कमरेड प्रकाण्डको गिरफ्तारी र सरकारी प्रचारयुद्ध

प्रचण्ड ओली गुट नेकपाको विस्तारलाई रोक्न र दमन गर्न चाहन्थ्यो । त्यसकालागि उनीहरुले तयारी गर्दै थिए । उनीहरुले सबै तहको चुनाव सामन्य गरे । सायद दिल्ली दरवारको आशिर्वाद पनि थपिसके । त्यसपछि उनीहरु दमनमा तयारीसाथ उत्रिन थाले । त्यसै क्रममा ओली गुटका कट्टर हिमायती १ नंं. प्रदेशका मुख्य मन्त्री शेरधन राइले पुर्वमा नेकपाको बिउ नै मास्ने घोषणा गरेका छन् । कसको बीउ कसले मास्ने हो ? सामाजिक दलाल र वैज्ञानिक समाजवाद कसले जित्ने हो ? शेरधन राई जीवनभरी मुख्य मन्त्री भइरहने हुन कि होइनन् ? त्यसको जवाफ समयले नै दिनेछ ।
अहिले यहाँ प्रश्न उठाउँन खोजेको विषयचाही कमरेड प्रकाण्डको गिरफ्तारी र त्यसपछि उत्पादन गरिएको सरकारी प्रचार युद्धको विषय हो । नेकपालाई सशस्त्र भीडन्ततिर धकेल्न र देशलाई गृहयुद्धमा फसाउँन दलालहरु धोती कसेर लागेका छन् । त्यहीबेला नेकपाको केन्द्रीय समितिको बैठक बस्यो । एउटा क्रान्तिकारी पार्टीको केन्द्रीय समितिको बैठक बस्नु, विस्तृत छलफल र योजना बन्नु, त्यसको सम्प्रेशण तलसम्म पुगेपछि कस्तो माहोल बन्छ भन्ने कुरा प्रचण्डलाई थाहा छ । त्यसकारण प्रचण्ड मण्डली नेकपाको केन्द्रीय समितिको बैठक नै असफल पार्ने, अवरोध गर्नतिर लागे । त्यसकोलागि प्रमलाईसमेत सहमत गराए । त्यसको उद्देश्यहरु थिए —

१. केसको बैठक अवरोध गर्ने
२. चेन अफ कमाण्ड भत्काउँने
३. भयवाह श्रृजना गर्ने
४. मित्र शक्तिहरुलाई गोलबन्द हुन नदिने
५. गति अवरुद्ध गर्ने
६. प्रकाण्डलाई गिरफ्तार गर्दा पनि गल्छन् कि गल्दैनन् हेर्न
६. नेकपा र समाजको समग्र प्रतिक्रिया बुझ्ने
सामाजिक दलाल पुँजीवाद नाङ्गिदै गएको र नेकपाको पक्षमा राष्ट्रिय परिस्थिति अनुकुल बन्दै गएपछि सरकार हतारहतार दमनमा उत्रिएको हो । ओली र प्रचण्डले अनौपचारिक रुपमा आ–आफ्नो गुटलाई नेकपाको समर्पणमा पठाएर वार्ता प्रत्रिया (यथार्थमा आत्मसमर्पण प्रयास) गरेका र त्यो षड्यन्त्र असफल भएपछि दमनको प्रयास भएको थियो ।

दमनको ओली प्रचण्ड योजना अनुसार कमरेड प्रकाण्डलाई गिरफ्तार गरियो । त्यसपछि नै प्रचारयुद्ध तीव्र पारियो । प्रचण्ड, ओली र केही भडुवाहरुले सञ्चालन गरेका सञ्चार माध्यमले कमरेड प्रकाण्डको विषयमा योजनाबद्ध रुपमा थरिथरीका कथाहरु रच्न थाले । आर्थिक हिनामिना, पार्टीमा अन्तरर्विरोध, मतभेद, गिरफ्तारीमा आन्तरिक कारण जिम्मेवार, प्रकाण्डले क्रान्तिकारी धार छोड्ने, जानीजानी गिरफ्तारी दिएको आदि आदि प्रचार गरियो । कमरेड शिलु लगायतको सन्दर्भमा पनि त्यही भयो । आर्थिक प्रश्नमा नेकपा विवादरहिद र समस्या नै नभएको भन्न नमिल्ला तर नेकपाजति पारदर्शी र व्यवस्थित अरु कुनै दल आजको मितिसम्म नेपालमा छैन । ‘खुला र स्पष्ट हुनु भनेको भित्री बस्त्र निकाल्नु होइन’ पारदर्शिताको अभ्यास गर्दा भएका कार्यशैलीगत त्रुटीहरुको अलग छलफल हुनेछ । त्यो अलग विषय हो । धोका र अविस्वासको राज भएको नेपाली समाजमा सकारात्मक कुरा गर्नासाथ चाकरी ठान्ने र आलोचना गर्नासाथ तथ्य नखोजी विस्वास गर्ने गरिन्छ । आलोचनात्मक चेतको विकास भएको छैन ।

बेलाबेलामा हामी आफै त्यसको शिकार हुन्छौं । कार्यशैली, पात्र र प्रवृत्तिको मुल्याङ्कन, नीजि मनोविज्ञान जस्ता प्रश्नमा नेकपाभित्र अन्तर वा फरकफरक सोंचहरु होलान् तर मुल नेतृत्व र विचार तथा कार्यदिशामा एकजनाको पनि औपचारिक अनौपचारिक फरक मत छैन । भविष्यको कुरा नगरौं, तत्काल त्यो हुने सम्भावना पनि छैन । नेतृत्वमा विभाजन नल्याएसम्म दमन गर्न सकिन्न र कार्यकर्ताको मनोबल घटाउँन सकिन्न भन्ने उनीहरुले बुझेका छन् । तर हुँदै नभएको कुरा बनाएर बन्दैन । ‘एउटा भेडी भएर ब्यायो, अर्को भेडी स्वर स्वरैमा व्यायो’ भनेझै गर्नु भएन । कमरेड प्रकाण्ड र कमरेड शिलुको गिरफ्तारीमा आन्तरिक कारण पनि छ कि भन्ने बजार हल्ला चलेको चलाइएको छ । भगौडा र भाग्न खोजेका (मन ओली प्रचण्डतिर ज्यान विप्लवतिर भएका) तत्वहरु पनि संलग्न हुन सक्छन् भन्ने आशंकाबाहेक अरु कोठाबाट कसैले हेरेको छैन न त प्रकाण्ड, शिलु वा पदमहरुले नै हेरेका छन् । यो प्रचण्ड स्कुलिङ वाला पार्टी होइन । गृह मन्त्रालय र उसको गुप्तचर विभाग तथा उसको नुनपानी खाएका तत्वहरुको रणनीति थाहा छ । अरु पनि थुप्रै मनगदन्त तर्कहरु गरिएका छन् । प्रचार युद्धमा ‘फेक न्युज’उत्पादन र विवरणलाई तीव्र पारिएको छ । दक्षिण र एशियामा फेक न्युज उत्पादन र विवरणमा भाजपा अग्रस्थानमा छ । भाजपा शैलीलाई नेपालमा पनि आयात गरिएको छ ।

समग्र र संक्षिप्तमा भन्नुपर्दा नेकपाको प्रचार युद्ध, प्रचारको मोर्चाबाट आत्मरक्षा र प्रतिरोध कमजोर भएको देखिन्छ । सम्भावना भएकै जतिपनि काम भएका छैनन् । यो विषयलाई सैद्धान्तिक रुपले नै उठाउँन आवश्यक छ । पार्टी प्रकाशन र नेताको प्रशिक्षणको भरमा यो मोर्चा जित्न अवको दुनियाँमा सम्भव छैन । त्यसकोलागि आम सामाजिक चेतना नै उठाउँनुु पर्दछ । अध्यक्ष माओले पार्टी, सेना र संयुक्त मोर्चालाई क्रान्तिका ३ जादुगरी हतियार भन्नु भएको थियो । अबको युगमा ‘सञ्चार’ समेत थपेर क्रान्तिका ४ जादुगरी हतियार बनाउँन आवश्यक छ । जसमा आम कार्यकर्ता र जनता नै दलाल पुँजीवादको विरुद्ध प्रचार युद्धलाई उठाउँनुपर्छ । प्रचार युद्ध भनेको जनमत बनाउँने र भत्काउँने, मनोबल उठाउँने र निराशा पार्ने, दिशा स्पष्ट गर्ने र विभ्रम श्रृजना गर्ने विषय हो । जनमत निर्माणमा सचेत प्रयत्न परम्परागत शैलीमा सम्भव छैन ।
२०७५ असोज ८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!