क्रान्ति फोहोर बढार्ने अभियान हो : ध्रुव

सुर्खेत : नेपाल कम्युनिस्ट पार्टी सुर्खेतका जिल्ला इन्चार्ज गणेश बोगटी ‘धु्रव’ ले सरकार मानवअधिकार हनन गर्न उद्यत रहेको भन्दै आपत्ति जनाउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्गठन, केन्द्रीय समिति र सुर्खेत शाखाले जिल्लाको वीरेन्द्रनगरमा गरेको कार्यक्रममा इन्चार्ज धु्रवले आफ्नो पार्टीलाई शान्तिपूर्ण आन्दोलन गर्न नदिएर संविधानमा भएको अधिकार हनन गरिरहेको बताउनुभयो ।

सरकार अहिले सबैभन्दा निरङ्कुश भनिरहेको भन्दै इन्चार्ज धु्रवले भन्नुभयो, ‘सिंहदरबारमा पसेपछि सबैको मस्तिष्कमा राणाकालीन मस्तिष्क पस्छ कि क्या हो ? कहिलेकहीँ त अनौठो लाग्छ ।’ उहाँले अहिले आफ्नो पार्टीलाई सरकारले प्रतिबन्ध लगाइरहेको भन्दै अभिव्यक्ति स्वतन्त्रता नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अहिले संविधानअनुसार नै शान्तिपूर्ण कार्यक्रम गर्न पाएका छैनौँ । हामीलाई साङ्गठनिक गतिविधि गर्न सरकारले प्रतिबन्ध लगाएको छ । कहाँ छ अभिव्यक्ति स्वतन्त्रता ?’ इन्चार्ज धु्रवले भ्रष्टाचार, अन्याय, अत्याचार र राष्ट्रियताका विषयमा कुरा उठाउँदा सरकार दमनमा उत्रिएको बताउनुभयो ।

उहाँले साङ्गठनिक गतिविधि गर्दा हतियार खरिद गरेको, हिंसात्मक गतिविधि सञ्चालन गर्न खोजेको जस्ता अनावश्यक आरोप लगाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले त क्रान्तिको कुरा गरेको हो । क्रान्ति भनेको फोहोर बढार्ने अभियान हो तर यसलाई गलत ढङ्गले प्रचार गरिएको छ ।’

२०७५ असाेज ११ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :