मलेसियन कम्पनी र नेपाली युवाको हविगत : पूर्णसिंह

purnasi bamपूर्णसिंह बम ‘अनुराग’
गरिबीको चपेटामा परेको पश्चिम नेपालको कर्णाली अञ्चलको कालीकोट जिल्लाको थिर्पु गावस ३ मा मेरो जन्म भएको थियो । बुबा मन्दीराज बम र आमा दानादेवीको कोखबाट २०५० असोज २८ गते मेरो जन्म भएको थियो । मेरो घरमा दुई दाजु नन्दसिंह बम र नारायणसिंह बम अनि दिज्यू रत्नपुरा बम र जूनपुरा बम छन् । जब म कक्षा १२ मा पढ्दै थिएँ, त्यतिबेला मेरो घरमा हामी अध्ययन गर्ने चारजना थियौँ तर घरको आम्दानी भने खान–लाउन कृषि पेसाबाहेक अरू केही पनि थिएन । दुई दाजुहरू जसोतसो दुःखकष्ट गरेर आफ्नो पढाइ खर्च निकाल्नुहुन्थ्यो र घर–परिवारलाई चलाउनुहुन्थ्यो । तैपनि भारतमा गएर व्यापार र ठेक्काको काम गरेर दैनिक जीवन त जसोतसो चल्थ्यो तर आफूले सोचेको सपना र बाँकी अध्ययन थाती रहने देखापरेपछि म भारतको पञ्जाबस्थित एउटा कम्पनीमा काम गर्न गएँ । त्यहाँ केही गा¥हो र अप्ठ्यारो महसुस भएपछि म दिल्ली हुँदै कामकै खोजीमा मुम्बई पुगेँ । त्यहाँको एक कम्पनीमा ६ महिना काम गरेपछि म दसैँको बेलामा घर फर्केँ । अनि सोच्न थालेँ, मेरो पढाइ यसै पनि बिग्रियो, त्यसै पनि बिग्रियो, अब म विदेश जान्छु । अनि घर–परिवारसित सल्लाह गरेर निर्णय लिएँ । परिवारसित कुरा राखिसकेपछि अब म विदेश जान्छु, हुन्छ कि नाइँ भनेँ । दाजुले भन्नुभयो, काम गरेर भए पनि तँलाई पढाउने जिम्मा हाम्रो भयो । दाजु डिग्री पढ्नुहुन्थ्यो तर उहाँहरूको पढाइ बिगारेर मलाई पढ्ने पटक्कै मन थिएन । बरु म बिग्रन्छु तर दाजुहरूको पढाइ भने पटक्कै बिग्रनुहुन्न भन्ने मेरो सोच थियो । अन्ततः मेरो ढिपीले गर्दा दाजुले ‘हुन्छ’ भन्नुभयो । त्यसलगत्तै मैले माइला दाजुलाई खबर गरेँ– दाजु म अब विदेश जाने भएँ ।

त्यतिखेर मेरो माइलो दाजु भारतको देहरादूनमा व्यापार गर्नुहुन्थ्यो । दाजुले भन्नुभयो– ‘किन विदेश जाने ? पढाइ राम्रै छ, पैसाको चिन्ता नगर ।’ तर मैले मानिनँ । त्यत्तिकैमा मैले फोन राखेँ किनकि मेरो मनमा अनौठो सोच आइरहेको थियो । एकातिर वैदेशिक रोजगारीमा जाने मेरो बाध्यता थियो भने अर्कोतिर मनभित्रको पीडासँगै कुतूहलता पनि थियो । त्यसपछि जसोतसो गरेर म घरबाट हिडेँ । मेरो गृहजिल्ला कालीकोटको सदरमुकाम आएर नागरिकता बनाएँ अनि फेरि माइला दाजुलाई फोन गरेर भनेँ कि म त घरबाट पासपोर्ट बनाउन काठमाडौं हिडेँ । तपाईंले जसरी भए पनि पैसा पठाइदिुनुप¥यो । अनि दाजुले पनि नाइँ भन्न सक्नुभएन । भनेअनुसार नै उहाँले पैसा पठाइदिनुभयो । पासपोर्ट बनाएर मैले म्यानपावर कम्पनीमा सम्पर्क गर्न थालेँ । नभन्दै महिना दिनभित्र भिसा आएपछि १,२५,०००÷– तिरेर म मलेसिया पुगेँ । जब म मलेसिया पुगेँ, तब त्यहाँको अवस्था र स्थिति नियालेर हेर्दा त्यहीँ एयरपोर्टबाट नै म अचम्म र छक्क परेँ । त्यहाँ अरू केही देखिनँ । त्यहाँ सबै नेपाली मात्र थिए । थुप्रै साथीहरू कम्पनीले रिसिभ गर्न नआएर अलपत्र परेका थिए । उनीहरू भोकै थिए । हामीसँग भएको चाउचाउ दिएर उनीहरूले भोक मेटाए । उनीहरू कति दिनका लागि गएका थिए, कुन म्यानपावरबाट गएका थिए, त्यो भने मलाई कुनै जानकारी भएन किनभने म त्यहाँ नितान्त नयाँ थिएँ । आफ्नै कम्पनीले झन्डै १३ घन्टापछि रिसिभ नगर्दा आङ जिरिङ्ग भइसकेको थियो मेरो । कतै म पनि त ठगिनँ भन्ने एकातिर शङ्का थियो भने अर्कोतिर त्यहाँ अलपत्र परेका नेपालीको अवस्थाले वातावरण कोलाहलपूर्ण थियो ।

मेरो कम्पनीको नाम थियो– इन्टरमल्टी फर्निचर ‘एसडीएन.बीएसडी’ । बल्लतल्ल १३ घन्टापछि हामीलाई कम्पनीबाट २ जना ड्राइभर लिन आए । ती पनि ड्राइभर हुन् भन्ने कुरा पनि मलाई कम्पनी पुगेको केही महिनापछि मात्र थाहा भएको थियो । जब हामी २३ जनाको टोली एयरपोर्टबाट हिड्यौँ, तब चर्को गर्मीको महसुस हुँदै गयो । बिचबाटोमा ड्राइभरले हल्का नास्ता खुवाए तर भोक भने पटक्कै मरेको थिएन । राजधानीबाट हिंडेको ५÷६ घन्टापछि कम्पनी गेटमै पुगियो । त्यो कम्पनीको बाहिर हेर्दा निकै राम्रो लाग्यो । झरेर जब होस्टेल भएको ठाउँमा पुगियो, तब त्यो होस्टेल देख्दा लाग्यो, यो कुनै मान्छे बस्ने ठाउँ हो कि कुनै समान राख्ने ठाउँ हो ? त्यो ठाउँ सुँगुरको खोर जस्तो थियो । अलिक नजिक पुग्यौँ, त्यो त हामी बस्ने नेपालीको होस्टेल पो रहेछ । थकाइ, निद्रा, भोक त्यत्तिकै लागेकै थियो । होस्टेल हेर्दा मलाई वाक्क लागिसकेको थियो । गर्मी पनि त्यत्तिकै थियो । मच्छड झन् उत्तिकै । जब साँझ पर्दै गयो, तब हामीलाई भाँडावर्तन दिइयो । १०० रिंगेट दिइयो । के ल्याउने, के नल्याउने, कुन सामानलाई कति पर्छ भन्ने कुरा हामीलाई केही पनि थाहा थिएन जसोतसो कम्पनीको आडैमा रहेको मलेसियन नागरिकको खाद्य खुद्रा–पसल थियो । अहिलेचाहिँ त्यो पसल बङ्गलादेशका नागरिकले चलाएको छ । त्यही पसलबाट दाल, चामल नून, तेल ल्याएर त्यो साँझ खाना खायौँ । पानी भने पटक्कै पिउन मन नलाग्ने त्यहाँको । अब हामी भोलिबाट काम गर्ने भन्ने कुरा कम्पनीले ग¥यो । सोहीअनुसार हामी भोलिदेखि नै काममा लाग्यौँ ।

दिनहरू बित्दै गए । केही महिनापछि म बिरामी परेँ । आफैँले उपचार गरेँ तर त्यहाँ कम्पनीको मानिस त थियो तर उसले हेरचाह भने पटक्कै गर्दैनथ्यो । विडम्बनाको कुरा, मलेसियामा जति पनि कम्पनी छन्, तिनी कसैले पनि आफ्ना कामदारको उपचार गर्दैनन् । गरिहाले पनि त्यही महिनाको आउने तलब काट्ने गर्छन् । यहाँ साउदी, दुवई, कतारको जस्तो नियम कानुन त्यति कडा छैन, निकै फितलो छ । त्यहाँ तमिलहरूको बिगबिगीले गर्दा हजारौँ नेपालीहरू उनीहरूको सिकार भएका छन् । अन्य देशको नागरिकलाई केही हुँदा उनीहरूका सरकारले निकै चासो देखाउँछ तर नेपालीहरू एकैचोटि १५÷१५ जना मारिँदा पनि नेपाल सरकारले कुनै वास्ता गर्दैन । दूतावासले पनि अलपत्र परेका नेपाली नागरिकप्रति कुनै चासो राखेको मैले पटक्कै देखिनँ । उल्टै गाली–गलौज र यातना भाग्नुपरेको मैले देखेको छु । आखिर यी मानिस कसका ? किन न्याय पाउँदैनन् ? किन समयमै नेपालीहरूको उद्धार हुँदैन ? आखिर यसमा चासो दिने कसले ? किन राखिएका हुन् त्यहाँ दुतावास ? यो कुरा बुझ्न गा¥हो छ । युवाशक्ति जति अर्कोको गुलामी बनाएपछि आखिर देश बनाउने कसले ? किन अन्धो र विवेकहीन बनेको छ नेपाल सरकार ?

बिरामी भएपछि आफैँ पैसा खर्चेर औषधी गरेँ । काम नगरेको भनेर कम्पनीले मेरो पैसा काट्यो तर मलाई खानका लागि २००–३०० रिंगेट मात्र दिइयो । यता आउँदोका ऋण, उता बिरामी अनि मेरो कमाइबीच समय बित्दै थियो, जिन्दगीका यात्रा निरन्तर चल्दै थिए । त्यही सङ्घर्षरत जिन्दगीको यात्राबाट मैले गजल पनि लेख्न सुरु गरेँ, जुन अहिले भर्खरै बजारमा आएको छ– ‘तिम्रो पिरले’ बोलको गीत । स्वर रहेको प्रमोद पोखरेल, सङ्गीत श्रीकृष्ण बम मल्ल, शब्द–रचना मेरो आफ्नै छ । यो गीत मेरो जीवनको एक चिनो पनि हो ।  एक दिनको कुरा हो, जब चिनियाँहरूको नयाँ वर्ष आएको थियो, त्यतिबेला मेरो बूढी आंैलाको तल्लो नर्मल हड्डी काटियो । लगत्तै मलाई अस्पताल लगियो । त्यहाँ उपचार गरियो । जे होस्, उपचार सफल भयो । त्यतिखेर मलाई अलिकति मलेसियन भाषा आउँथ्यो । त्यहाँ आफन्त भन्ने कोही थिएन । कसलाई पो के भन्ने र । आफन्तको नाउँमा एकजना गाउँका साथी थिए । ऊ पनि कम्पनीमा काम गरिरहेको थियो । र, एकजना विरिन्दा नाम गरेकी मेरो फेसबुकबाट जोडिएकी सबैभन्दा प्यारी बहिनी उनै लाग्थिन् किनकि हाम्रो दिनहुँ कुरा भइरहन्थ्यो । सुखदुःखका कुरा साटासाट गथ्र्यौँ हामी । ती पनि मेरो गाउँभन्दा झन्डै उनको घर पुग्न चार घन्टा लाग्छ । उनलाई फेरि मैले अस्पतालमा छु भनिनँ, उनी दुःखी हुन्छिन् भनेर । म कम्पनीमै छु भन्थेँ किनकि परदेशमा देखावटी रूपमा आफ्नो भन्ने मात्रै हुन्छन् भन्ने लाग्थ्यो मलाई । केही दिनको उपचारपछि म कम्पनीमा फर्केँ । १५ दिनपछि काममा छिरेँ किनकि मलाई खानसमेत पैसा थिएन । काम गरेँ । १५ दिन काम गरेको कम्पनीले ४०० रिंगेट जति पैसा दियो । त्यसले खाना–खर्च ठीक हुन्थ्यो ।

वास्तवमा त्यो कम्पनीको नियम नै ठीक थिएन । पानीको ४ रिंगेट काट्थ्यो । बत्तीको ३ रिंगेटजत्ति काट्थ्यो । कोठाको ५० रिंगेट काट्थ्यो तर हामीलाई म्यानपावरले जाने बेलामा भनेको थियो– पानी, बत्ती र कोठा फ्री हो । मलेसियामा भनेअनुसारको व्यवस्था १०० मा १५ प्रतिशत मात्र देखिन्थ्यो । कम्पनीमा सानो गल्ती हुँदा ५० देखि ५०० रिंगेटसम्म जरिवाना गरिन्थ्यो । यस्तो कू–नियम सिङ्गो मलेसियाभरि रहेको छ तर त्यो नियम त्यहाँको सरकारलाई पनि थाहा हुँदैन । त्यो सरकारको नियम हुँदा पनि होइन । त्यहाँका धेरैजसो कम्पनीहरू सरकारीभन्दा बाहिरका नियमबाट अर्थात् आफ्नै मनमौजी नियमबाट चल्छन् । त्यसको असर प्रत्यक्ष रूपमा हामीजस्ता नेपालीहरूलाई पर्दछ किनकि हाम्रो सरकार पनि त्यस्तै छ । लालबाबु पण्डित मन्त्री हुँदा मलेसियाका लागि नेपाली रोजगारी बन्द गरिएको थियो । त्यतिखेर भने नेपाली कामदारलाई कम्पनीले अलि–कलि सम्मान गथ्र्यो । पछि सरकार फेरियो । फेरि कामदार पठाइयो । फेरि पनि त्यस्तै दुव्र्यवहार हुन थालेको छ । कैयौँ साथी अङ्गभङ्ग भएका छन् तर तिनीहरूले बिमाको नाममा एक पैसा पनि पाएका छैनन् । मेरो कम्पनीमा मात्रै हैन, पूरै मलेसियाभरिका कम्पनीमा यस्तै हुने गरेको छ । आखिर उनीहरू उल्टै पैसा तिरेर घर फर्किन बाध्य छन् । यस्तो छ मलेसियको दुर्गति, फेरि पनि हामी त्यही मलेसिया नै जान बाध्य छौँ । यो परि स्थिति बनाउने आखिर को ? बेराजगार युवाहरूलाई यस्तो बाध्यता कहिलेसम्म ? किन सरकारले हामीजस्ता युवाबारे केही सोच्दैन ?

रातो खबर साप्ताहिक

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!