नेताहरू भन्छन्– क्रान्तिकारी शक्तिबीच पार्टी एकता अपरिहार्य छ !


काठमाडौँ : नेपालमा क्रान्तिका लागि वस्तुगत वातावरण तयार भए पनि आत्मगत स्थिति कमजोर भएको भन्दै केही नेताले क्रान्तिकारी धु्रवीकरणका पक्षमा जोड दिएका छन् । छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारी शक्तिहरूबीच एकता हुनुपर्ने बहस चलिरहेको बेला खासगरी विप्लव नेतृत्वको नेकपा र मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकताको विषयले चर्चा पाउने गरेको छ । विगतमा जनयुद्धको विरासतबाट आएका यी दुई पार्टी तीन वर्ष पहिलेसम्म एउटै थिए । अहिले फेरि यी दुई पार्टीबीच एकताको विषयले क्रान्तिकारीहरूभित्र र बाहिर पनि चर्चा पाएको छ । 

यसैबीच जनयुद्धका एकजना योजनाकारसमेत मानिने नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले अब आफूहरू एक्लाएक्लै हिँड्न नहुने भन्दै पार्टीएकताको प्रक्रियामा अघि बढेको बताएका छन् । विभिन्न खालका कम्युनिस्ट क्रान्तिकारीहरूसँग एकताको प्रयत्न गरिरहेको भन्दै वैद्यले पार्टी एकताका लागि विप्लव नेतृत्वको नेकपासँगको आफ्नो छलफल सकारात्मक दिशातिर अघि बढिरहेको बताए । साथै वैद्यले पार्टी एकताका विषयमा कुरा नमिल्दासम्म राष्ट्रियता, जनजीविकाका सवालहरू र हत्या, हिंसा, बलात्कार, कर, महँगीलगायत प्रश्नहरूमा कार्यगत एकता गरेर अघि बढ्ने र त्यसका लागि आफ्नो पार्टीमा कुनै विवाद नरहेको पनि स्पष्ट पारेका छन् ।
मोहन वैद्य ‘किरण’ को उक्त भनाइलाई पुष्टि गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ पार्टी एकताका लागि दुई पार्टीबीचको छलफल सकारात्मक दिशामा अघि बढिरहेको बताएका छन् । उनले सबै क्रान्तिकारी शक्तिहरूसँग प्रयत्न भैरहेको भए पनि मुख्य गरी वैद्यसँग नजिक रहेको भन्दै नमिलेको विषय मिलाउने प्रयत्नमा रहेको बताएका छन् । उनले मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद– माओवादका विषयमा दुई पार्टीबीच कुनै समस्या नरहेको बताएका छन् । यस्तै परिस्थितिको विश्लेषण र प्रमुख राजनीतिक दुस्मनका बारेमा पनि दुई पार्टीको समान विश्लेषण रहेको उनको भनाइ छ । नेकपाको मध्य–केन्द्रीय कमान्डका इन्चार्जसमेत रहेका नेता सुदर्शनका अनुसार देशको प्रमुख दुस्मन दलाल पुँजीवाद हो भन्ने विषयमा दुई पार्टीको समान धारणा छ । उनले भने, ‘हाम्रो छलफल अहिले कार्यदिशा र कार्यक्रममा जारी छ । उहाँहरूले क्रान्ति र नयाँखाले जनविद्रोह भन्नुभएको छ । हामीले एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवाद भनेका छौँ । यसैमा हाम्रो छलफल भैरहको छ । ’

क्रान्तिकारी शक्तिहरूबीच पार्टी एकता हुनुपर्ने विषय सबैतिरबाट उठिरहेको बेला केही समय पहिले पार्टी पुनर्गठन गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले पनि विप्लव र वैद्यसँग पार्टी एकता हुन सक्ने बताएका छन् । यस्तै अर्को कम्युनिस्ट घटकको नेतृत्व गरेका ऋषि कट्टेलले पनि सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूबीच एकता आवश्यक भएको भन्दै त्यसका लागि आफू तयार रहेको सङ्केत गरेका छन् ।

रातो खबरसँग कुरा गर्दै क्रान्तिकारी माओवादीका महासचिव किरणले क्रान्तिका लागि वस्तुगत आधार तयार बनिसकेको भए पनि आत्मगत अवस्था कमजोर भएका कारण अबको अपरिहार्य आवश्यकता भनेको क्रान्तिकारीहरूबीचको एकता रहेको बताए । किरणले पुरानो राज्यसत्ता, दलाल पुँजीपति वर्गको रक्षाकवचका रूपमा रहेकाले राज्यसत्ता, सरकार, दक्षिणपन्थी संशोधनवाद, यी सबैको भण्डाफोर गर्दै सच्चा क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने दिशातिर ठूलो मेहनत गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

२०७५ असाेज ८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :