मानवअधिकारको अवस्था गम्भीर स्थितिमा

कैलाली : राज्यको गलत रवैयाको कारण मानवअधिकारको अवस्था कमजोर भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रीय समितिको आयोजना र जिल्ला शाखा कैलालीको संयोजनमा आइतबार धनगढीमा ‘मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषय अन्तरक्रियामा बोल्ने वक्ताहरुले राज्यको प्रवृति विगतमा जस्तो थियो अहिले पनि त्यस्तै रहेकाले अहिले पनि नागरिकमा मानवअधिकार सुनिश्चिता हुन नसकेको बताएकाछन् । उनीहरूले नागरिकले स्वतन्त्रतापूर्वक बाच्न पाउने, बोल्न पाउने मौलिक अधिकार खोज्दा पनि राज्यले दमन गर्नुले झन् मानवअधिकारको अवस्था गम्भीर स्थितिमा रहेको र जनता जाग्नुपर्ने बेला आएको बताए । राष्ट्रिय मानवअधिकार आयोगका ७ नं. प्रदेशका प्रमुख झंकर रावलले कतिपय सरकारी पक्षबाट मानवअधिकारका हननका घटना बढेको भन्दै दुख व्यक्त गर्नुभयो । उहाँले अहिले पनि मुलुकमा महिला अधिकार, स्वास्थ्य, सडक बाल अधिकार लगायतका विषयमा राज्य चुकेको जिकिर गर्नुभयो । यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश ७ का अध्यक्ष अर्जुन शाहले देवानी तथा फौंजदारी संहिताले पत्रकारहरुलाई विचलित बनाएको बताउदै सरकारले प्रतिबद्धता जनाए अनुसार कानुन संशोधन नभए महासंघ आन्दोलनमा जानुपर्ने अवस्था आएको बताउनुभयो ।

 कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका कैलाली जिल्ला सचिवालय सदस्य विरबहादुर तिरुवाले मानवअधिकारलाई राष्ट्रियता, जनतन्त्र, जनजीविका, जनताको स्वतन्त्रता र प्रेस अभिव्यक्ति स्वतन्त्रतासँग जोड्नुपर्ने बताउनुभयो । अधिवक्ता तुलाराम गिरीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विना कुनै पनि मुलुकमा समृद्धि हुन नसक्ने बताउनुभयो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउदा अहिले सबै क्षेत्र आन्दोलित भइरहेको भन्दै खराबीलाई अन्त्य गर्न, जनतालाई बलियो बनाउन, राज्यका सबै निकायको विकृति विसंगति अन्त्य गर्न प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दिनुपर्ने बताउनुभयो । अर्का अधिवक्ता नरेन्द्र शाहले सरकारले मानवअधिकार पालना गर्नुको साटो दमन गर्छ भने त्यो मानवअधिकार हनन ठहर्ने बताउनुभयो ।

 कैलाली बहुमूखी क्याम्पसका प्रमुख प्राध्यापक डा. पदम जोशीले जनतालाई आफ्नो अधिकारप्रति सचेत बनाउनका लागि र उत्प्रेरणा जगाउने अभियान सफल हुने विस्वास व्यक्त गर्नुभयो । उहाँले सुरक्षा निकायका प्रमुखले विप्लव नेतृत्वको नेकपालाई राजनीतिक ढंगले समस्या समाधान गर्न सुझाव दिइरहेको छ तर सरकार किन ध्यान दिइरहेको छैन उहाँले भन्नुभयो ।

 कैलाली बहुमुखी क्याम्पस पब्लिक प्रध्यापक संघका पूर्वसभापति प्राध्यापक डाक्टर राजेन्द्रवीर चन्दले अहिले वामपन्थी दुई तिहाईको सरकार छ तर किन सबै आन्दोलनमा आउने अवस्था बनेको छ, वकिल, पत्रकार, डाक्टर, चालक, मजदुर लगायत सबै किन आन्दोलनमा आउने अवस्था बन्यो उहाँले प्रश्न गर्नुभयो ।

पब्लिक प्राध्यापक संघ, कैलाली बहुमुखी क्याम्पसका सचिव प्राध्यापक अम्बिकेश्वर जोशीले अहिले राजनीतिक आस्थाका आधारमा धरपकड गर्ने सरकारले गलत गरिरहेको बताउनुभयो । कार्यक्रममा नेपाल राष्ट्रिय प्राध्यापक संगठन केन्द्रीय सदस्य हरीचन्द्र कमली, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य ललन प्रसाद चौवे लगायतले बोल्नुभएको थियो । कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले गर्नुभयो, कार्यक्रम सञ्चालन संगठनका महासचिव हिम विष्ट र स्वागत मन्तब्य क्रान्तिकारी पत्रकार संगठन,नेपाल कैलाली जिल्ला शाखा सचिव नरेन्द्र कार्कीले राख्नुभयो ।

२०७५ असौज ७ गते  प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :