फासिवादविरुद्ध लड्न वाम बुद्धिजीवीको आह्वान, ‘प्रकाण्डलगायत नेकपाका नेताहरूको गिरफ्तारी नेपाली फासिवाद’

काठमाडाैँ ः  ‘साम्राज्यवाद विरोधी मोर्चा’ ले आइतबार आयोजना गरेको कार्यक्रममा वामपन्थी बुद्धिजीवी र सामाजिक अभियन्ताहरूले दक्षिणएसियामा फासिवाद नाङ्गो रूपमा आएको भन्दै त्यसविरुद्ध एकजुट भएर लड्न आह्वान गरेका छन् ।

कार्यक्रममा मोर्चाका संयोजक नरेन्द्रजङ्ग पिटरले दक्षिणएसियाका देशहरूमा धर्म र राजनीतिक पूर्वाग्रहलाई अधार बनाएर फासिवाद बढेको बताए । ‘अरूका लागि नबोले आफ्नो लागि कोही बोल्दैन’ भन्दै पिटरले नक्सलीको आरोपमा भारतमा सामाजिक अभियन्तामाथि गरिएको धरपकड र गिरफ्तारीको सबैले विरोध गर्नुपर्ने बताए । उनले मानवतावादको रक्षाका लागि फासिवादविरुद्ध लड्नुपर्ने आवश्यकता औँल्याए । ‘फासिवादविरुद्ध सङ्घर्ष गर्नु भनेको जनतन्त्र, जनवाद, स्वतन्त्रता र मानवताको रक्षा गर्नु हो’, उनले भने । नेपालको सरकारले अदालतले दिएको आदेश उल्लङ्घन गरेर नेकपा प्रवक्ता प्रकाण्डलगायत नेताहरूलाई बारम्बार गिरफ्तार गर्दै नेपालमा पनि फासिवाद नाङ्गो रूपमा आएको ठोकुवा गरे ।

वामपन्थी बुद्धिजीवी तथा विश्लेषक हरि रोकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारमा आएपछि फासिवाद नाङ्गो रूपमा आएको बताए । बरबर राव, गौतम नवलखा, सुधा भारद्ववाजलगायत सामाजिक अभियान्तालाई गिरफ्तार गर्ने मोदी निर्वाचित तानाशाह भएको उनको भनाइ थियो । भारतमा फासिवाद नाङ्गो रूपमा आएको र त्यसको प्रभाव नेपालमा बढिरहेको बताउँदै रोकाले नेकपाका प्रवक्ता प्रकाण्ड रिहा हुँदा पनि लगातारको गिरफ्तारी त्यसैको परिणाम भएको धारणा राखे ।

पत्रकार तथा वाम बुद्धिजीवी तुल्सी महर्जनले पुँजीवाद आएको सङ्कटलाई टार्न फासिवादलाई अगाडि ल्याइएको बताए । फासिवादले आफैँले बनाएका कानुन नमान्ने भन्दै महर्जनले भारतीय सामाजिक अभियन्ता तथा वाम बुद्धिजीवीमाथिको दमन त्यसैको परिणाम भएको बताए ।

दक्षिणपन्थविरुद्ध माक्र्सवादीहरूले मात्रै सङ्घर्ष गर्नसक्ने भन्दै महर्जनले उनीहरू नै त्यहाँ पुगेपछि फासिवाद रोक्न नसकिने गरी नाङ्गो रूपमा आउने गरेको बताए । उनले नेपाली कम्युनिस्टहरू दक्षिणपन्थविरुद्धको सङ्घर्षबाट पछि हटेको कारण फासिवाद अगाडि आएको बताए ।

भुटानी शर्णाथी नेता एनबी गिरीले भारतीय फासिवादकै कारण आफूहरू भुटानबाट लखेटिएको बताए । इन्दिरा गान्धी र राजीव गान्धीकै योजनामा भुटानी राजाले नेपालीभाषीमाथि देशद्रोहको आरोप लगाउँदै दमन गरेको बताए ।

कवि निभा शाहले भारतीय वाम बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूले नेपालमा गणतन्त्र ल्याउन ठूलो सहयोग गरेको बताइन् । नेपालमा गणतन्त्र ल्याउन सहयोग गर्ने भारतका सामाजिक अभियन्ताहरूलाई गिरफ्तार गर्दा पनि तत्कालीन माओवादी चुप लागेकाले त्यो साम्राज्यवादी कम्युनिस्ट भएको उनको भनाइ थियो ।

२०७५ भदौ ३१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :