सन्दर्भ : संस्कृतिकर्मीमाथिको फासिवादी दमन, राणा शासन, मकै पर्वका कृष्णलाल र प्रगतिवाद

 

यतिबेला न हिजो, संसारभरकै प्रतिक्रियावादी शासकहरूले जनताका पक्षमा लेख्ने, बोल्ने र लड्नेहरूलाई विभिन्न आरोप लगाउँदै गिरफ्तारी, झूट्टा मुद्दा, हिरासत, यातना, जेल र मृत्युको सजायसमेत दिने गरेका छन् । नेपालमै पनि प्रथम सांस्कृतिक÷साहित्यिक सहिद मानिएका मकैको खेती पुस्तकका लेखक कृष्णलाल अधिकारीलाई श्री ३ राणा प्रधानमन्त्री चन्द्रशमशेरको एकल निर्णय र लहडले भोजराज काफ्लेहरूको उजुरीमा जेल हालियो र भित्रै मारियो । जनयुद्धको समयमा कृष्ण सेन ‘इच्छुक’ लगायत एक सय साठीभन्दा बढी संस्कृतिकर्मी÷स्रष्टाहरूलाई मुठभेडका नाममा आततायी र फासिवादी शैलीले गिरफ्तारी, घेराबन्दी र सामूहिक हत्या गरियो । यो क्रम भारतमा अहिले त्यहाँका शासक मोदीले चलाइरहेका छन् र पाँचजना जनप्रिय स्रष्टा, संस्कृतिकर्मी र पत्रकार ः वरनान गोन्जाल्विस, अरुण फरेरा, सुधा भारद्वाज, बरबर राव र गौतम नवलखालाई जेल हालेका छन् । शासकहरू जनताबाट डराएपछि सबैभन्दा पहिला स्रष्टाहरूलाई जेल हाल्नतिर लाग्छन् किनकि जनताका कुरा हृदयमा गढ्ने गरी कविता, गीत–संगीत, कथा, संस्मरण, उपन्यास, समाचारमा उतारिदिने र जीवन्त अभिनय गर्ने त तिनै स्रष्टाहरू हुन्छन् । स्रष्टाहरूलाई समातेर जेल पठाइदियो भने जनताको विद्रोह समाप्त हुने ठान्छन् मन्दबुद्धिका प्रतिक्रियावादी शासकहरू । यतिबेला नेपालको शासनमा निरङ्कुश चन्द्रशमशेर राणा छैनन् तर लोकत्नत्र र गणतन्त्रका माला जपिरहेका, पूजा गरिरहेका तिनकै नयाँनयाँ ‘अवतार’ छन् । त्यसैले तिनीहरूले कयौँ नेता, स्रष्टा, संस्कृतिकर्मीसमेतलई हिरासत पु¥याएका छन् र झूट्टा मुद्दा लगाउँदै जेल पठाउने तयारी गरिरहेका छन् । यसै सन्दर्भमा एक दशकअघि अनिल शर्माले लेखेर पहिला ‘नेपालका प्रथम सांस्कृतिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती’ पुस्तकमा प्रकाशित भएको र हाल ‘समकालीन साहित्य र संस्कृति’ पुस्तकमा समेटिएको यो लेख समसामियक हुने ठानेर यहाँ साभार गरिएको हो– सम्पादक ।

प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारीको चर्चित कृति ‘मकैको खेती’ को खास प्रति हालसम्म पनि प्राप्त भएको छैन । उनको एक थान कृति हराएका कारण त्यो कतै छ वा नष्ट भएर गयो भन्ने सन्दर्भमा पनि एकरूपता देखिन्न । इतिहासमा त्यही पुस्तकसम्बन्धी घटनालाई ‘मकै पर्व’ भनिन्छ । राणाहरूले पुस्तकमा उल्लिखित मकै भनेको जनता र मकैमा लाग्ने रोग वा कीरा भनेको राणा शासकलाई भनेको हो भन्ने ठहर गरे । त्यसैले छापिएका एक हजार थान पुस्तकमध्ये ९९९ थान पुस्तक उनका विरुद्ध देशद्रोहको मुद्दा फैसला भएकै दिन जलाइयो भनिन्छ । लेखक कृष्णलाल अधिकारीलाई पुस्तक लेखेवापत ६ वर्ष र एक थान पुस्तक हराएका कारण थप तीन वर्ष गरी ९ वर्ष जेलसजाय दिइयो । कृष्णलालको जेलमै मृत्यु भयो । सातजनाको सरकारी जागिर खोसियो भने एकजनालाई ५० रूपैयाँ जरिबाना तोकियो ।

कृष्णलालले मकैको खेतीका नाममा विशुद्ध प्राविधिक पुस्तक लेखेका थिए भन्नेहरू पनि छन् । मकैको खेती पुस्तकलाई विद्रोही चेतद्वारा योजनाबद्ध रूपमा लेखिएको विश्लेषण अर्कोतिर रहेको छ । त्यसैले मकै पर्व निकै विवादास्पद बन्न गएको छ । मकै पर्व त्यसअर्थमा नेपाली समाजको अध्ययन गर्ने आपूर्ण सामग्री बन्न गएको छ ।

हिन्दीमा ‘मक्का की खेती’ शीर्षक पुस्तक लेखेर एकजनाले ख्याती कमाएका थिए । त्यसको प्रभाव नेपालका लेखक कृष्णलाललाई पर्नु स्वाभाविक थियो । उनले नेपाली भाषामा नै त्यस्तै प्रकारको पुस्तक लेखे । त्यसबेला राणाहरूले लेख्ने त के आम नागरिकका लागि पढ्ने हकसमेत खोसेका थिए । लेखपढ गर्नु अपराध ठानिन्थ्यो । त्यस्तो समाजमा मकैखेतीको रोग निदानका लागि पुस्तक लेख्नु भनेको अहिलेको समाजमा कुनै कृषि विश्वविद्यालय बनाउनुभन्दा सानो काम थिएन । हुकुमी राणाहरूको नीति विरोधी त्यसप्रकारको योजना राणाहरूका लागि उसै पनि मानहानी थियो । जनताका विरुद्ध समानान्तर शक्तिकेन्द्र पैदा हुने खतरा पनि थियो । त्यसप्रकारको पुस्तकबाट प्रेरित भएर शिक्षाको प्रभाव बढ्दै जाने प्रबल सम्भावना थियो । राजनीतिक विषयमा लेख्ने प्रचलन बढ्न सक्थ्यो, जसका कारण कलमको शक्ति उदय हुनुपूर्व नै कलम भाँच्नु, निमोठ्नु र समाजमा जनचेतनाको दियो निभाएर अँध्यारो शासनमा आयु लम्ब्याउनु राणाहरूका लागि आवश्यक थियो । त्यस अर्थमा ‘मकैको खेती’ पुस्तकको लेखन र त्यसभित्रका बिम्ब र प्रतीकहरूलाई राजद्रोही मानियो । राणाहरूका नारदहरूले, चुक्लीबाजहरूले त्यसरी राणाहरूसमक्ष चुक्ली लगाए । मकैको खेती पुस्तक प्राविधिक विषयमै भए पनि जनताका दैनिक जीवनयापनका समस्या साहित्यमार्पmत समाधान गर्ने प्रयास गर्नु सामान्य प्रश्न थिएन । जनताको जीवनप्रतिको दायित्वबोध साहित्यको मुख्य उपादेयता नै हो ।

प्रथम लोकसाहित्य मानिने ‘लोरी गीत’ आमाहरूले बच्चाहरू निदाउनका लागि गाएका थिए । खेती तथा कृषिकर्ममा सहायता ल्याउन, जीवनका पीडा र खुसीहरूको सम्बोधन गर्नेक्रममा लोकसाहित्यको जन्म भएको देखिन्छ । त्यसैले उपादेयताका दृष्टिले साहित्य प्राविधिक विषयसँग अन्तर्सम्बन्धित विषय नै हो । धाननाच, असारे गीत, सबै श्रमको सहजीकरणकै प्रक्रियामा सिर्जना भएका थिए । ‘मकैको खेती’ कृति मकैखेतीकै विषयमा लेखिएको थियो भने पनि त्यो साहित्य र सिर्जनाको ऐतिहासिक परम्पराको प्रतिकूल रहेको छैन । कलम र सिर्जनाद्वारा जनताका दैनिक जीवनमा भूमिका निर्वाह गर्नु राणाहरूका लागि खतराको घन्टी थियो । त्यस्तो कार्य अझ राणाहरूको निर्देशन र योजनाबाहिरबाट गर्नु अर्को आपत्तिको विषय थियो । त्यसकारण मकै पर्वले कलम र सिर्जनालाई नराम्ररी निरुत्साहित ग¥यो । त्यस घटनाले राणा विरोधी चेतना बढायो । त्यसैले मकै पर्वलाई नेपाली समाजको नयाँ चेतना र सिर्जनाका लागि महत्वपूर्ण घटना मान्न सकिन्छ ।

१९७० को दशकयता नेपाली भाषामा साहित्य लेख्नेहरू देखापर्न थालेका थिए । त्यसले राणा विरोधी भावना जागृत गराउन सक्थ्यो । राणाहरू कलमलाई तर्साउने गौँडो कुरेर बसेका थिए । त्यसैले मकै पर्वमार्पmत सबै सर्जकहरूलाई तर्साइएको थियो । उक्त पुस्तकमा ‘नेपाली कुकुर’ र ‘बेलायती कुकुर’ को तुलना हुनु, चन्द्रशमशेरले रातो फरेज टोपी लगाउने र भीमशमसेरले कालो फरेज टोपी लगाउने भएकाले ‘रातो टाउके’ र ‘कालो टाउके कीरा’ शब्दावली प्रयोग भएका कारण प्रकृतिलाई मानवीकरण गरेर लेखिएको विद्रोही सिर्जना मान्नेहरूको पनि कमी छैन ।

चन्द्रशमशेरले योजनाबद्ध र सुझबुझसहित मकैपर्व घटना गराएका थिए । त्यो घटना कुनै आवेग र उत्तेजना मात्र थिएन । मकै पर्वले जनतामा राणाहरूप्रति नकारात्मक प्रभाव विस्तार भएको थियो । कृष्णलाल आदर्श बिम्बका रूपमा र चन्द्रशमशेर कुरूप बिम्बका रूपमा जनमनमा स्थापित भएको देखिन्छ । त्यसैले कृष्णलालको कद घटाउन, राणा विरोधी लहर घटाउन र चन्द्रशमशेरलाई विवेकशील देखाउन सोही ‘मकैको खेती’ पुस्तकको महत्वपूर्ण अंश फालेर राममणि आदीका नाममा नेपाली कृषि शिक्षावली नामको नक्कली पुस्तक छापिएको तर्क बलियो देखिन्छ । राणाहरूको स्वभाव, कार्यशैली र चेतनाका कारण पनि चन्द्रशमशेर प्रायश्चित गर्ने गर्दैनथे । हराएको एक थान ‘मकैको खेती’ कृतिको प्रामाणिकता पनि देखिन्न । ‘मकैको खेती’ मा प्रयोग भएको आञ्चलिकताका कारण नक्कली मकैको खेती हिन्दी भाषामा त्यसपूर्व प्रकाशित कृतिको नेपाली अनुवाद हो भन्ने भनाइ पनि सही देखिन्न । हिन्दी भाषाको कृतिमा नेपाली आञ्चलिकता प्रयोग हुने कुरा सही देखिन्न । तसर्थ, चन्द्रशमशेरको निर्देशनमा कृषि शिक्षावली नामको नक्कली ‘मकैको खेती’ कृति बजारमा ल्याइएको तर्क बलियो ठहर्छ ।

एकातिर कृष्णलालको महिमाबाट तर्सिएका शासक चन्द्रशमशेरले घटनालगत्तै नक्कली ‘मकैको खेती’ प्रकाशित गरेर त्यसको न्यूनीकरण गर्न खोजे । २००७ सालपछि कृष्णलालका सकारात्मक पक्षहरू प्रकाशमा आउन थाले तर कतिपय लेखकहरूको धारणा हेर्दा उनलाई अलौकिकता प्रदान गर्न खोजेको पनि देखिन्छ ।

निरङ्कुश राणा शासकहरूले निर्ममतापूर्वक हत्या गरेका साहित्यक सहिद कृष्णलाल अधिकारी र उनको कृति ‘मकैको खेती’ लाई होच्याउनु र उक्त पुस्तकको असली रचनाकार अरू कुनै नक्कली पात्रलाई देखाउनु भनेको शासकको संस्कृतिको पक्षधरता र विद्रोही चेतनाका विरुद्ध उभिनु हो । शासकहरूले जनताका आवाजहरूलाई दबाउने गर्छन् । राणाकालका विरुद्ध प्रतीकात्मक रूपमा लेखेको ठहर गरी चन्द्रशमशेरले त्यसका लेखक कृष्णलाल अधिकारीलाई जेल हालेका थिए । जेलको कठोर यातनाका कारण जेलमै उनको मृत्यु भएको थियो । १९७७ साउन १० गते गिरफ्तार गरिएका कृष्णलाललाई काठमाडौँस्थित भद्रगोल जेलमा राखिएको थियो । उनलाई नेल र हत्कडीसहित राखिएको थियो । अहिलेको युगमा त भद्रगोल जेल त्यस्तो नारकीय अवस्थामा छ भने राणाकालमा जेलको खाना, यातना, अपमान, बस्ने स्थान कस्तो थियो होला ? सहजै अनुमान गर्न सकिन्छ । उस बेलाको हिउँ पर्ने काठमाडौँमा चिसो भुइँमा नेल र हत्कडीसहित कैद गरिएका कृष्णलालले १९८० मङ्सिरमै जेलमा मृत्युवरण गरेका थिए । कृष्णलाल स्वाभिमान भएका र छोटो उमेरमा उच्च ओहोदामा पुगेको देखिन्छ । नबिराउनू/नडराउनू भनेझैँ चुक्लीबाजहरूका कारण क्रुद्ध चन्द्रशमशेरका सामु माफी माग्न आओस् भन्ने ठानेका चन्द्रशमशेरसामु माफी नमागेका कारण चन्द्रशमशेर कृष्णलालका विरुद्ध थिए भन्ने ठान्नेहरू पनि कम छैनन् । जेलमै पनि कृष्णलालले सिर्जनाकर्म जारी राखेको देखिन्छ । जेलमा रहेका बेला माफी मागेमा क्षमा दिई रिहा गर्ने भनी चन्द्रशमशेरले पठाएको खबरलाई समेत कृष्णलालले स्वाभिमानपूर्वक अस्वीकार गरेको देखिन्छ । उच्च घरानामा हुर्किएका कृष्णलालले जेलमा पौष्टिक आहारा पाएनन् । पत्नीबिछोडको पीडा, सहयोगीको अभाव र क्षयरोगको सङ्क्रमणका कारण थलिएर उनको मृत्यु भएको थियो । माफी माग्नुभन्दा मृत्यु रोज्ने कृष्णलाल स्वतन्त्रताको लडाइँमा युगयुगसम्म आदर्श बिम्बका रूपमा रहिरहनेछन् ।

नेपालमा राणाशासनको अन्त्य भएपछि लेखकहरूले कृष्णलालाई प्रथम साहित्यिक सहिद घोषणा गर्दै राणा विरोधी लेखकका रूपमा स्थापित गरे । त्यसपूर्व शासकहरूले कृष्णलालको योगदानलाई न्यूनीकरण गर्ने षड्यन्त्र गरेको देखिन्छ । पुस्तक लेखेवापत मृत्युवरण गर्नुपर्ने सजाय पाउने कवि कृष्णलाल प्रथम स्रष्टा हुन् । उनले मृत्युवरण गरे तर आफ्नो अडान छोडेनन् । राणाशासनका विरुद्ध मात्र नभएर जनसेवामै केन्द्रित भएर उनले ‘मकैको खेती’ कृति लेखेको भए पनि त्यो निरङ्कुशताका विरुद्ध र जनताका पक्षमा हुन आउँछ । तसर्थ, कृष्णलाल एक आदर्श व्यक्तित्व हुन् ।
‘मकैको खेती’ पुस्तकको प्रामाणिकता नभएका कारण जनश्रुतिलाई स्रोत मान्नुपर्ने बाध्यता छ । समकालीनहरूले जति पढे, सम्झे, देखे, उनीहरूमार्पmत नयाँ पुस्तामा हस्तान्तरण भएको हो । त्यतिबेला उनका पुस्तकका विषयमा लेख्नु र बोल्नु भनेको कृष्णलालको नियति भोग्नुहुन्थ्यो । जति बोले, त्यसको न्यूनीकरण गरेर बोले । चन्द्रशमशेरकै अपेक्षाअनुसार बोले÷लेखे । नक्कली ‘मकैको खेती’ पुस्तक त्यसको निरन्तरतामा आएको देखिन्छ । त्यो पुस्तकको भूमिकामा केवल हामी अझै विदेशी कुकुरहरूको धेरै मान गर्दछौँ तर चोर र डाँकाहरूबाट हाम्रो रक्षा गर्ने बखत गद्दीमा सुत्ने विदेशी कुकुर काम नलागी स्वदेशी कुकुरहरू नै काम लाग्छन् भन्ने उल्लेख भएको बताइन्छ । त्यसैगरी ‘मकै खाने रातो टाउके र कालो टाउके’ कीराको उल्लेख गरिएको उक्त पुस्तकका अनेक स्थानमा ‘बालकलाई आमाको द्ूधले जस्तो चन्द्रोदयले फाइदा गर्दैन’ र ‘१९०३ सालदेखि राक्षसहरूको प्रवेशले नेपालमा अनिकालै अनिकाल परेको’ भनिएको पनि बताइन्छ । यी भनाइहरू सिधै विद्रोही वाणी देखिन्छन् । राणाहरू र अङ्ग्रेजहरूका विरुद्ध विद्रोही स्वरका रूपमा आएका कारण राणाशासक चन्द्रशमशेर आक्रोशित भए । कृष्णलाललाई जेलमा औषधि र खाना नदिई तड्पाएर मारे ।
१९७७ साउन ११ गते गिरफ्तार गरिएका कृष्णलाललाई मुख्तियार भीमशमशेरको दरबार टङ्गालको गारतमा कैद गरियो । छापिएका एक हजार थानमध्ये ९९९ थान जलाइयो । एक थान पुस्तक नभेटिएवापत थप ३ वर्ष सजाय भयो । प्रकाशनकार्यमा सहयोग गरेको भनेर शम्भुप्रसाद ढुङ्गेल, ऋषिभक्त उपाध्याय, दुर्गानाथ अधिकारी, कृष्णचन्द्र अर्यालसहित ९ जनाको रोजगार खोसियो । मुद्दा १९७७ साउन ११ गतेदेखि ७ दिनसम्म चलेको थियो । कृष्णलाललाई ९ वर्ष कैद सजाय भएको थियो । सो घटनाका सन्दर्भमा डा. राजेश गौतम भन्छन्, “चन्द्रशमशेर लेखक र कविहरूले जागरण दिने, राष्ट्रिय भावना प्रचार गर्ने र राणा विरोधी भावना ल्याउनेजस्ता लेखहरू प्रस्ट र अप्रस्ट रूपले नलेखून् भनी उनीहरूलाई तर्साउन र आफ्नो मुट्ठीमा उनीहरूको विचार कैद गर्न चाहन्थे । कारण त्यतिखेर शिक्षा–आर्जनका निमित्त भारत गएका केही युवकहरूले त्यहाँ चलेको अङ्ग्रेज विरोधी भावनाको प्रभाव पनि साथमा बोकेर ल्याए । केही पत्रिकाहरू प्रकाशित गरी सामाजिक र धार्मिक चेतना ल्याउने प्रयास पनि उनीहरूबाट हुँदै थियो तर चन्द्रशमशेर यस किसिमको परिस्थिति सिर्जना हुन दिने पक्षमा थिएनन् । अझ उनले आफ्नो निहीत स्वार्थ र उद्देश्य पूरा गर्न ‘मकैपर्व’ को घटना घटाए ।

जनचेतनाको गला रेट्नु नै ‘मकैपर्व’ को उपादेयता थियो भन्ने स्पष्ट हुन आउँछ । त्यस घटनाका कारण सिर्जनात्मक काम र लेखनकार्य निरुत्साहित भएर गयो । चेतनाको गला रेटेर राणाहरूले आफ्नो आयु लम्ब्याउने सपना देखे । त्यसो गर्न र आतङ्कको प्रचार गरेर राज्यको प्रभाव कायम गर्नकै लागि नियोजित रूपमा ‘मकैपर्व’ गराइएको देखिन्छ ।
लेखक तथा कवि कृष्णलाल प्रगतिशील सोचाइ भएका सर्जक थिए भन्न सकिन्छ किनकि त्यसबेलाको अन्धकार युगमा सबैको भलो चाहनु र त्यसका लागि त्यस्तो जोखिम मोल्नु सामान्य विषय थिएन । त्यसबेलाको सङ्कीर्ण सामन्ती समाजमा अर्काका लागि, देशका लागि केही गर्ने भावना जागृत हुनु आफैँमा प्रगतिशील चिन्तनको परिणाम हो । एकातिर कृष्णलालको महिमाबाट तर्सिएका शासक चन्द्रशमशेरले घटनालगत्तै नक्कली ‘मकैको खेती’ प्रकाशित गरेर त्यसको न्यूनीकरण गर्न खोजे । २००७ सालपछि कृष्णलालका सकारात्मक पक्षहरू प्रकाशमा आउन थाले तर कतिपय लेखकहरूको धारणा हेर्दा उनलाई अलौकिकता प्रदान गर्न खोजेको पनि देखिन्छ । त्यसो गर्र्दा पनि प्रकारान्तरले कृष्णलालको व्यक्तित्व र कृतित्वप्रति विभ्रम उत्पन्न हुन जान्छ । त्यसैले, यथार्थको सही प्रकटीकरण आवश्यक छ । कृष्णलाल नेपाली प्रगतिशील चेतना प्रवाह गर्ने कार्यमा संलग्न एकजना देशभक्त, समाजसेवी र प्रगतिशील स्रष्टा थिए । त्यसअर्थमा उनले प्रथम साहित्यिक सहिदको गौरव प्राप्त गरेका छन् ।

२०७५ असाेज ९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :