क्रान्तिकारीहरूलाई थुनेर कति साध्य हुन्छ, यो सकिने विषय होइन

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ सँग समसामयिक विषयमा रातो खबरका भिम चापागाईको सहयोगमा गुणराज लोहनीले लिनुभएको अन्तर्वार्ताको मुख्य अंश

»» अहिले नेपालमा आफूलाई वामपन्थी भन्ने दुईवटा पार्टी मिलेर पछिल्लो समयमा एउटै पार्टी बनेका छन्, सरकार छ । सरकारले छ महिना पार गरी सातौँ महिना लाग्दैछ । यो क्रममा समग्र परिस्थितिको मूल्याङ्कन कसरी गर्नुभएको छ ।

ठ्याक्कै अब सरकारमा गएका पार्टीहरूसँग यो प्रश्न जोडिन्छ, एउटा मूल पक्ष र यी पार्टीको सरकार जुन परिवेशमा बन्यो त्यो अनेकौँ जनआन्दोलन र १० वर्षको महान् जनयुद्धको प्रक्रियाबाट अघि बढ्दै गर्दा संविधानसभाको निर्वाचन संविधानसभामा लोकतान्त्रिक गणतन्त्रको संविधान स्वीकार गरेको शक्ति एमाले र माओवादी केन्द्रको मूलतः अहिलेको एकताको परिस्थिति अनि अहिले बनेको यो पार्टी जसलाई कम्युनिस्ट पार्टी भन्ने नाम दिइएको छ र जसको सरकार छ, वाम सरकार भनिएको छ र यो सन्दर्भमा एकातिरबाट त जनतामा एउटा पर्याप्त भ्रम उत्पन्न हुँदै आएको हो । यी सच्चा कम्युनिस्टहरू हुन् भन्ने किसिमको, उनीहरूले समाजवादको कुरा पनि गरे देशको समृद्धि र सुखी नेपाल बनाउने कुरा पनि गर्दै आए । तर यतापट्टि आउँदाखेरि छ महिनादेखि अहिलेसम्मको जुन यहाँले यी कुराहरू गर्नुभयो यो सबै स्थिति हेर्दा सरकारमा रहेका पार्टीहरू असफल भएका छन् ।

सरकारको जुन ओज र गरिमा हो त्यो अत्यन्तै खस्किँदै गएको छ र खासगरी राष्ट्रियताको कुरा गर्दा राष्ट्रिय स्वाधीनता रक्षाको प्रश्नमा कुनै नयाँपन छैन । एउटा वैदेशिक प्रतिक्रियावादी शासकवर्ग र साम्राज्यवादीसँग झुक्दै आइरहेका छन् । सीमा समस्याको कुरा आज पनि त्यत्तिकै गम्भीर विषय बनेको छ । हामीलाई थाहा भएकै विषय हो– कालापानीलगायत देशका विभिन्न ठाउँमा समस्या छ । यो विषयमा सरकार गम्भीरतापूर्वक बोल्दैन, यो स्थिति छ । नागरिकताको समस्या पनि गम्भीर छ । सीमा अतिक्रमण भैरहेको छ । यसैगरी जलस्रोत विदेशीलाई सुम्पिने काम भएको छ । जनअधिकारको कुरा गर्दा कुरा त सबै गरिन्छ, मौलिक अधिकारका कुरा सबै गरिन्छ, आखिरमा त्यही पुरानो संसदीय ब्यवस्थाको पुनरावृत्ति भएको हुनाले खासगरीकन एकातिर पूरै जनताहरू मजदुर, किसान, महिला, दलित, आदिवासी, जनजाति, मधेसीहरूको हकहित स्थापना हुन सकेको छैन ।

त्यसमा पनि अत्यन्तै विपन्न वर्गका लागि संसदीय व्यवस्थामा भनिने गरेको समानता र भातृत्वका कुरा त्यो समानता बिलकुलै छैन । तल्लो तहको वर्गको हालत खराब छ । हरुवा, चरुवा, हली, गोठालाको अवस्था खराब छ । यो लोकतन्त्रमा जनताका हकअधिकारहरू दमित हुँदै आइरहेका छन् । भूकम्प पीडितको समस्या विकराल छ । पत्रकारहरूका हकअधिकारहरू खोसिँदैछ । पत्रकारहरूका समस्या गम्भीर बनेका छन् र त्यसमा पनि अझ जनजीविकाका समस्याहरूका बारेमा कुरा गर्ने हो भने त जति सुखी र समृद्धिका कुरा गरे पनि स्थिति गम्भीर छ र झन्डै १३ खर्बजति व्यापार घाटा छ । तीन करोड जनसङ्ख्यामा एक करोड जनसङ्ख्या त रोजगारीका लागि विदेशमै छ । यहाँ विकास र समृद्धिका कुरा गरे पनि न विकास भएको छ, न त समृद्धि भएको छ । सङ्क्षिप्तमा भन्नुपर्दा यो सरकारका विगतका छ महिनामा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका क्षेत्रमा यो सरकार पनि उही पुरानै किसिमको सरकार हो । यो एउटा सामन्त वर्ग, दलाल पँुजीपति वर्ग र नोकरशाही वर्गको सरकार हो भन्ने कुरा प्रस्ट हँुदै गएको छ ।
अब यहाँले भनेजस्तै दुईवटा कम्युनिस्ट पार्टी मिलेर एउटा पार्टी बनेको छ । तिनीहरूको सरकार बनेको छ । एउटा झापा विद्रोहबाट आएको कम्युनिस्ट पार्टी र सशस्त्र जनयुद्धबाट आएको पार्टीका मुख्य नेताहरू मिलेर बनेको पार्टीको सरकारको अवस्था यस्तो हुनुको कारण के होला ? अथवा यो सरकारले केही काम गर्न नसक्नुको कारण के होला ?

उहाँहरूले त भन्नुभयो क्रान्ति भैसक्यो तर वास्तवमा क्रान्ति भएको छैन । पुरानो राज्यसत्ता यथावतै छ जुन सत्ता दलाल नोकरशाह र सामन्त वर्गको राज्यसत्ता हो । हिजो जुन संसदीय व्यवस्थाका विरुद्ध लड्दै आएका थियौँ अहिले त्यही संसदीय व्यवस्था कायम छ । यो सरकारले आफूलाई वाम र कम्युनिस्ट भने पनि यो पुरातनपन्थी प्रवृत्तिकै नेतृत्व गर्ने सरकार हो । कुनै पनि आर्थिक, राजनीतिक परिवर्तन भएको छैन । पुरानै पश्चगामी बाटोतिरै यो सरकार गैरहेको छ ।

»» अहिलेसम्म आउँदा यो सरकारको स्थिति के देखापरेको छ भने हिजोका सरकारहरूभन्दा अझ बढी बदनाम भएर गएको देखिन्छ । तपाईंले भनेजस्तै पछिल्लो क्रममा महिलाहरूमाथि बलात्कारका घटना भइरहेका छन् । महँगी र भ्रष्टाचार बढिरहेको छ । पछिल्लो समयमा त सामान्य संविधानमा लेखेको कुरा पनि गर्न नदिने वातावरण बनिरहेको छ । हिजो झापा विद्रोहबाट आएका केपी ओली र १० वर्षको जनयुद्धबाट आएका प्रचण्ड यति धेरै खराब हुनुको कारण त सामान्य होइन नि ? यहाँ त पुँजीवादी सुधार पनि देखिएन ?

यहाँले भन्नुभएको कुरा सत्य हो । अहिलेका समस्या धेरै जटिल छन् । भ्रष्टाचार बढिरहेको छ । हत्या, हिंसा, बलात्कारका घटना बढिरहेका छन् । गरिबी व्याप्त छ । यी चीजहरूका बारेमा थोरै पनि राहत दिने काम सरकारले गरेको छैन । राहतभन्दा पनि जनताको जीवन झन् कष्टकर भैरहेको छ । सामान्य खालका सुधारका काम पनि भएका छैनन् । यसले गर्दा पनि सरकार दिनप्रतिदिन बदनाम बन्दै गैरहेको छ । यो सत्य हो ।

»» यस्तो बेलामा यस्तो परिस्थिति एकातिर जनतालाई कम्युनिस्टको नेतृत्वमा सरकार बनेको छ भन्ने भ्रम छ, अर्कोतिर सरकारले नकारात्मक काम मात्र गरिरहेको छ । क्रान्तिकारी भन्नेहरूले पनि खासै नयाँ काम गरेको देखिँदैन । यस्तो बेला यहाँहरूको पार्टी के गरिरहेको छ ?

समग्र परिस्थितिको मूल्याङ्कन गर्दा के हो भने वस्तुगत परिस्थिति आन्दोलनको रूपान्तरणका लागि वस्तुगत अवस्था तात्दै गएको जस्तो देखिन्छ । तर के हो भने त्यसको तुलनामा एउटा आत्मगत शक्ति असाध्यै कमजोर छ । त्यो शक्ति कमजोर छ भन्नुको पछाडि के कारण हो भने जुन सरकारमा गएका छन् । सत्तामा गएका छन् । उनीहरू एउटा कम्युनिस्टको नामबाट सरकार अथवा सत्तामा गएका छन् । उनीहरूले झापा विद्रोह १०, बर्से जनयुद्धको ब्याज मात्र खाएका छन् र आमजनताले के बुझेनन् भने जनताले कम्युनिस्ट भनेर भोट हालेका थिए । तर उनीहरू खासमा कम्युनिस्ट थिएनन् । जनताले त यिनीहरूलाई कम्युनिस्ट भनेर भ्रममा भोट हालेका हुन् । अर्कोतिर के हो भने अहिले क्रान्तिकारी शक्ति कमजोर छ । कमजोर भन्नुको अर्थ विगतमा जनयुद्ध भयो त्यसले गम्भीर धक्का खायो । नेतृत्वले ठूलो धोका दियो । त्यो अवस्थामा के हो भने जनताको पनि र कार्यकर्ताको पनि मथिङ्गलमा आन्दोलनप्रति अविश्वास र आशङ्का पैदा भएको छ । यी चीजहरूलाई चिरेर अघि बढ्नुपर्ने आवश्यकता छ । यो अवस्थामा हाम्रो पार्टीले विगतको मूल्याङ्कन गर्दै हाम्रा कमजोरी र सीमाहरूको पनि समीक्षा गर्दै फेरि एउटा क्रान्तिका लागि तयारी गर्नुपर्दछ भनेर हामी क्रान्तिको तयारीको दिशामा अगाडि बढिरहेका छौँ । अर्को कुरा अब के छ भने अगाडि बढ्नको निम्ति एक्लाएक्लै होइन, सच्चा क्रान्तिकारीहरूबीचमा एकता आजको ऐतिहासिक र अपरिहार्य आवश्यकता बन्न पुगेको छ । यस दिशामा ध्यान दिनुपर्दछ भनेर हामीले विभिन्न किसिमका कम्युनिस्ट क्रान्तिकारीहरूसँग एकताको प्रयत्न गरिरहेका छौँ । त्यो शक्ति बलियो बनाएर जाऔँ भन्ने दिशातिर पनि हामी लागिरहेका छौँ ।

»» तपाईंले पार्टी एकताको प्रसङ्ग निकाल्नुभयो । केही महिनापहिले पनि चारवटा कम्युनिस्ट पार्टीका बीचमा एकता गर्ने कुरामा छलफल गर्नुभएको थियो । त्यो प्रक्रिया अहिले कहाँ पुगेको छ ?

पार्टी एकताको कुरा गर्दा सा मान्यरूपमा हामीले सबै क्रान्तिकारीहरूलाई गोलबन्द गर्दै जाने, त्यसमा पनि विप्लवजीले तेतृत्व गर्नुभएको नेकपा, ऋषि कट्टेलले नेतृत्व गरेको नेकपा, मोहनविक्रम सिंहले नेतृृत्व गरेको नेकपा (मसाल) र हाम्रो पार्टीसहितका पार्टीहरूबीच ठोस पहल गरौँ भनेर हामीले सुरु गरेका हौँ । यो प्रक्रियामा मोहनजीहरूले त्यति चासो देखाउनुभएन । अहिले हाम्रा धेरै कुरा मिल्दैनन् । त्यसैले पार्टी एकता अहिले सम्भव छैन भन्ने हिसाबले उहाँहरू जानुभएको छ । उहाँहरू अहिले यही सरकारको नजिकनजिकतिर गैरहेको अवस्था छ । त्यसकारण हामीले उहाहरूसँग एकताको सम्भावना देखेनौँ । उहाँहरूसँग पार्टी एकता गर्ने कुरा ब्रेक भैसकेको छ । अर्कोतिर के हो भने हामीले विप्लवजीले नेतृत्व गरेको पार्टी नेकपासँग एकताको प्रयास गरेका छौँ । यो प्रसङ्गमा हाम्रा कुराकानी पनि भएका छन् । तर के हो भने हाम्रो पनि अझै ठोस र मूर्त रूपमा काम अघि बढ्न सकेको छैन । तर त्यो दिशामा अलि पहल गर्नुपर्छ भन्ने हामीलाई लागिरहेको छ । जहाँसम्म ऋषि कट्टेलजीहरूसँगको कुरा हो उहाँहरूसँग पनि हामीले कुराकानी गरिरहेका छौँ । उहाँहरू पनि एकताप्रति सकारात्मक देखिनुहुन्छ । हाम्रा केही विषयमा कुराकानीहरू बाँकी छन् ।

»» त्यसो भए तपाईंहरूबीच बहस र छलफल भैरहेको हो ?

त्यो पार्टी एकताको कुरामा हामी छलफलमा छौँ भने कार्यगत एकताको सवालमा आवश्यकताअनुसार गर्दै आएका छौँ र आवश्यकताअनुसार गर्दै जानुपर्दछ । कार्यगत एकताका विषयमा कुनै विवाद छैन ।

अहिले पार्टी एकताको महत्व झन् बढेको छ । सरकारका बारेमा बाहिर जसरी कुरा आएका छन् । जनताका समस्याहरूको कुरा जसरी उठिरहेको छ । भखैरै निर्मला पन्तको बलात्कारको विषय जटिल बन्दै गएको छ । यो बेलामा के छ भने क्रान्तिकारी पार्टीहरूले आफ्नो धारणा किन बाहिर ल्याउन सकिरहेका छैनन् भन्ने छ ?
कञ्चनपुरमा निर्मलामाथि जुन बलात्कार र हत्याको घटना भयो त्यो घटनाका दोषीहरूलाई पक्राउ गरेर कारबाही गर्नेभन्दा पनि सरकार गलत ढङ्गले गैरहेको छ । यसका बारेमा हामीले हाम्रा धारणा बाहिर ल्याइसकेका छौँ । यस्तो घटनाका दोषीहरूलाई कारबाही गर्नुपर्दछ यस्ता घटना नदोहोरिऊन् भन्ने हाम्रो कुरा हो । तर के हो भने कार्यगत एकता गरेर जाने काम भएको छैन । बरु यस विषयमा गम्भीर भएर लाग्नुपर्ने अवस्था हो ।

»» कालापानीको नक्सालाई लिएर अहिले विवाद आएको छ नि, सरकारले आधिकारिक तरिकाले नक्सा बनाएको छैन । यसका बारेमा के भन्नुहुन्छ ?

कालापानीको प्रश्न उठाउनुभयो यो धरै गम्भीर प्रश्न हो । यो पहिलो देखिकै समस्याको विषय हो । यस विषयमा सरकार गम्भीर बनेको देखिएन । नक्सा बनाउने प्रक्रियामा भारतले जुन नक्सा बनाएको छ । त्यही नक्साहरू नेपाल सरकारका विभिन्न सरकारी कार्यालयहरूमा टाँगिन्छन् । अहिले जुन नक्सा आएको छ । त्यो नक्सामा नेपाल सरकारको निसानछाप नै नहुने विषय जटिल र गम्भीर विषय हो । हामीले यस विषयमा पनि सार्वजनिक वक्तव्यमार्फत विरोध गरेका छौँ । भखैरै मात्र हामीले एउटा सानो कार्यक्रम गरेका छौँ । यो गलत हो भनेर यसका विरुद्ध आवाज उठाएका छौँ । राष्ट्रिय स्वाधीनताको रक्षा र कालापानीको प्रसङ्गलाई लिएर हामीबीचको कार्यगत एकता अवथा संयुक्त मोर्चालाई नयाँ उचाइमा उठाउनु पर्दछ । यो आवश्यकता टड्कारो बनेको छ ।

»» अब प्रसङ्ग बदलौँ, १० बर्से जनयुद्धको प्रचण्डको नेतृत्वमा भयो । त्यसको एउटा योजनाकार र तपाईं पनि हुनुहुन्छ । प्रचण्डसँगको तपाईंको लामो सहकार्यको अनुभवमा अझ भनौँ मोटो मशाल बन्दादेखिकै सहकार्यको अनुभवमा प्रचण्ड अहिले क्रान्तिको प्रक्रियाभन्दा यति धेरै टाढा पुग्नुको कारण के होला ?

एउटा अप्ठेरो कुरा के रहेछ भने मान्छेका बारेमा विश्लेषण गर्न धेरै गारो रहेछ । सुरुका दिनमा भन्दा खेरि प्रचण्ड र हाम्रो विचार मिल्थ्यो । उहाँ यसरी कसरी परिवर्तन हुनुभयो भन्ने विषयमा कुरा गर्दा उहाँभित्र एउटा निम्नपुँजीवादी मनोवृत्ति होला भन्ने लाग्छ । यो मनोवृत्ति के हो भने जसले आफूलाई मनैदेखि परिवर्तन गर्न सक्छ । उहाँ कहिलेकहीँ के भन्नुहुन्थ्यो भने पछि आएर म लेफ्ट–राइट जता पनि जानसक्छु भन्ने गर्नुहन्थ्यो । उहाँलाई त्यतिका धेरै बुझ्न सकेका थिएनौँ अब लेफ्टको कुरा छोड्नुहोस् । उहाँ त अब गम्भीर दक्षिणपन्थी विचलनमा पर्नुभयो । यो हेर्दा विचित्र लाग्छ । उहाँको एउटा विशेषता के हो भने प्रचण्डलाई आफू गलत बाटोमा गएको कुरा पनि थाहा छ । उहाँको विशेषता के देखापर्दछ भने पुरानै लोकततन्त्रको संविधान बन्यो, त्यो बनिसकेपछि हाम्रो कुरा के हो भने त्यसका केही कुरा सङ्घीयता, समानुपातिकलगायत केही कुरा सही छन् । तर सारमा के हो भने यो संसदीय ब्यवस्थाले यो पुरानै प्रकारको लोकतान्त्रिक व्यवस्था हो । यसले पुरानै राज्यसत्ताको प्रतिनिधित्व गर्दछ भन्ने कुरा क्लियर छ । हामीले बारम्बार यो कुरा उठाउँदै आएका हौँ । उहाँ जुन तहमा खस्केर तल जानुभयो यसलाई युगान्तकारी छलाङ भन्नुहुन्छ । उहाँको विशेषता त्यो रह्यो । यो कुरा पहिलो उहाँलाई थाहा भएन । खास कुरा के हो भने कुनै समयमा खास व्यक्तिले राम्रो काम गरे पनि अर्को कुनै समय र परिवेशमा जाँदा परिवर्तन हुन सक्दोरहेछ भन्ने कुरा देखियो । यो सामन्तवादी मनोवृत्ति हो । यस्ता घटनाहरूबाट पाठ सिक्न जरुरी छ ।

»» जनयुद्ध कालमा उहाँका केही त्यस्ता विशेषता थिए ?

मान्छेमा सामान्य प्रकारका कमीकमजोरी भइहाल्छन् । त्यसलाई सच्याउँदै रूपान्तरण गर्नुपर्दछ । शतप्रतिशत कोही पनि कम्युनिस्ट छैन । यस विषयमा हामीले कसैलाई केही भन्ने विषय पनि भएन । त्यतिबेला त्यस्तो उल्लेख गर्न लायक कमजोरी देखेनौँ । म तीन वर्ष भारतमा जेलमा बसेँ । त्यतिबेला परिस्थिति घनीभूत ढङ्गले अघि बढ्यो । यसको अभिव्यक्ति पछि चुनबाङ बैठकमा देखाप¥यो । उहाँप्रति साथीहरूको अपार विश्वास थियो, नेतृत्वले गल्ती गर्दैन भन्ने विश्वास । उहाँको नियोजित रूपमा संसदीय व्यवस्थामा अवतरण गराउने उद्देश्य रहेछ । यो कुरो थाहा भएन । केही आशङ्का थियो । केही समयसम्म अन्तरसङ्घर्ष चल्यो । पछिल्लो समयमा यो कुरा थाहा भयो । अब यसको मूल्याङ्कन इतिहासले गर्ने हो । अरूले गर्ने हो । मैले यो घटनालाई लिएर यही भनेर भन्न मिल्दैन ।

»» विप्लव नेतृत्वको नेकपालाई सरकारले एक खालको प्रतिबन्धजस्तो लगाएको छ । राज्यले यस्तो गरिरहेको विषयप्रति यहाँको धारणा के छ ?

यो त अलि विचित्रजस्तो लाग्छ । हिजो हामी सँगै हुँदा जुनजुन चीजको विरोध गरेका थियौँ आज उहाँहरू सरकारमा गएपछि त्यही काम गर्दै गइरहनुभएको छ । पञ्चायती शासकहरू पनि सरकारमा हुँदा यस्तै काम गर्थे, एमाले र काङ्ग्रेसीका सरकारले पनि यस्तै काम गर्थे । १० बर्षको जनयुद्धलाई दबाएको इतिहास हामै्र अगाडि छ । घुमिफिरी आउँदाखेरि उहाँहरूले पनि त्यही गर्नुभयो । यो सबैले बुझेकै कुरा हो । पहिलो कुरा यो हो । दोस्रो कुरा के हो भने यो सरकार कम्युनिस्ट हो, हामी वामपन्थी हौँ भनेर उहाँहरूले जुन भनिरहनुभएको थियो यी गतिविधिहरूले उहाँहरू कम्युनिस्ट होइन भन्ने कुरा जनतालाई बुझ्न मद्दत पुगेको छ जस्तो लाग्छ । जहाँसम्म विप्लव नेतृत्वको नेकपामाथि गरिएको दमन र गिरफ्तारीको विषय छ हाम्रो पार्टीले त्यसको विरोध गर्दै आएको छ । उहाँहरूको पार्टीका नेता–कार्यकर्तालाई गरिएको गिरफ्तारी गलत कार्य हो, रिहा गर्नुपर्छ भन्दै आएका छौँ । गिरफ्तारीको विरोध गर्दै आइरहेका छौँ । यो सरकारको स्वरूप र चरित्र के हो भने यस्ता गतिविधि गर्ने सरकार वाम र कम्युनिस्ट सरकार हुन सक्दैन । त्यो पश्चगामी सरकार हो भन्ने प्रमाणित भएको छ । यसमा दुःख मान्नुपर्ने विषय छैन । क्रान्तिकारीहरूलाई थुनेर कति साध्य हुन्छ, यो सकिने विषय होइन ।

»» क्रान्तिकारी शक्तिहरूले के गर्दा ठीक होला ?

अब के गर्ने भन्दा पहिलो कुरा सिङ्गो यो पुरानो राज्यसत्ता छ । दलाल पुँजीपति वर्गको रक्षाकवचका रूपमा बनेको राज्यसत्ता, सरकार, दक्षिणपन्थी संशोधनवाद, यी सबैको भन्डाफोर गर्दै जानुपर्दछ । दोस्रो कुरा के हो भने नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै समाजवाद हुँदै साम्यवादमा पुग्ने जुन लक्ष्य हो त्यो लक्ष्य प्राप्तिका लागि दृढतापूर्वक अगाडि बढ्नुपर्दछ । तेस्रो कुरा के हो भने सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने दिशातिर ठूलो मेहनत गर्नुपर्दछ । चौथो कुरा, हामी नमिल्दासम्म विभिन्न विषयहरूलाई लिएर राष्ट्रियता, जनजीविका, हत्या, हिंसा, बलात्कार, महँगी, करजस्ता थुप्रै विषयहरूमा एकताबद्ध भएर सङ्घर्षको प्रक्रियाबाट अघि बढ्नुपर्दछ । क्रान्तिका निम्ति आत्मगत स्थिति तयार बनाएर जानुपर्दछ भन्ने लाग्छ ।

२०७५ असाेज ८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :