नेकपाको अभियान सुर्खेतका गाउँगाउँमा स्वास्थ्य शिविरलगायत जनसेवाका काम पनि सँगसँगै

काठमाडौँ : नेकपाले सुर्खेतमा स्वास्थ्य शिविरसँगसँगै अभियान उद्घाटन गरेको छ । अभियानको नेतृत्वकर्ता रविकिरण र जिल्ला इन्चार्ज हिमशिखरको नेतृत्वमा सुर्खेतमा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान संयुक्त रूपमा उद्घाटन भएको हो । स्वास्थ्य शिविरमा पहिलो दिन नै ७० जनाले स्वास्थ्य परीक्षण गराएर विभिन्न रोगको औषधी लगेको जानकारी त्यस क्षेत्रका अभियानकर्मीले दिएका छन् । स्वास्थ्य शिविर अभियानभर चल्ने बताइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेकोे सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सुर्खेतमा व्यापक रूपमा सञ्चालन भइरहेको र अभियानमा जनताको उल्लेख्य सहभागिता रहेको जनाइएको छ । नेकपाका स्थानीय नेता–कार्यकर्ताले आफ्नो राजनीतिक अभियानमा जनताको बढ्दो आकर्षण दिनानुदिन बढिरहेको बताएका छन् । आफ्नो अभियानमा जनसहभागिता देखेर नै आतङ्कित बन्दै प्रशासनले शान्तिसुरक्षाको बहानामा सुर्खेतका विभिन्न ठाउँमा व्यापक रूपमा प्रहरी परिचालन गरिरहेको नेकपाले बताएको छ । आफ्नो शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने संविधानप्रदत्त अधिकारमा समेत प्रशासनले बलप्रयोग गरेको बताएको छ । गाउँगाउँमा भेला–सम्मेलन गर्दै हिँडेका अभियानकर्मीसँग अत्तालिएर प्रशासनले सुर्खेतको पश्चिम क्षेत्रमा सशस्त्र र जनपद प्रहरी व्यापक रूपमा परिचालन गरेको नेकपा स्रोतले जनाएको छ ।

सुर्खेतका बाबियाचौर, तरङ्गा, पाम्का, तेलपानी, चेपाङ, बड्डीचौर, रानीघाटलगायत ठाउँहरूमा प्रहरीले अभियानकर्मीमाथि हस्तक्षेप गरेको बताइएको छ । आफ्नो अभियानलाई प्रभावित पार्न सरकारले अवलम्बन गरेका कुनै पनि हर्कतहरूबाट आफ्नो अभियान प्रभावित नहुने, बरु प्रतिरोध गरेर अगाडि बढ्ने नेकपाका अभियानकर्मीहरूको भनाइ छ ।

२०७५ असोज ४ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :