नेकपाका केही नेता–कार्यकर्ता रिहा, दर्जनौँ अझै हिरासतमा

झापा : नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता गिरफ्तार गर्ने र रिहा गर्ने कार्य सरकारले तीव्र पारिरहेको छ । यसैक्रममा नेकपाका झापा जिल्ला नेता सुवास राई, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घअन्तर्गत रहेको अखिल नेपाल ढुवानी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष चित्र विक, सुरेन्द्र मिश्र, भीमकुमारी र मोहन बराल रिहा भएका छन् । उनीहरू जिल्ला प्रहरी कार्यालय इलामबाट जनही पाँच हजार धरौटीमा सोमबार रिहा भएका हुन् ।

उनीहरूसँगै रिहा भएका विद्यार्थी नेता सञ्जय राईलाई भने पुनः प्रहरीले जिप्रकाबाटै गिरफ्तार गरेको छ । राईलाई गिरफ्तार गरी झापा लगेको नेकपा पूर्वी कमान्डले जनाएको छ ।

इलामकै प्रहरी हिरासतमा अब नेकपाका केन्द्रीय सदस्य देवनारायण शाह, झापा जिल्ला इन्चार्ज सौगात आचार्य, झापा जिल्ला सेक्रेटरी सुमनसिंह पौडेल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ झापाका अध्यक्ष चमनलाल माझी, तारा थापा, योङ रेड फोर्स झापाका अध्यक्ष सेसेहाङ लिम्बू, इलामका नेता–कार्यकर्ता दीपमान राई, डम्बर मगर र प्रेम चापागाईं रहेका छन् ।

केन्द्रीय सदस्य शाहलगायतलाई प्रहरीले पहिला विस्फोटक मुद्दा लगाएको थियो भने हाल सङ्गठित अपराध मुद्दा लगाइएको नेकपाले जनाएको छ ।

२०७५ असाेज ८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :