नेकपाका जिल्ला सेक्रेटरी प्रयास गिरफ्तार

 

दाङ : नेपाल कम्युनिस्ट पार्टीका रोल्पा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ लाई प्रहरीले शान्तिपूर्ण तरिकाले भइरहेको जनसभाबाटै गिरफ्तार गरेको छ । सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान देशैभर चलाइरहेको उक्त पार्टीले सोमबार रोल्पा नगरपालिका वडा नं. १० भनभनेमा जनसभा आयोजना गरेको थियो । उक्त सभाबाटै सुवेदीलाई गिरफ्तार गरिएको नेकपाको राप्ती ब्युरोले जनाएको छ । नेकपाका राप्ती ब्युरो इन्चार्ज सुवासले सोमबारै प्रेसविज्ञप्ति जारी गरी प्रहरी प्रशासनबाट अपहरणशैलीमा आफ्ना नेता गिरफ्तार गरिएको भन्दै बिनासर्त रिहाइको माग गरेका छन् ।

पार्टीको केन्द्रीय सदस्यसमेत रहेका इन्चार्ज सुवासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारको गिरफ्तारी र धरपकडले हाम्रो अभियान रोकिँदैन, बरु तीव्रतम तरिकाले अगाडि बढ्ने कुरा जानकारी गराउँदै उक्त अभियानमा साथ दिन आम जनसमुदायमा हार्दिक अपिल गर्दछौँ । साथै गिरफ्तार कमरेडलाई बिनासर्त रिहा नगरे पार्टी चरणबद्ध सङ्घर्षमा जान बाध्य हुने चेतावनी पनि यसै विज्ञप्तिमार्फत दिन चाहन्छौँ ।’

नेकपाले अहिले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान देशभर चलाइरहेको जनाएको छ । अभियानमा भेला, सम्मेलन, सभाहरूसमेत भइरहेका छन् । अभियानका क्रममा क्रान्तिकारीहरूको ध्रुवीकरण र एकीकरण प्रक्रिया पनि अघि बढिरहेको उक्त पार्टीले जनाएको छ ।

२०७५ असाेज ३ गते  बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :