ठग म्यानपावर सञ्चालकलाई रेड फोर्सले दल्यो कालोमोसो

पोखरा : ठगी, महिला बेचबिखनलगायत अवैध धन्दा सञ्चालन गर्दै आएको पोखराको लक्की म्यानपावर सञ्चालकलाई नेकपाको योङ रेड फोर्स नेपाल कास्कीले कालोमोसो दलेर कारबाही गरेको छ । उक्त म्यानपावरका सञ्चालक रसबहादुर गुरुङलाई रेड फोर्सले आइतबार कालोमोसो दलेर कारबाही गरेको हो ।

योङ रेड फोर्सले म्यानपावरमा तालाबन्दी गर्दै सञ्चालकलाई कालोमोसो दल्नुका साथै मेनपावर खारेज गर्न चेतावनी पनि दिएको छ । फोर्सले ५ बुँदे कारणसहितको नोटिस जारी गरी म्यानपारमाथि कारबाही गरेको हो ।

गुरुङले बिनाइजाजत अवैध रूपमा म्यानपावर सञ्चालन गर्दै दर्जनौँ युवालाई विदेशमा अलपत्र पारेको नोटिसमा उल्लेख छ । उक्त कम्पनीले सेक्युरिटी कम्पनीका नाममा म्यानपावर धन्दासमेत चलाएको स्थानीयले बताएका छन् ।

उक्त म्यानपावर कम्पनीले महिलाहरुलाई दिल्लीको बाटो हुँदै बेचबिखन गरेको दाबी फोर्सको छ । उक्त म्यानपावरबाट विदेश गएका र अलपत्र परेर फर्किएका युवाको पैसा फिर्ता नगरी डरधम्की दिएको रेड फोर्सले जनाएको छ । कारबाहीलाई अटेर गरे थप सशक्त कारबाही गर्ने चेतावनीसमेत फोर्सले दिएको छ ।

२०७५ भदाै ३१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :