‘राज्यले यसरी नै मानवअधिकारको उल्लंघन गर्दै गए, न्याय दिन नसके, सुशासन दिन नसके जनताले विद्रोह गर्नुको विकल्प छैन’

  

कञ्चनपुर : कञ्चनपुरका राजनीतिक दल, मानव अधिकारकर्मी तथा कानुन व्यवसायीहरुले दिनप्रतिदिन भइरहेको बलात्कार, हत्या, हिंसाका घटनाले मानिसको बाच्न पाउने अधिकार खोसिएको भन्दै सबै पक्ष एकजुट भएर न्यायका लागि संघर्ष गर्नुपर्ने अवस्था आएको बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिको आयोजना तथा जिल्ला शाखा कञ्चनपुरको संयोजनमा कञ्चनपुरको भिमदत्त नगरपालिकामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले अहिलेको सरकारका गतिविधि विगतकै पुनरावृत्ति जस्तो भएको टिप्पणी गरेका छन् ।

कार्यक्रममा अधिवक्ता यज्ञराज जोशीले राज्यसत्ताले कानुनलाई आफ्ना विरोधीलाई दमन गर्ने औजारको रुपमा प्रयोग गर्न खोजेको बताउनुभयो । उहाँले मानिस स्वतन्त्रतापूर्वक रुपमा बाच्न पाउने अधिकार राज्यले नै खोसिरहेको बताउनुभयो । राज्यले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलगायतलाई गिरफ्तार गरेर विभिन्न जिल्लामा घुमाइरहेको घटनालाई हेर्दा जनयुद्ध सुरुवात अगाडिको झल्को आएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्यले यसरी नै मानवअधिकारको उल्लंघन गर्दै गए, न्याय दिन नसके, सुशासन दिन नसके जनताले विद्रोह गर्नुको विकल्प छैन ।’ निर्मला हत्याकाण्डसँग सम्बन्धित प्रमाणहरु दिनप्रतिदिन मेटिदै जानुले जनताले न्याय पाउने सम्भावना कम हुदै गइरहेको र जसलाई रक्षक भनिएको छ त्यो नै भक्षक भएपछि जनतासामु विद्रोह गर्नुको विकल्प केही नरहेको उहाँको भनाई छ ।

नेपाल कम्युनिस्ट पार्टीका महाकाली ब्युरो पुकार धानुकले शान्तिपूर्ण रुपमा आफ्नो गतिविधि सञ्चालन गर्न पाउने, देश र जनताका लागि आवाज उठाइरहेको तर राज्यले देशद्रोही जस्तो व्यवहार गरिरहेको बताउनुभयो । राजनीतिक मुल्य मान्यता ह्रास भएकाले देशमा अनैतिकता, हत्या, हिंसा बलात्कार, व्यभिचार र भ्रष्टाचार मौलाइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश विखण्डन गर्छु भन्नेलाई सुरक्षा दिन्छ तर राष्ट्रियताको पक्षमा, भ्रष्टाचारको पक्ष आवाज उठाउनेलाई देखि सहेको छैन, यो के हो ?’ शान्तिपूर्वक भेला गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने, संगठित हुन पाउने अधिकारी राज्यले खोजीरहेको ब्युरो सदस्य पुकारको भनाई थियो । उहाँले आफूहरुलाई राज्यले राजनीतिक शक्तिका रुपमा व्यवहार नगरेको भन्दै आलोचना गर्नुभयो ।

नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी विष्णु नेपालीले राज्यले आफ्ना विभिन्न कर्तुत छिपाउनका लागि पत्रकारलाई अंकुस लगाउन खोजिरहेको बताउनुभयो । उहाँले नेकपाका प्रवक्ता प्रकाण्ड लगायतका नेतालाई राजनीति गतिविधि गर्न नदिएकोप्रति आपत्ति जनाउनुभो । फरक आस्था र विचार राखेकै भरमा प्रतिबन्ध लगाए विद्रोहको विकल्प नभएको उल्लेख गर्नुभयो । राष्ट्रिय जनमोर्चाका इन्चार्ज महेश जोशीले देश टुक्राउछु भन्ने सिके रावतलाई राज्यले संरक्षण गरिरहेको तर मानवअधिकार कुरा, राजनीतिक आन्दोलन गर्नेलाई गिरफ्तार गरेर राज्यले देशभर घुमाइरहेको भन्दै आश्चर्य व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघ कञ्चनपुरका सहसचिव मोहन विष्टले निर्मला पन्तको हत्यापछि जलिरहेको अवस्थामा क्रान्तिकारी पत्रकार संगठन, नेपालले नै समसामयिक विषयमा कार्यक्रम लिएर आएकोमा कृतज्ञता व्यक्त गर्दै देशभर कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।

निर्मला पन्तकी आमा दुर्गा देवी पन्तले छोरीको राज्यले न्याय दिनेमा संका व्यक्त गर्दै सबैलाई न्यायका लागि आवाज उठाइदिन आग्रह गर्नुभयो । कार्यक्रममा कृषि विज्ञ तथा मानवअधिकारकर्मी नरबहादुर साउद, राजपाका अम्बा तिवारी, क्रान्तिकारी पत्रकार महासंघका धनञ्जय अवस्थी, प्रेस संगठन राजेन्द्र अवस्थी, महिला अधिकारकर्मी सन्तोषी साउद ऐरी लगायतले बोल्नुभएको थियो । संगठनका अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संगठनका महासचिव हिम विष्टले गर्नुभएको थियो ।

२०७५ असाेज ७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :