रिहा लगत्तै नेकपाका प्रवक्ता प्रकाण्डले भने ‘परिआए बलिदान दिन तयार छौँ’ (भिडियाे सहित)

काठमाडाैं ः गत साउन २२ गते काठमाडौँ टौदहबाट गिरफ्तारीमा परेका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य, प्रवक्ता एवम् पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ५० दिनपछि रिहा हुनुभएको छ । सर्वोच्च अदालतको आदेशबाट रिहा भएलगत्तै प्रकाण्डलाई विशाल जुलुसले सर्वोच्चबाट नाराजुलुससहित माइतीघर मण्डलामा लगी अभिनन्दन गरेको थियो । माइतीघर मण्डलामा पुगेर प्रकाण्डले पहिलो प्रतिक्रिया दिँदै भन्नुभयो, ‘यो पार्टी, नेता÷कार्यकर्ता र जनताको विजय हो । यो जितको मोर्चाबाट अभिवादन गर्न चाहन्छु । विदेशी दलाल, साम्राज्यवादको षड्यन्त्र असफल भएको छ । आज कानुनी सङ्घर्षबाट हामी मुक्त भएका हौँ । अहिले प्रतिक्रान्ति भैराखेको छ । म ६ वटा जिल्लामा जाँदा ९ वटा झूट्टा मुद्दाको सामना गर्नुपरेको थियो । अहिले हिरासत र जेलमा रहेका सबै कमरेडहरूलाई मेरै हालत बनाइएको छ ।’


उहाँले भन्नुभयो, ‘अहिले हामीलाई सत्ताले गरेको गिरफ्तारी, ओलीको दलाल फासिवादी सरकारका विरुद्ध, रामबहादुर थापाको रबैयाका विरुद्ध वकिल, पत्रकार, अदालतका कर्मचारी, सबै जिल्लाका सुरक्षाकर्मी र प्रशासनमा हामीलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दछु । हामी गिरफ्तारीमा परेपछि निरन्तर हाम्रो मुक्तिका लागि कुशल नेतृत्व गरिराख्ने, पार्टीलाई एकढिक्का बनाई क्रान्तिको कुशल नेतृत्व गर्ने हाम्रो पार्टीका महासचिव कमरेड विप्लवलाई अभिवादन गर्न चाहन्छु । कमरेड महासचिवको नेतृत्वमा अघि बढिराखेको क्रान्तिमा जनता र राष्ट्रमुक्तिका लागि आवश्यक परेमा बलिदान गर्न पनि तयार छौँ । दस वर्षको जनयुद्धको नेतृत्व गरेका प्रचण्डहरूले अहिले हामीमाथि दमन गरिराखेका छन् । प्रचण्डका विरुद्ध १० हजार जनताको हत्याको मुद्दा जनताको अदालतमा दर्ता हुनेछ । ओलीले यो गणतन्त्र ल्याएको होइन । त्यसैले उनले धेरै ठ्याँठ्याँ नगरे हुन्छ ।’ उहाँले जारी क्रान्तिले सबै दलालहरूको हिसाबकिताब राखेको र त्यसको उचित फैसला गर्ने पनि बताउनुभयो ।
प्रकाण्डलाई गत साउन २२ गते गिरफ्तार गरेपछि सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएको थियो । त्यसको लगत्तै एनसेल टावर आगजनी गरेको आरोपमा अदालत परिसरबाटै गिरफ्तार गरी काभ्रे लगिएको थियो । यसैगरी उहाँलाई भोजपुर, दाङ हुँदै उदयपुरमा विभिन्न मुद्दा लगाएर पाँचपटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिँदा पनि पुनः गिरफ्तार गरेको थियो । असोज ९ गते पनि सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएपछि मात्र रिहा गरिएको थियो ।

हेर्नुस् भिडियाे

२०७५ असोज ९ गते  मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :