पुँजीवादका खराबीहरू २

 गताङ्कबाट क्रमशः ….

३. आर्थिक खराबीहरू
पुँजीवाद आर्थिक दृष्टिले पनि खराब विशेषता भएको व्यवस्था हो । आर्थिक समाज र राज्यको मूल आधार हो । आर्थिक आधारमा नै समाज र राज्यका समग्र (राजनीतिक, सामाजिक, सांस्कृतिक) संरचनाहरू खडा भएका हुन्छन् । आजसम्मको समाज विकासमा मानवजतिले चारखालका आर्थिक सम्बन्धहरू पार गरेको छ, दासयुगीन, सामन्तवादी, पुँजीवादी र वैज्ञानिक समाजवादी आर्थिक सम्बन्ध । दासयुगको आर्थिक सम्बन्धले दास–मालिकहरूलाई, सामन्तवादी उत्पादन सम्बन्धले सामन्तहरूलाई र पुँजीवादी अर्थ–सम्बन्धले पुँजीपतिवर्गलाई सेवा गरेकाले ती राज्यका राजनीतिक, आर्थिक, सामाजिक संरचनाहरू जनताको हितअनुकूलका सम्बन्धहरू होइनन् । वैज्ञानिक समाजवादको अनुसन्धानपछि मात्र श्रमिकवर्ग र आम नागरिकहरूको हितअनुकूलको नयाँ आर्थिक सम्बन्ध विकास भयो । आज विश्वमा पुँजीवादी आर्थिक सम्बन्ध नै हाबी छ । पुँजीवाद हाबी भए पनि यसले जनता र नागरिकहरूको सेवा गर्न सकेको छैन । पुँजीवादले विश्वव्यापी रूपमा नागरिकहरूमा शोषण र लुट मात्र थोपरिरहेको छ । पुँजीवादले विश्वमा लादेका ती आर्थिक खराबीहरू निम्न रहेका छन् :
(क) भूमण्डलीकृत
(ख) अति–एकाधिकार
(ग) अति–केन्द्रीकरण
(घ) निगम चरित्र
(ङ) निजी स्वामित्वकेन्द्रित
(च) अत्यधिक श्रम–शोषण
(क) भूमण्डलीकृत
पुँजीवादको आर्थिक क्षेत्रमा रहेको खराबी यसको भूमण्डलीकृत चरित्र हो । सामान्यतः पुँजीवादको चरित्र अतिक्रमणकारी र अन्तर्राष्ट्रिय नै हुन्छ । परन्तु, २१ आैँ शताब्दीमा प्रवेशसँगै यो तीव्र रूपमा भूमण्डलीकृत बन्न पुगेको छ । विगतका सम्पूर्ण सीमाहरूलाई भत्काउँदै, तन्काउँदै र बहुआयामिक बनाउँदै विश्वभर फैलिँदै गएको छ । यसले आफ्नो विकास, विस्तार, रक्षाका लागि सम्पूर्ण तरिकाहरूलाई प्रयोग गरिरहेको छ । उदाहरणार्थ, सरकारी, गैरसरकारी, व्यक्तिगत, संस्थागत, संयुक्त, एकल अनेकाँै तरिकालाई प्रयोग गरिरहेको छ । आफ्नो पक्षमा विज्ञान र प्रविधिलाई उत्तम सहयोगी बनाउन पुगेको छ । पुँजीवादी आर्थिक क्षेत्र भूमण्डलीकृत हुन पुग्नु भनेको पुँजीको शोषण, उत्पीडन र लुट भूमण्डलीकृत हुनु भनेको पनि हो । यो कतिसम्म गतिशील छ भने फाइदा छ जुनसुकै समयमा जुनसुकै कुनामा पनि पुग्न तयार छ; फाइदा छैन भने सुविधा सम्पन्न स्थानबाट पनि तुरुन्तै अन्त हिँडिहाल्छ । आज हामीले आर्थिक सूचनाहरूलाई केन्द्रित गरेर हे¥यौँ भने थाहा हुन्छ– विश्वमा ५ सय कम्पनी र निगमहरू विश्वका अधिकांश देशमा पुगेका छन् । यी संस्थाहरू कुनै एक देशका मात्र पनि छैनन्, पुँजीवादीहरू पनि संयुक्त रूपले पुँजीलाई भूमण्डलीकृत गर्नेमा लागिरहेका छन् । यसको अर्थ हुन्छ– विश्वको ठूलो जनसङ्ख्यालाई थोरै पुँजीवादीहरूले विश्वव्यापी रूपमा शोषण गरिरहेका छन् । भूमण्डलीकृत पुँजीको लुटमा सिङ्गो भूमण्डल पर्न पुगेको छ । विशेषतः भूमण्डलीकृत पुँजीको लुटमा कमजेर र विकासोन्मुख देश र ती देशका नागरिकहरू परिरहेका छन् ।

(ख) अति–एकाधिकार

एकाधिकार भनेको आर्थिक उत्पादन, बजर र मुनाफामा एकलौटी नियन्त्रण कायम गर्नु हो । प्रतिस्पर्धात्मक पुँजीवादलाई अन्त्य गर्दै साम्राज्यवादको विकास भएपछि पुँजीवादको यो चरित्र बन्न पुगेको हो । ठूलो पुँजीको निर्माण, विशाल उद्योगको विकास, ठूलो स्तरको माल उत्पादन र बजरमा एकलौटी नियन्त्रण, बजर नियन्त्रणका लागि राज्यसत्ताको प्रयोग गर्नु, राज्यका नियम–कानुन सबै आफूअनुकूल निर्माण गर्नु, प्रतिस्पर्धात्मक गुण निषेध गर्नु र युद्ध सञ्चालन यसको विशेषता हो । विश्वमा एकाधिकार पुँजीवादको विकास भएपछि विश्व अर्थतन्त्रमा मुट्ठीभर पुँजीपतिवर्गको हातमा पुँजी, उत्पादन र बजर नियन्त्रित हुन पुगेको छ । पुँजीको राष्ट्रिय चरित्र मासिँदै साना, मझौला र कम विकसित राष्ट्रहरूका साना, मझौला एवम् राष्ट्रिय उत्पादनहरू समाप्त हुँदै गएका छन् । उनीहरूले ठूलो र एकाधिकारवादी पुँजीसँग प्रतिस्पर्धा गर्न नसक्दा राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय विकासबाटै वञ्चित हुने स्थिति आएको छ । आत्मनिर्भर अर्थ–सम्बन्ध तहसनहस हुँदै गएको छ । एकाधिकार पुँजीको प्रभावले गर्दा जबर्जस्त दलाल पुँजीको विकास भइरहेको छ । कमजेर र विकासोन्मुख राष्ट्रहरू सम्पूर्ण क्षेत्रमा परनिर्भर र पराश्रित बन्दै गइरहेका छन् । आधुनिक वस्तुहरू मात्र हैन, दैनिक उपभोगका (चामल, पिठो, दाल, तेल, तरकारी आदि) वस्तुमा पनि बाहिरको भर पर्नुपर्ने भएको छ । पछिल्लो तथ्याङ्कअनुसार जम्मा ८५ जनाको हातमा विश्वको आधा जनसङ्ख्याबराबरको सम्पत्ति जम्मा हुन पुग्नु यसैको उदाहरण हो ।

(ग) अति–केन्द्रीकरण

अति–केन्द्रीकरण पुँजीवादको खराब चरित्र हो । अति–केन्द्रीकरण गर्नु भनेको पुँजीको स्वामित्व सीमित व्यक्ति र संस्थाको हातमा पुग्नु हो । साम्राज्यवादको विकासले यसलाई पैदा गरेको हो । आज पुँजीको केन्द्रीकरण मात्र नभएर अति–केन्द्रीकरण हुन पुगेको छ । देशको अर्थतन्त्र केही व्यक्ति र निगमको हातमा पुग्नु अनि विश्वको अर्थतन्त्र विश्वका केही निगम र व्यक्तिको हातमा पुग्नु यसको विशेषता हो । विश्व बैङ्क, विश्व मुद्राकोष, मुट्ठीभर वित्तीय संस्था, निगमहरू र कम्पनीहरूको हातमा विश्वको अर्थतन्त्रको नियन्त्रण हुनु यसको उदाहरण हो । विश्वका १ प्रतिशतको हातमा बाँकी ९९ प्रतिशतको सम्पत्तिभन्दा धेरै सम्पत्ति पुग्नु, ८५ जना खर्बपति मालिकको हातमा विश्वको आधा जनसङ्ख्या बराबरको सम्पत्ति थुप्रिन पुग्नु, एकातिर खर्बपतिको सङ्ख्या थपिँदै जनु वा थोरै पुँजीपतिको हातमा पैसा जम्मा हुन पुग्नु, अर्कोतिर विश्वको ठूलो जनसङ्ख्या मान्छेलाई चाहिने आधारभूत आवश्यकताबाट पनि बाहिर पर्दै जनु यसको नमुना हो । अर्थतन्त्रको यो चरित्रले गर्दा मानव–समाजमा असाध्यै विषमता र समस्या उत्पन्न गरिरहेको छ । नागरिकलाई एक गाँस खान र एउटा सिटामोल पाउने स्थिति छैन, अर्कोतिर समाल्नै नसक्ने पुँजीको थुप्रो लाग्न पुगेको छ । पुँजी मानव आवश्यकता र जीवनको समृद्धिका लागि नभएर विभेद र विपत्ति ल्याउने वस्तु भएको छ । यो पुँजीको अति–केन्द्रीकरणले ल्याएको समस्या हो ।

(घ) निगम चरित्र

निगम पुँजीको विकास पछिल्लो समयको पुँज्ीवादी आर्थिक विशेषता मानिन्छ । निगम पुँजी भनेको पुँज्ीको सङ्केन्द्रित, एकीकृत र बहुआयामिक रूप हो । यसले पुँजीपतिवर्गको पुँजीको रक्षा, उत्पादन, बजर परिचालन र मुनाफालाई नयाँ स्तरमा विकास गरिदिएको छ । यो कति केन्द्रीकृत छ भने वित्तीय संस्था, बजर, उद्योग, प्रविधि, शिक्षा, स्वास्थ्य, सूचना–सञ्चार सबैलाई नियन्त्रणमा लिँदै गएको छ । यसले अर्थतन्त्रलाई चौतर्फी रूपले आफ्नो नियन्त्रणमा लिनुको कारण यसलाई ‘पुँजीको राक्षस’ पनि भन्न मिल्छ । हरेक वस्तुलाई मुनाफाको कोणबाट निर्माण गर्ने, पुँजीपतिलाई कम जेखिममा राख्ने, मुनाफाका लागि राज्यलाई समेत प्रयोग गर्ने, राज्यका नियम, कानुन र विनियमहरू निगम पुँजीको आवश्यकताअनुरूप निर्माण गर्ने यसको विशेषता रहेको छ । पछिल्लो समयमा शक्ति राष्ट्रका राजनीतिक नेतृत्वसमेत निगम पुँजीको प्रभावद्वारा अस्तित्वमा आउने, हराउने, चुनाव जित्ने र हार्ने भइरहेका तथ्यहरू बाहिर आएका छन् । उदाहरणका रूपमा अमेरिका, ब्रिटेन, रुस, भारत, जर्मनी, फ्रान्सजस्ता देशहरूका नेतृत्व निर्माणमा निगम पुँज्ीपतिवर्गको प्रत्यक्ष नेतृत्व रहिरहेका तथ्यहरू सार्वजनिक भइरहेका छन् ।

(ङ) निजी स्वामित्वकेन्द्रित

पुँजीवादी आर्थिक चरित्र निजी स्वामित्वमा आधारित हुन्छ । आर्थिक सम्बन्धलाई मानवजतिको आवश्यकता पूर्ति गर्ने र समाजिक समृद्धिका लागि नभएर पुँजीवादले निजी स्वार्थ पूर्ति गर्ने, अरूमाथि शोषण र लुट मच्चाउने, मुनाफा सोहोर्ने, निजी वैभव र मोजमस्ती गर्नेमा प्रयोग गर्दछ । पछिल्लो समयमा पुँजीवादले निजी सम्पत्तिको स्वामित्वलाई यति असीमित बनाइदिएको छ जसको न कुनै आवश्यकता छ, न त त्यसको उपयोगिता नै छ । माथि पनि चर्चा गरियो कि केही व्यक्ति एक्लैसँग यति पुँजी र सम्पत्ति छ कि कैयौँ देशहरूको सिङ्गै पुँजीभन्दा दसौँ गुणा बढी छ । केही पुँजीपतिहरूको सम्पत्ति विश्वका आधा जनसङ्ख्याको पुँजीभन्दा बढी छ । आजको मितिमा अमेरिकन धनी एउटा बिल गेट्ससँग जति पुँजी छ, त्यो नेपाल देशको पुँजीभन्दा ९ गुणा बढी छ । यो पुँजी उक्त व्यक्तिका लागि न आवश्यक छ, न त्यसको उपयोगिता नै सही प्रकारले भएको छ । केवल यत्ति चर्चा हुने हो कि उनीसँग त्यति धेरै पैसा छ । अर्कोतिर विश्वको अर्बभन्दा बढी जनसङ्ख्या गाँस, बास, शिक्षा, स्वास्थ्य, सूचनाजस्ता आधारभूत आवश्यकताबाट वञ्चित छ । असीमित निजी स्वामित्वकै कारण विश्वले अतिक्रमण, हिंसा र युद्धको मार झेल्नुपरिरहेको छ । एउटा मानव–समाज, जति र परिवार सुविधा भोग गर्न र विकासमा निकै अगाडि, उही समाज र परिवारको एउटा हिस्सा निकै पछाडि छुट्ने भइरहेको छ । निजी स्वामित्वको कारणले नै देश, समाज, परिवारले समेत एकअर्काप्रति कटुता, अनेकता, कलह, टुटफुट, झैझगडा, हिंसा भोग्नु परिरहेको छ । निजी स्वामित्वकेन्द्रित अर्थ–चरित्र पुँजीवादको साह्रै खराब रहेको छ ।

(च) अत्यधिक श्रम–शोषण

श्रमिकवर्गमाथि अत्यधिक श्रम शोषण पुँजीवादको अर्को खराब चरित्र हो । मुख्य रूपले अल्प–विकसित र कमजेर देशहरूका श्रमिकहरूमाथि यसलाई प्रयोग गरिएको छ । पछिल्लो समयमा एकाधिकार एवम् निगम पुँजीपतिवर्गले आफ्ना कम्पनी र व्यापारलाई सस्तो श्रम भएका क्षेत्रहरू (चीन, मलेसिया, दक्षिणकोरिया, फिलिपिन्स, भारत, कतार, साउदी अरब, यूएई आदि) मा सारिरहेका छन् । ती उद्योगहरूमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेशजस्ता कम विकसित देशहरूबाट श्रमिकहरू लैजने गरेका छन् । पुँजीवादी मालिकहरूले उद्योग भएका देशका दलाल शासकहरूलाई उपयोग गरेर आफूअनुकूलका कानुन, ऐन, प्रशासकहरू निर्माण गर्न लगाई श्रमिकहरूमाथि असीमित शोषण गरिरहेका छन् । कामको समय लामो बनाउनु, श्रमिकलाई दिने ज्याला कम गरेर सस्तोमा श्रम गर्न बाध्य पार्नु, श्रमिकले कम्पनीबाट पाउने सुविधा कम गर्नु, कम्पनीले गर्ने अन्यायबारे न्याय खोज्न नपाउनु, श्रमिकहरूको रोजगारी मालिकको हातमा नियन्त्रित हुनु यसका विशेषता रहेका छन् । महिला श्रमिकको हकमा यो शोषण अरू त्रूmर प्रकृतिको छ । महिला श्रमिकमाथि हुने शारीरिक, मानसिक, यौनउत्पीडन केवल महिलाका लागि मात्र लादिने फरक उत्पीडन हुन् । यो भनेको मालिकहरूद्वारा श्रमिकवर्गमाथि लादिएको अत्यधिक श्रम शोषण हो । पुँजीवादद्वारा लादिएको यो ज्यादै खराब र अमानवीय उत्पीडन हो ।

४. सामाजिक खराबीहरू

सामाजिक विशेषता मानव–समाज विकासको प्रारम्भिक आधारमध्ये एक हो । यसको विकास नै गोत्र, कबिला, जति, राष्ट्र हुँदै यहाँसम्म आएको छ । यसभित्र मानवको सामूहिकता, सहकार्य, संस्कृति, साझा जीवन पर्दछन् । दासयुग, सामन्ती युग, पुँजीवादी युग सबैमा यसका आफ्नै विशेषताहरू हुन्छन् तर पुँजीवादी व्यवस्थाको पछिल्लो चरित्रले मानवका सामूहिक र साझा विशेषताहरूलाई नराम्रोसँग भत्काइदिएको छ । मानवलाई अप्राकृतिक र अराजकतातिर धपाइरहेको छ । पुँजीवादका सामाजिक खराबीहरू निम्न रहेका छन् ः
(क) सङ्कीर्ण र सङ्कुचित
(ख) विखण्डन
(ग) अमानवीयता
(घ) विध्वंसात्मक
(क) सङ्कीर्ण र सङ्कुचित
पुँजीवादले समाजलाई साँघुरो र सङ्कीर्ण सम्बन्धमा बाँध्दै लगेको छ । मानवीय सामाज फराकिलो संस्कार र सम्बन्धमा हुर्किंदै आएको समाज हो तर पुँजीवादले निजी स्वार्थ, परिवार, गुट, समूह, जति, धर्म, भूगोल, रङजस्ता साँघुरा घेरामा समाजलाई हुल्दै लगेको छ । पुँजीवादी सङ्कीर्णताले मानवलाई व्यापक सामाजिक र राजनीतिक सम्बन्धहरूबाट क्रमशः अलग गर्दै व्यक्तिकेन्द्रित र कुनै एक समूहको विशेषतामा कैद गर्दैछ । विश्वबाट देशलाई अलग, देशबाट जतिलाई अलग, जतिबाट आफ्नो गोत्रलाई अलग गर्ने र गोत्रबाट परिवारलाई अलग गर्दै आफू र आफ्नो समूहलाई सामाजिक गुणबाट अलग गर्दै सङ्कीर्ण सम्बन्धमा विसर्जन गर्नेतिर विश्वलाई बढाइरहेको छ । जति मान्छे साँघुरो र सङ्कीर्ण घेरामा बस्न वा बाँधिन पुग्छ त्यसको चरित्र त्यति नै साँघुरो र अमानवीय हुँदै जन्छ । पुँजीवादी समाजको यो खराब सामाजिक चरित्र रहेको छ ।

(ख) विखण्डन

सामाजिक विखण्डन पुँजीवादको अर्को सामाजिक खराबी हो । विखण्डन भनेको मानवजतिको सामूहिक र साझा विशेषतालाई भत्काइदिने र एक–अर्कामा अलग–थलग गरिदिने प्रवृत्ति हो । वर्गको नाममा होस्, जतिको नाममा होस् वा धर्मका नाममा, यसले समाजलाई एकअर्काविरुद्ध विभाजन ल्याउँछ । एकआपसमा पूर्वाग्रह, सङ्कीर्णता, वैमनस्य बढाउँदै लगेर विभाजन, भिडन्त र विखण्डन पैदा गर्छ । पुँजीवादका कारणले संसारभरि यस्तै भइरहेको छ । आफू मानवीयता, स्वतन्त्रता र आधुनिकताको नारा लिएर सबैतिर पुग्ने तर भित्रभित्रै आफ्नो फाइदाका लागि मिलेर बसेका जनतामाझ विभिन्न भ्रम, दोष, विभेद सिर्जना गरिदिएर विखण्डन ल्याइदिने कार्य पुँजीवादले गरिरहेको छ ।

(ग) अमानवीयता

अमानवीयता मानव–समाजमा पुँजीवादले लादेको अर्को खराबी हो । सामान्यतः मानव–समाज निश्चित मानवीय मूल्य–मान्यतासहित सहजीवनमा हुन्छ । समाजमा आफ्नै खालका सम्बन्ध, चालचलन, संस्कार, सद्भाव, सहयोगी चरित्र हुन्छन् तर पुँजीवादको उपभोगवाद, स्वार्थी चरित्रले गर्दा ती सबै मूल्यमान्यतालाई भताभुङ्ग गर्दै लगेको छ । समाजमा क्रमशः अमानवीयताले ठाउँ पाउँदै गएको छ । आफ्नो इतिहास, भूगोल, जति, समाज, संस्कार आदि केहीलाई पनि ख्याल नगरेर फाइदा, मुनाफा, अवसरका लागि जे पनि गर्ने पशुचेत बढ्दै गएको छ । समाज, परिवार, आफन्त जतासुकै पुगोस्, आफूलाई भए पुग्छ भन्ने अमानवीय प्रवृत्ति व्याप्त बनाइएको छ । पुँजीवादले आफ्नो स्वार्थका लागि देश, जनता र परिवारलाई पनि बेच्नेतिर गइरहेको छ । यो पुँजीवादको अमानवीयता हो ।

(घ) विध्वंसात्मक

पुँजीवादको विध्वंसात्मकता सामाजिक खराबी हो । विध्वंसात्मकता मानव–समाजको एकता, सामूहिकता र सिर्जनाविरोधी प्रवृत्ति हो । समाजको निर्माण मिलेर गर्नु, समस्याहरूलाई सामूहिक प्रकारले समाधान गर्नु, मान्छेमा आउने आपत्विपत् र दुःखहरूलाई मिलेर समाधान गर्नु, आफ्ना सिर्जनाहरूलाई सबैको हितमा उपयोग गर्नु समाजका विशेषता हुन् तर पुँजीवादको ध्वंसात्मक प्रवृृत्तिले समाजको यो विशेषतालाई समाप्त गर्दै लगेको छ । आफ्नो आर्थिक एवम् राजनीतिक मुनाफाका लागि समाज समाजलाई भिडाउने, देश देशलाई फुटाउने र भिडाउने, जति–जतिलाई उचाल्ने र लडाउने अनि समाजलाई नै नामेट पार्नेखालका ध्वंस गर्ने कार्य पुँजीवादले गरिरहेको छ । यसले गर्दा आज विश्वभरि सामाजिक सङ्कट फैलिरहेको छ ।
(क्रमशः)

२०७५ असाेज ८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :