हिरासतभित्रै चरम यातना दिइएका नेकपा नेता असललाई तीन दिनभित्र उपस्थित गराउन आदेश

काठमाडौँ : हिरासतभित्रै चरम यातना दिई टाउको र पैतालामा गम्भीर घाउ बनाएर पनि उपचार नगराइएका नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ लाई तीन दिनभित्र गिरफ्तार गर्नुको लिखित कारणसहित सर्वोच्च अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी भएको छ । नेकपा नेता असललाई गैरकानुनी रुपमा गिरफ्तार गरी थुनामा राखेकाले रिहा गर्न माग गर्दै दुर्गाप्रसाद जैसीले आइतबार दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा भएको बहसपछि न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले सोमबार सरकार, गृह मन्त्रालय, मकवानपुर प्रहरीलगायत विपक्षीका नाममा आदेश गरेको हो ।

नेता असललाई रूपन्देही जिल्ला अदालतले रिहा गर्न आदेश दिएपछि असोज १० गते धरौटी बुझाई छुटेलगत्तै प्रहरीले गिरफ्तार गरी ११ गते बिहान मकवानपुर लगेको थियो । त्यहाँ नेता असलमाथि मकवानपुरको पालुङस्थित स्काभेटरमा आगो लगाएको झूट्टा अभियोग लगाइएको छ । यसअघि रूपन्देही इलाका प्रहरी कार्यालय बुटवलले बुउमनपा २ स्थित जितगढी किल्ला क्षेत्रभित्र राखिएको फूलबारीनजिकको भारतीय पेन्सन क्याम्पमा बम विस्फोट गराई क्षति पु¥याएको झूट्टा आरोपमा जिल्ला अदालत भैरहावामा ‘विस्फोटक पदार्थ’ मा मुद्दा चलाएको थियो ।

नेकपा नेता असलमाथि हिरासतमै चरम यातना दिइएको सार्वजनिक भइसकेको छ । चरम यातनाबाट असलको टाउकोमा गम्भीर चोट लागेको छ भने पैतालामा दिइएको यातनाले टेक्न र हिँड्नसमेत नहुने अवस्था छ । उनको उपचारसमेत गरिएको छैन ।

२०७५ असाेज १५ गते साेमबार  प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :