कमिसनखोर, दलाल र भ्रष्टाचारीलाई जनसत्ताले कारबाही गर्ने, अखिल (क्रान्तिकारी) अर्घाखाँचीको अध्यक्षमा राउत

   

अर्घाखाँची : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीको २६ औँ जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न भएको छ । अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईको प्रमुख आतिथ्यमा बिहीबार सम्मेलन सम्पन्न भएको होे । सम्मेलनले विष्णु राउत अध्यक्ष रहेको २१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुरज विक, सचिव आरएन विक, सहसचिव धर्मराज नेपाली र कोषाध्यक्ष हिमा कुँवर रहेका छन् ।
कार्यक्रममा उपाध्यक्ष भट्टराईले नेपालमा दलाल शासक र कमिसनखोरका कारण दुई प्रकारको शिक्षा नीति रहेको र यसलाई बदल्नका लागि सरकारले स्पष्ट नीति ल्याउन नसकेको भन्दै कडा आलोचना गर्नुभयो । शिक्षामा हुने भ्रष्टाचार र कमिसनखोरीलाई राज्यले नियन्त्रण गर्न नसकेको भन्दै उनले त्यस्ता कमिसनखोर, दलाल र भ्रष्टाचारीलाई जनताको सत्ताले कारबाही गर्ने चेतावनी पनि दिए ।

कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज कमल केसी, अखिल (क्रान्त्किारी) का केन्द्रीय सदस्य कुलराज बन्जाडे, पत्रकार महासङ्घका जिल्ला अध्यक्ष हिमबहादुर जीसी लेकालीलगायतले सरकारले शिक्षामाथि हुने अर्बौं भ्रष्टाचार रोेक्नका लागि स्पष्ट विचार र दृष्टिकोण ल्याउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष गणेश खनाल, प्रेस सङ्गठनका नेता हृदयकुमार भुसाल, प्रगतिशील पत्रकार सङ्घ केन्द्रीय सदस्य श्याम घिमिरे, मालारानी एफएमका स्टेसन म्यानेजर नवीन केसी, क्रान्तिकारी पत्रकार सङ्गठनका केन्द्रीय सदस्य अनिल नेपाली, अखिल (क्रान्तिकारी) नवलपरासी अध्यक्ष नवीन पौडेल, जिल्ला जनसरकार प्रमुख पिताम्बर पोख्रेल, योङ रेड फोर्सका संयोजक शङ्कर शाह, घाइते अपाङ्ग संयोजक टामलाल बस्याल अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा क्षितिज सामना सांस्कृतिक परिवारले नृत्य प्रस्तुत गरेको थियो ।
कार्यक्रममा प्रतिनिधि र पर्यवेक्षक गरी चार सयजनाको सहभागिता रहेको जानकारी आयोजकले दिएको छ । उक्त सम्मेलनको अध्यक्षता सम्मेलन आयोजक समितिका संयोजक विष्णु राउत, सञ्चालन सहसंयोजक सुरज विकले र स्वागत मन्तव्य नगर अध्यक्ष आरएन विकले गर्नुभएको थियो ।

२०७५ असाेज १२ गते  प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :