के शासकहरू जनताको मुख थुन्न सक्छन् ?

बिहान उठ्नेबित्तिकै समृद्धिपथ राष्ट्रिय दैनिक खबर पत्रिका के हेर्न खोजेको थिएँ, मुख्य समाचार नै विप्लव नेतृत्वको पार्टी नेकपाका जिल्ला सेक्रेटरीसहित चारजना कार्यकर्ता पक्राउ शीर्षकको समाचार पढेँ । किन पक्राउ गरिएछ ? उनीहरूले बम, बन्दुक पड्काएछन् कि ? मान्छे मार्ने उद्योग, अपहरण चोरी, डकैतीलगायत कुनै फौजदारी अपराध गरेछन् कि ? पढ्दै गएँ– इलाका प्रहरी कार्यालय लाहानका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार आरोपितहरूले गैरकानुनी क्रियाकलाप गरिरहेको सूचनाका आधारमा गिरफ्तार गरेको भनियो । साथमा आरोपितहरूबाट त्यस पार्टीका पर्चा, पम्प्लेट तथा सदस्यता रसिदहरू फेलापरेको बताइयो । प्रहरी नायब उपरीक्षक थापालाई मेरो प्रश्न छ– के हो गैरकानुनी क्रियाकलाप ? कुनै पनि पार्टीको पर्चा, पम्प्लेट, सदस्यता रसिद बोक्दै हिँड्नु गैरकानुनी काम हो ? कि जनतालाई आफ्नो विचार राख्न रोक लगाउनु, प्रजातन्त्रमा विरोधको शान्तिपूर्ण र संवैधानिक स्वरहरूलाई कुल्चनु, आफ्नो आस्थालाई कुल्चनु, शान्तिपूर्ण विरोध गर्ने अधिकारलाई रोक्नु, झूट्टा मुद्दा लगाएर थुनछेक गर्नु कानुनी काम हो ? एकपटक विश्वभरका संविधान र कानूनका ठेली पल्टाउनु पर्ला कि ?

थापा सर, तपाईंले भीमसेन थापालाई पढ्नुभएकै होला । तपाईं पक्कै पनि राष्ट्रियताप्रति चिन्तित हुनुहुन्छ होला । कथित कम्युनिस्ट पार्टीको नेतृत्वमा सामाजिक दलाल, पुँजीवादी सरकार बनेदेखि राष्ट्रियता झन् कमजोर बनेको छ । झन् मधेसी राष्ट्रियताको त के कुरा ? राष्ट्रवादको नक्कली नाराभित्र सरकारले राष्ट्रघाती अरुण तीन आयोजना भारतलाई सुम्पिएको छ । सन् १९५० को सन्धि, माथिल्लो कर्णाली, माथिल्लो मस्र्याङ्दीलगायत सन्धिहरूलाई यो सरकारले पनि निरन्तरता दिएको छ । माथिल्लो कर्णाली, अरुण तीन, कोसी उच्च बाँध, विमानस्थललगायत राष्ट्रिय स्वाधीनतासम्बन्धी संवेदनशील क्षेत्रहरूमा नेपालको सेना–प्रहरीको बेइज्जत हुने गरी भारतीय सुरक्षा व्यवस्थालाई स्वीकार्नुपर्ने बाध्यता बनाइएको छ । भारतीय प्र.म. मोदीको नेपाल भ्रमणको बेलामा भारतीय सेनाले नेपालमा परेड खेलेको हाम्रो आँखाले देखेकै हो । भारतीय दूतावासले नेपालमा मनोमानी पाँच करोडसम्म लगानी गर्नसक्ने प्रावधानलाई ओली–दाहाल सरकारले अनुमति प्रदान गरेर नेपालमा भारतीय दूतावासलाई समानान्तर सरकार चलाउने छूट दिएको छ । यसले हाम्रो राष्ट्रियता र देशकै प्रतिष्ठा झन् गिर्र्दै गएको छैन र थापा सर ? दिनहुँजसो सीमा मिचिएको छ । सीमामा बस्ने नेपालीलाई भारतीय सीमारक्षकले गर्ने ज्यादतीको समाचार त सामान्यजस्तो हुन थालिसक्यो ।

जनताको विचार र परिवर्तनका लागि सङ्घर्ष गर्ने अधिकार रक्षा गर्ने प्रश्न त धेरै टाढाको विषय भयो । संसदीय व्यवस्था मान्ने पार्टी र संस्थाहरूलाई समेत विरोध गर्न बन्देज लगाउन खोजिँदैछ । देशका बेरोजगार नागरिकहरूलाई रोजगारी दिने उद्योगहरू खोल्नु त परै जाओस्, भएका उद्योग र प्रतिष्ठानहरूसमेत बिक्री गर्ने, निजीकरण गरी एकाधिकार पुँजीपतिहरूको हातमा दिने काम भइरहेको छ । ओली–दाहाल सरकार गठन भएपछि चारपटकभन्दा बढी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । चुनावमा लिएको खर्च उठाउन व्यापारीलाई मूल्यवृद्धि गर्न र कालोबजारी गर्न सरकारले छूट दिएको छ । कालोबजारियाको लँगौटी बनेको अवस्थामा चार सय प्रतिशतसम्म अन्यायपूर्ण कर थोपरिएको छ । कुनै पनि नागरिकको नैसर्गिक अधिकारका रूपमा रहनुपर्ने शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा माफियाकरण झन् बढेको छ । यो सरकार बनेदेखि विगतका सरकारहरूमा झैँ भ्रष्टाचार संस्थागत बनाइएको छ ।

जनजीविका साह्रै नै दयनीय बन्दै गएको छ । दलाली, भ्रष्टाचार र कालोबजारी गर्ने दिनानुदिन धनाढ्य बन्दै गएका छन् भने दिनहुँ मेहनत गर्ने, पसिना बगाउने, दिनदिनै गरिब बन्दै गएका छन् । महिनाभरि मेहनत ग¥यो, राम्रो खाना, लगाउन, छोराछोरी पढाउन धौधौ परिरहेको छ । ठूलै रोग लाग्यो भने त एक मात्र विकल्प हो मर्नु । त्यो हरेक मेहनतकश नेपालीको हो । थापा सर, तपाईं भ्रष्टाचार गर्नुहुन्न भने एकपटक आफ्नी श्रीमतीलाई सोध्नुहोला घरचलाउन कति गाह्रो छ ! एउटा स्वाभिमानी नेपाली पलपल मरिरहेको छ । एउटा नेपाली नागरिक आफैँले उब्जाउ गर्ने खेतमा मल हाल्नका लागि मल किन्न जान्छ, पाउँदैन । भर्खरै हुर्कंदै गरेकी छोरी बलात्कृत हुन्छे । दाइजो दिन नसक्दा सासू, ससुरा र लोग्नेको कुटाइ खानुपरेको छ । आजको युगमा बोक्सीको आरोपमा मलमूत्र खुवाइन्छ । थापा सर, हामी कहाँनिर बाँचेका छौँ ? तपाईंकै कार्यक्षेत्रमा पर्ने लाहान १५ बेतहाखोला ढोढनामा श्री आधारभूत विद्यालय छ । चार कक्षासम्म पढाइ हुन्छ एकजना सहयोगीको भरमा । अझ सहरी स्वास्थ्य केन्द्र पनि उनैको जिम्मामा पर्लाजस्तो । त्यही गाउँमा ठूलो लगानी गरेर नेवाः संस्थाले खानेपानीको काम गरेको रहेछ । निर्माण सिद्धिएको एक महिनासम्म पनि धारामा पानी आएन । सबैभन्दा ठूलो समस्या सधैँ पसिना बगाउने पुर्खादेखि बस्दै आएको जमिन आफ्नो नहुनुको पीडा त छँदैछ । हेर्नुस् थापा सर, सत्यवतीनिर यो पङ्क्तिकार पुग्दै गर्दा जीवनमा कहिल्यै चामलको भात खान पाइनँ बाबु भन्दै आँसु झारेर मकैको ढिँडो पस्किएर दिएको मलाई अहिलेजस्तो लाग्छ । विष्णुपुरकट्टी मडायनमा श्री नन्दनी नि.मा.वि. छ । त्यस स्कुलमा प्र.अ. विद्यालय कहिल्यै आउँदैनन् । तर उनको हाजिर पूरै हुने गरेको छ– सबै स्थानीयले विरोध गर्दा पनि । पुलिस पट्टामा हावाले उडाएको घरको छानोका बारेमा सोचिदिने कसले ?

अर्कोतिर सामाजिक विकृतिहरू झन् धेरै बढिरहेका छन् । जुवा, तास, जाँडरक्सी सेवन, वेश्यावृत्ति, चोरी, डकैती, गुन्डागर्दी बढिरहेको छ । सार्वजनिक शिक्षातर्फ अधिकांश शिक्षक नियमित स्कुल नजाने, पठनपाठन नियमित नहुने, खेताला शिक्षक राख्ने, राम्रो शैक्षिक वातावरण र गुणस्तरीय शिक्षा त आकाशको फलझैँ हुँदै गएको छ । सरकारी अस्पताल र स्वास्थ्यचौकीहरू छन् तर डाक्टर र स्वास्थ्यकर्मीहरू नियमित हुँदैनन् । अनुदानको औषधी बिक्री गरिँदैछ भने मिति सकिएका औषधीहरूसमेत बेचिँदैछ । छुवाछूत र छाडा क्रियाकलाप अद्यावधिक छँदैछ । अब भन्नुहोस् कहाँनिर छन् नेपाली जनता सन्तुष्ट ? विकृति बढ्यो, नगर्नुहोस्, रोक्नुहोस् भन्दै जनचेतना जगाउनु गैरकानुनी हो ? हो भने यस्तो विकृतिका विरुद्ध हजारपल्ट बोल्नुपर्छ, प्रचारप्रसार गर्नुपर्छ । त्यो मात्र देशभक्त स्वाभिमानी नेपाली हो । यी आवाजहरूलाई रोक्ने कोसिस कहीँकतैबाट नगर्दा नै भलो होला कि ? नत्र शासकहरूलाई रामराम भन्न त सक्छन्, काँध हाल्न त सक्तैनन् नि ? चेतना भया ।

२०७५ भदाै ३० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :