मध्यकेन्द्रीय कमान्डले गर्‍यो अभियानको समीक्षा, यही अवस्थामा वार्ता हुँदैन : सुदर्शन

 काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सरकार वार्ताको माध्यमबाट आफ्नो पार्टीलाई फसाउने षड्यन्त्रमा लागेको भन्दै तत्काल वार्ताको सम्भावना नरहेको बताएका छन् । उनले विगतमा नेताहरूलाई वार्ताकै माध्यमबाट गलाएको र त्यो पुरानो रोग पटकपटक दोहोरिरहेकोे स्मरण गर्दै आफूहरूलाई असफल पार्न सरकार एकातिर दमन अभियान चलाइरहेको र अर्कोतिर वार्ताको जाल थापिरहेको बताए ।

नेकपाको मध्यकेन्द्रीय कमान्डले मङ्गलबार आयोजना गरेको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ को समीक्षा कार्यक्रममा इन्चार्ज सुदर्शनले आफ्नो पार्टीले सञ्चालन गरेको अभियानले पार्टीको योजना जनतासँग जोडने काम गरेको बताए । आफ्नो पार्टीको अभियान टिममाथि प्रशासनले व्यापक दमन गर्ने कोसिस गरे पनि अभियानकर्मीहरू जनतामा पुग्न सफल भएको र डेढ महिनाको अवधिमा मध्यकेन्द्रीय कमान्डमा दुई सय ७० वटा नयाँ सङ्गठन निर्माण भएको जानकारी पनि उनले दिए ।

मध्यकेन्द्रीय कमान्डअन्तर्गत नुवाकोट जिल्लामा आयोजित उक्त कार्यक्रममा कमान्डअन्तर्गतका ९ वटा अभियान टोली सहभागी थिए । समीक्षा कार्यक्रममा ९ वटै अभियान टोलीका नेताहरू उत्तम, शिला, अटल, प्रताप, रूपेश, राम, शङ्कर, अजय र विजयले अभियानको समीक्षात्मक रिपोर्ट राखेका थिए ।

अभियान सानदार तरिकाले अघि बढेको र अब छिट्टै दोस्रो चरणको कार्यक्रम सुरु हुने जानकारी दिँदै नेकपाका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विजयले आफ्नो पार्टीले सञ्चालन गरिरहेको अभियानले जनतासँगको सम्बन्ध नवीकरण गरेको बताए । कार्यक्रमका वक्ताहरूले वैचारिक राजनीतिक रूपले अभियान सफल रहेको भन्दै जनतासँगको सम्बन्ध राम्रो बनेको र आफ्नो अभियानमा जनताको उत्साहजनक सहभागिता रहेको निष्कर्ष निकालेका थिए । प्रज्वलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विजयले गरेका थिए भनेस्वागत आधारले गरेका थिए ।

२०७५ असोज १७ गते बुधबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :