकार गरेका छन् । गैरराजनीतिक व्यक्तिहरू र सिद्धान्तहीन गठजोड गरिरहेको नयाँ शक्तिलाई पनि जनताले रुचाएनन् । अर्काेतिर यो निर्वाचनमा युरोपेली मिसन र क्रिस्चियन मेसिनरीद्वारा परिचालित नयाँ शक्तिहरूको उदय गम्भीर विषयका रूपमा प्रकट भएको छ । साझा पार्टी र विवेकशील पार्टी नामका समूहको उदयलाई त्यसरी हेरिएको छ ।

पुराना दलहरूप्रतिको वितृष्णाबाट बिच्किएको जनमत तावाबाट हामफालेर भुङ्ग्रोमा भनेझैँ नयाँ रूपमा पुरानै प्रवृत्तितिर प्रवृत्त भएका छन् । यो निर्वाचनले नेपाली जनतामा भारतीय साम्राज्यवादविरुद्ध व्यापक जनमत रहेको सुखद पक्षलाई प्रकट गरेको छ । नेकपा (एमाले) को नक्कली राष्ट्रवादले जनमतको सम्बोधन गर्ने सम्भावना देखिन्न । त्यसैले क्रान्तिकारी शक्तिहरूले नेपाली जनमतमा रहेको राष्ट्रवादी र क्रान्तिकारी चेतनाको नेतृत्व गर्न सक्नुपर्छ । पहिलो चरणको निर्वाचनले नेपालमा भारतीय साम्राज्यवादपरस्त शक्तिहरूलाई झट्का दिएको छ । पहिलो चरणको जनमत हेरेर ती शक्तिहरूका बीचमा नयाँ ध्रुवीकरणको प्रयास हुनसक्ने देखिन्छ । त्यसप्रकारका प्रयासहरू पनि हुन थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलो चरणको निर्वाचनको परिणाम आउँदै गर्दा जनकपुरको एक कार्यक्रममा सरकारी गठबन्धन र मधेस केन्द्रित दलहरूका बीचमा चुनावी गठबन्धन गर्नुपर्ने र सदनमा प्रस्तुत संविधान संशोधनको विपक्षमा रहेका दलहरूलाई परास्त गर्नुपर्ने बताएका छन् । उता सङ्घीय लोकतान्त्रिक फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसवादी दलहरूले साझा उम्मेदवार दिने प्रयास भैरहेको बताएका छन् । यसपटकको निर्वाचनमा दिल्लीपरस्त भनिएका दलहरूको पराजयलाई नेकपा (एमाले) को लोकप्रियताभन्दा पनि भारतीय साम्राज्यवादविरोधी जनमतका रूपमा हेरिएको छ । भारतीय साम्राज्यवादपरस्त शक्तिहरूको पराजयलाई कतिपयले दिल्लीको अलोकप्रियताका रूपमा पनि हेरेका छन् । त्यसकारण उनीहरू दोस्रो चरणमा गुमेको साख फिर्ता लिने रणनीतिमा देखिन्छन् । पहिलो चरणको निर्वाचनमा सत्ता र राज्य ढुकुटीको व्यापक दुरुपयोग गरियो । प्रहरी र सेना प्रयोग गरेर व्यापक राज्यआतङ्क उत्पन्न गरियो । संसदीय संविधानप्रदत्त वाक् तथा प्रेस स्वतन्त्रताको व्यापक हनन भयो ।

शान्तिपूर्ण ढङ्गले चुनावका विपक्षमा जनमत निर्माण गर्न पनि दिइएन । नेकपाका कार्यकर्ताहरूलाई देख्नासाथ गिरफ्तार गर्ने आदेश फर्मान भयो । मध्यरातमा, सुतिरहेका वृद्धवृद्धा, नाबालिक र राजनीतिक दल र विचारप्रति स्वतन्त्र वा तटस्थ रहेका नागरिकसमेतलाई गिरफ्तार गरेर झूट्टा मुद्दामा फसाइयो । नेपालमा चुनाव आयोजना गरिएको हो कि सङ्कटकाल लगाइएको हो, बुझ्न गाह्रो हुने परिस्थिति उत्पन्न गरियो । कालीकोट, जुम्ला, मकवानपुरलगायत जिल्लामा जनता चुनावमा सहभागी नभएपछि घरघरमा पसेर पक्राउ गरेर घिसार्दै मतदान केन्द्रमा लगेका खबरहरू सार्वजनिक भए । सत्तारूढ दलहरूले स्थानीय तहको चुनावलाई जनयुद्धका विरुद्ध संसदीय व्यवस्था लाद्ने र प्रतिक्रान्तिलाई संस्थागत गर्ने रणनीति लिएपछि शान्तिप्रक्रियाको एक पक्ष नेकपाले समानान्तर सत्ता निर्माण गर्ने घोषणा गर्दै आएको थियो । उसले चुनाव खारेजीअभियानलाई समानान्तर सत्ताअभ्यासका रूपमा व्याख्या गरेको छ । जेठ ८ गते काठमाडौँको एक कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले उक्त दाबी गर्नुभएको हो । नो भोटको माग भैरहेको बेला कालीकोटमा शान्तिपूर्ण बहिष्कारको हकलाई राज्यले हनन गर्दै बर्बर दमन ग¥यो । एकजनाको ज्यान नै गयो । पुनः मतदान तोक्दासमेत स्थानीय जनता मतदान केन्द्रमा उपस्थित नभएपछि घरघरमा पसेर घेरेर ल्याइयो र व्यापक अपरेसन चलाइयो । यो निर्वाचन संसदीय शक्तिहरूका लागि उत्सव भयो भने निम्छरा जनता र देशभक्त शक्तिहरूका लागि सङ्कटकालको पुनरावृत्ति भयो । चुनावले शान्ति र विकास ल्याउने दाबी गरिए पनि द्वन्द्व बढाउनेबाहेक अर्थोक हात लाग्ने देखिन्न ।

राताे खबर साप्तािहकबाट

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!