पुँजीवादका खराबीहरू

पुँजीवादले आफ्नो हिंश्रक र अमानवीय सार–चरित्रमाथि ‘लोकतन्त्र, प्रजातन्त्र’ र ‘मानवधिकार’ को रङ्गीन खोल ओढाएर आफूलाई सिँगार्न र श्रेष्ठ देखाउन खुब प्रयत्नहरू गरिरहेको छ । पूर्व–सोभियत सङ्घको विघटनपछि अजिङ्गरजस्तो बनेको पुँजीवादले उसको असफलता र पतनबारे टिप्पणी स्वीकार गर्ने त कुरै छोडौँ, सुन्न पनि सक्दैन । यी तर्कलाई उसले सीधै कम्युनिस्टको असहिष्णुता र पूर्वाग्रह मात्र भन्ने गर्ला, परन्तु पुँजीवादभित्र यस्ता खराब विशेषताहरू अन्तर्निहित छन् जसका कारण पुँजीवादलाई जति नै असल वा सही देखाउन खोजे पनि आमनागरिकको आँखामा सफल र स्वीकार्य हुन सम्भव बन्दैन । पुँजीवादले आफ्नो सफलताको अनेकौँ रूप प्रदर्शन गर्न खोज्छ तर झन् ठूला असफलता र सङ्कटहरूको सामना गर्नुपर्ने हुन्छ र आज त्यो भइरहेको छ । यो सत्य हो– पुँजीवाद कुनै समय प्रगतिशील व्यवस्था थियो, जसबारे कम्युनिस्ट घोषणापत्रमा माक्र्स–एङ्गेल्सले लेख्नुभयो, ‘पुँजीपतिवर्गले ऐतिहासिक रूपले निकै क्रान्तिकारी भूमिका निर्वाह गरेको छ । जहाँजहाँ पुँजीपतिवर्गले शक्ति प्राप्त गरेको छ त्यहाँत्यहाँ यसले सारा सामन्ती, पितृसत्तात्मक र भावनात्मक सम्बन्धहरूलाई ध्वस्त पारेको छ ।’
(कम्युनिस्ट घोषणापत्र, पृ. २८) ।

यो सन् १५६० तिरबाट सामन्तवादसँग सङ्घर्ष सुरु गरेदेखि सन् १७६० को औद्योगिक क्रान्तिसम्म अमानवीय सामन्ती व्यवस्थाविरुद्ध विद्रोह, प्रगति र क्रान्तिको प्रतीक बनेर उदायो । त्यतिबेलाका सर्वशक्तिमान् एवम् विश्वविजयको दम्भ पालेर बसेका सम्राट् र सामन्तहरूलाई आश्चर्यजनक ढङ्गले धुलोमा मिलाउँदै सत्तासीन हुन पुग्यो तर जब पुँजीवाद सत्तासीन हुन पुग्यो अति–उत्पादनको बजारमा मुनाफा सोहोर्न थाल्यो, श्रमिकवर्गको उत्पादनलाई आफ्नो थैलीमा भर्न थाल्यो र फाइदाका लागि लुट्नुपर्ने भयो तब पुँजीवादले आफ्नो प्रगतिशील चरित्र गुमाउँदै श्रमिकवर्गमाथि शोषण, उत्पीडन र दमनलाई असीमित प्रकारले लाद्न पुग्यो र एक प्रतिक्रियावादी एवम् खराब व्यवस्थामा पतन हुन पुग्यो । सामन्तवादलाई मिल्काउँदा जिउज्यान दिएर साथ दिने श्रमिकवर्ग (मजदुर, किसान, बुद्धिजीवी) लाई निष्ठुरी प्रकारले लुटमार गर्दै उसले आफूलाई दास मालिक र सामन्ती वर्गकै गुणमा परिणत गर्न पुग्यो । तत्पश्चात् पुँजीवाद र श्रमिकवर्गका बीचमा नयाँ अन्तरविरोध पैदा भयो । श्रमिकवर्ग पुँजीपतिवर्ग र उसको सत्ताविरुद्ध अन्तिम विद्रोहका लागि अगाडि आयो ।

पुँजीवाद खराब व्यवस्थामा बदलिएपछि सर्वहारावर्गले १७० वर्षदेखि सङ्घर्ष गरिरहेको छ । पुँजीवादी केन्द्र युरोपबाट सुरु भएको सङ्घर्ष आज आउँदा विश्वभरि फैलिएको छ । एकातिर पुँजीवादी विश्व खडा छ भने अर्कोतिर पुँजीवादका विरुद्ध वैज्ञानिक समाजवादी आन्दोलन चलिरहेको छ । पुँजीवादले आफ्नो शासन सत्ताबारे अनेकौँ प्रचार गरे पनि पुँजीवाद मानव–दुनियाँमा शोषणकारी र उत्पीडनकारी खराब व्यवस्था हो भन्नेमा समाजवादीहरू मात्र होइन, स्वयम् पुँजीवादका समर्थकहरू पनि सहमत छन् । पुँजीवाद कसरी खराब व्यवस्था हो भन्ने बुझ्नका लागि यसका वैचारिक, राजनीतिक, आर्थिक, सांस्कृतिक खराबीहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ : 
१. वैचारिक खराबीहरू
२. राजनीतिक खराबीहरू
३. आर्थिक खराबीहरू
४. सामाजिक खराबीहरू
५. सांस्कृतिक खराबीहरू
१. वैचारिक खराबीहरू
पुँजीवाद वैचारिक रूपले खराब एवम् गलत दृष्टिकोण बोकेको व्यवस्था हो । प्रकृति, समाज र राज्यलाई बुझ्नेमा यसको दृष्टिकोण आदर्शवादी (अध्यात्मवादी) र अधिभूतवादी रहेको छ जुन दृष्टिकोण विशिष्ट विशेषतासहित विकासमान मानव मात्रका लागि पूराका पूरा अवैज्ञानिक र खराब रहेको छ जसका बारेमा निम्नानुसार उल्लेख गर्न सकिन्छ : 
(क) अध्यात्मवादी दृष्टिकोण
(ख) अधिभूतवादी दृष्टिकोण
(क) अध्यात्मवादी दृष्टिकोण
अध्यात्मवादी दृष्टिकोण पुँजीवादको पहिलो वैचारिक खराबी हो । पुँजीवादले यो विश्व ब्रह्मान्ड, प्रकृति, समाज र राज्यलाई अध्यात्मवादी (परम् चेतनाको) दृष्टिकोणअनुरूप व्याख्या गर्छ र बुझ्न लगाउँछ । यी सबै वस्तुहरू कुनै बेला ईश्वर, भगवान्, प्रभुले निर्माण गरेका हुन्, आज पनि परम् शक्तिकै इच्छा र बलमा चल्छन् भन्नेजस्तो अवैज्ञानिक दृष्टिकोण सिकाउँछ जब कि अठाह्रौँ र उन्नाईसौँ शताब्दीमा पुँजीवादले सामन्तवाद, सम्राट् र राजाहरूसँग विद्रोह गर्दा उनीहरूले धर्मको आडमा निरङ्कुश शासन चलाएको आरोप लगाउँदै अध्यात्म र धर्मलाई राज्यबाट अलग गरेको थियो । आज राज्य सञ्चालनको व्यावहारिक जीवनमा पुँजीवादले विज्ञानको बलमा रजाइँ चलाएको छ तर अरूलाई राज्यको सन्दर्भमा अध्यात्मवादी दृष्टिकोण लाद्ने काम गरिरहेको छ । अध्यात्मवाद वा ईश्वर, भगवान्, प्रभु भनेका कल्पना मात्र हुन् भन्ने कुरा हरेक भौतिक वैज्ञानिकले विश्वास गर्छन् जसले स्वयम् पुँजीवादलाई भौतिक विकासको अत्याधुनिक अवस्थामा पु¥याएका छन् तर पुँजीवाद र पुँजीवादका सञ्चालकहरूले जानाजान विज्ञानलाई अवज्ञा गर्दै अध्यात्मवादलाई प्रोत्साहन गरिरहेका छन् । उनीहरूको यो दृष्टिकोणले पुँजीवादी राज्यलाई कायम राख्न र राज्य सञ्चालक शासकवर्गलाई सत्तामा टिकिरहन मात्र सघाउ पु¥याएको छ । अध्यात्मवादी दृष्टिकोणले यो संसारमा जुन सत्ता चलेको छ, यो अनन्त छ र जो सत्तामा छन् ती सत्ता चलाउनकै लागि आएका हुन् । साथै जो शोषित र उत्पीडित छन् ती यसकै लागि आएका हुन्, यसलाई बलजफ्ती फेर्न सकिँदैन भन्ने बुझाउँछ । विज्ञान मुख्य हो भन्ने जान्दाजान्दै आफ्नो उत्पीडनकारी शासन लाद्नका लागि अध्यात्मवादी दृष्टिकोण थोपर्नु भनेको पुँजीवादको वैचारिक खराबी हो ।

(ख) अधिभूतवादी दृष्टिकोण

पुँजीवादको अर्को वैचारिक खराबी मान्छेहरूमा अधिभूतवादी दृष्टिकोण फैलाउनु हो । अधिभूतवादी दृष्टिकोण भनेको प्रकृति, समाज, राज्य, राजनीति सबै वस्तुलाई जड, अगति, यथास्थिति, निरन्तरतामा हेर्ने (क्रमभङ्गतामा नबुझ्ने) र बुझ्ने दृष्टिकोण हो । यसले मान्छेलाई एकपाटे, एकलकाँटे, मनोगत र जड बनाइदिन्छ । यो दृष्टिकोणअनुसार समाज र राज्यव्यवस्थालाई पुँजीवादी रचना र सञ्चालनबाट बदल्न सकिँदैन, यही व्यवस्थामा जति सकिन्छ सुधार र थपघट गर्दै यसैमा रहनुपर्छ । अधिभूतवादी दृष्टिकोण अपनाउनुको कारण नै पुँजीवादलाई रक्षा गर्नु र जीवन दिनु हो । विज्ञानले सम्पूर्ण तथ्यका आधारमा ब्रह्माण्डका सबै वस्तु गतिशील, विकासशील र परिवर्तनशील छन् भनेर प्रमाणित गरेको छ । यो तथ्य पुँजीवादीहरूलाई पनि थाहा छ तर पुँजीवादीहरूले केही जानाजान र केही भ्रमवस राजनीतिक परिवर्तन पुँजीवादसम्म मात्र हो, अगाडि परिवर्तन सम्भव छैन भन्ने बनाउन खोज्छन् । यो विज्ञानविरोधी दृष्टिकोण हो । यसलाई नै वैचारिक रूपले अधिभूतवादी दृष्टिकोण भनिएको हो ।

२. राजनीतिक खराबीहरू

पुँजीवादभित्र राजनीतिक विचार र संरचनाका दृष्टिले पनि धेरै खराबी रहेका छन् । राजनीति जनताको सामाजिक, आर्थिक, सांस्कृतिक संरचना निर्माण, सञ्चालन र विकास गर्ने मूल नीति हो । राजनीतिले समाज, जनता, राज्यका बारेमा कसरी सोच्छ, ती क्षेत्रहरू त्यसरी नै अगाडि बढ्छन् । पुँजीवादले आजसम्म श्रमिकवर्ग र आमजनताका पक्षमा जनवादी र वैज्ञानिक तरिकाले राज्य सञ्चालन गरेको छैन; जसले गर्दा पुँजीवादभित्र जनताको जीवन जहिले पनि शोषित, दमित र उत्पीडित हुने गरेको छ । पुँजीवादले जनतामा लादेका राजनीतिक खराबीहरू निम्न रहेका छन् : 
(क) अधिनायकवादी
(ख) उत्पीडनकारी
(ग) फासिवादी
(घ) युद्धवादी
(ङ) अतिक्रमणकारी
(च) धर्मवादी
(छ) जातिवादी
(क) अधिनायकवादी
पुँजीवादी व्यवस्था अधिनायकवादी रहेको छ । राज्यसत्ताको विशेषताअनुरूप नै पुँजीवादले पुँजीपतिवर्गका पक्षमा श्रमिकवर्गमाथि अधिनायकत्व लादिरहेको छ । अधिकतम श्रमिकवर्गमाथि मुट्ठीभर पुँजीपतिवर्गको अधिनायकत्व लादेकाले यसको अधिनायकत्व तानाशाही र निरङ्कुश विशेषताको छ । यसले तर्कमा लोकतन्त्र, प्रजातन्त्र र स्वतन्त्रताको वकालत गर्दछ । राज्यभित्र नागरिकहरूले आफूलाई लागेको बोल्न, लेख्न, सभा गर्न, विरोध गर्न पाइन्छ भन्छ । परन्तु यी सबै स्वतन्त्रता उसको राजनीतिक व्यवस्थालाई सघाउँदासम्म वा ठूलो असर नपार्दासम्म मात्र स्वीकार गर्छ । जब जनता पुँजीवादले गरेको उत्पीडन, अत्याचार, दमन र शोषणका विरुद्ध उत्रिन्छन् तब उसको स्वतन्त्रता र प्रजातन्त्र डन्डा, जेल, दमन र बन्दुकमा बदलिन्छ । प्रतिक्रियावादी अधिनायकत्वमा परिणत हुन्छ । उसको इच्छाअनुसार जनतालार्ई कीरा मारेजस्तो सजिलै नरसंहार गर्छ । आजसम्म पुँजीवादी दमनकै कारण करोडौँ नागरिकको ज्यान गइसकेको छ । विश्वमा दैनिक सयौँ र हजारौँ नागरिकको ज्यान गइरहेको छ, त्यो केबल पुँजीवादी स्वार्थकेन्द्रित युद्धकै कारणले गइरहेको छ । पुँजीवादको यो प्रतिक्रियावादी अधिनायकवादी चरित्र हो ।

(ख) उत्पीडनकारी

पुँजीवाद उत्पीडनकारी व्यवस्था हो । जनतामाथि विशेषतः श्रमिक जनतामाथि उत्पीडन गर्नु पुँजीवादको राजनीतिक खराबी हो । उत्पीडनकारी हुनु भनेको सही र गलत, न्याय र अन्याय, ठीक र बेठीकभन्दा पनि शक्ति र सत्ताको बलमा नागरिकमाथि हैकम लाद्नु हो । जुन व्यक्ति, वर्ग वा संस्था सत्ता र शक्तिमा छ, उसैको स्वार्थ र हितअनुरूप जनतालाई शासन गर्नु हो । पुँजीवादले लामो समयदेखि विश्वका अधिकांश देशहरूमा यो उत्पीडन गर्दै आएको छ । पुँजीवाद भएको देशमा मुठीभर मान्छेहरू अकूत सम्पत्तिका मालिक छन् र राज्यसत्ता सञ्चालनका मालिकहरू छन् । उनीहरूले कहिले चुनावको हावा बगाउँछन्, कहिले प्रजातन्त्र र लोकतन्त्रको बाढी बगाउँछन्, कहिले समावेशी र समानुपातिकको हल्ला पनि फैलाउँछन् तर राज्य र राजनीतिक नेतृत्वमा उत्पीडक पुँजीपतिवर्गको नेतृत्व र अधिनायकत्वलाई कहिल्यै पनि गुमाउँदैनन् । कुनै कारणले सत्ताको नेतृत्व आफ्नो वर्गको हातबाट गुम्न थाल्यो भने जुनसुकै दमन र नरसंहार गर्न पनि अगाडि आइपुग्छन् । देशमा जहिले पनि बहुसङ्ख्यक नागरिक अभाव, गरिबी र गएगुज्रेको जीवन बाँच्न बाध्य छन् । श्रमिकलाई मालिकहरूका लागि काम गर्नकै लागि जन्मेको ठान्नु र गोरु जोतेजसरी जोतेर आफ्नो झोला भर्नु यसको विशेषता हो । उत्पीडक पुँजीवादले लोककल्याणकारी र उदार व्यवस्थाको प्रचार गर्नु केवल जनतालाई मूर्ख बनाउने पाखण्ड मात्र हो ।

(ग) फासिवादी

फासिवाद भनेको पुँजीपतिवर्ग स्वार्थका लागि जनतामाथि जुनसुकै खालको दमन गर्न तयार हुने प्रवृत्ति हो । पुँजीवादी व्यवस्थाको यो एउटा राजनीतिक विचारको खराबी हो । यसले पुँजीवादी सत्ताको बलमा पुँजीवादीवर्गको स्वार्थअनुरूप राजनीतिक, आर्थिक, सैनिक क्षेत्रका कानुन र नीतिनियमहरू निर्माण गर्छ । सत्तासीन–वर्गलाई आवश्यक पर्ने सबै निर्णयहरू लिन्छ । नागरिकहरूले विरोध गरे भने जनतामाथि निर्ममतापूर्वक सम्पूर्ण रूपले दमन गर्छ । यसको प्रयोग मुख्य रूपले दोस्रो विश्वयुद्धको समयमा इटालीका शासक मुसोलिनीले गरेका थिए । पछि हिटलरले पनि फासिवादलाई कठोरतापूर्वक लागू गरे । कैयौँ मान्छेले फासिवादलाई हिटलर वा मुसोलोनीसँग मात्र जोडेर व्याख्या गर्ने गर्छन् जब कि सत्य त्यो होइन । पुँजीवादी राज्यसत्ता जहाँको होस्, त्यो अन्ततः दमनकारी र फासिवादी चरित्रको नै हुन्छ । हामीले आजको पुँजीवादलाई विश्वव्यापी रूपमा हे¥यौँ भने सजिलै देख्न सकिन्छ– पुँजीवादी सत्ता विश्वव्यापी रूपमा फासिवादीकरण हँुदै गएको छ । विश्वभरि अधिकारको माग गर्ने र मुक्ति खोज्ने जनता र राष्ट्रहरूमाथि अकथनीय रूपले जङ्गली दमन चलाइरहेको छ । पुँजीवादी राजनीति र सत्ताको हमलामा परेर निर्दोष बालबालिकादेखि जनताको ज्यान गइरहेको छ ।

(घ) युद्धवादी

पुँजीवादी व्यवस्था युद्धवादी हुन्छ र छ । राजनीतिक रूपले यो पनि पुँजीवादको गलत र खराब चरित्र हो । युद्धवाद भनेको सबै विषयहरू चाहे न्यायपूर्ण होऊन् वा अन्यायपूर्ण; सबैलाई युद्धद्वारा हल गर्न खोज्ने प्रवृत्ति हो । यो फासिवादकै एउटा रूप हो । कसैले आफूले भनेको मानेन, आफ्नो स्वार्थअनुसार चलेन, आफूलाई घाटा हुने भो वा नाफा हुन्छ भन्ने लाग्यो भने निहँु खोजीखोजी युद्ध सञ्चालन गर्नु युद्धवाद हो । आज पुँजीवादी व्यवस्था बराबर युद्धवादी भएको छ । संसारमा जति पनि युद्धहरू भइरहेका छन् र जनताले युद्धको मार भोग्नुपरिरहेको छ; ती सबै पुँजीवादी तत्वहरूको नाफा–घाटा र आर्थिक स्वार्थकै कारणले भइरहेका छन् । यसो त इतिहासले देखाउँछ विगतमा जति पनि विध्वंसात्मक युद्धहरू भए (चाहे युरोपियन युद्ध होस्, चाहे पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध नै हुन्) सबै पुँजीवादीहरूकै कारणले भएका थिए । आज पनि यही कुरा सत्य छ तर अनौठो पक्ष के छ भने युद्ध लादिरहेका शक्तिले नै सबैभन्दा बढी शान्तिवादको खोल ओढ्न खोजिरहेका छन् । जनताले भने पुँजीवादी व्यवस्थाको युद्धवादलाई बुझ्दै गएका छन् ।

(ङ) अतिक्रमणवादी

पुँजीवादी व्यवस्था अतिक्रमणकारी हुन्छ । अतिक्रमणवाद भनेको राजनीतिक, आर्थिक, भौगोलिक, सांस्कृतिक रूपले आफूभन्दा कमजोर देश, क्षेत्र र स्थानलाई नियन्त्रण, हमला र कब्जा गर्ने प्रवृत्ति हो । सामन्तवाद, पुँजीवादमा यो प्रवृत्ति हाबी हुन्छ । यही प्रवृत्तिका कारण विश्वमा अशान्ति र अराजकता फैलिँदै आएको छ । आज भइरहेका युद्ध र विध्वंसहरू पनि पुँजीवादको अतिक्रमणकारी चरित्रकै कारणले भइरहेका छन् । अमेरिकाले विश्वभरि अतिक्रमण गरिरहेको छ । रुसले पनि विश्वमा प्रभाव फैलाउँदैछ । भारतले दक्षिणएसियामा अतिक्रमण गरिरहेको छ । ब्रिटेन, जर्मनी, फ्रान्सले पनि आफ्नो वरिपरि प्रभाव विस्तार गरिरहेका छन् । पुँजीवादले मुखले स्वाधीनता र सार्वभौमिकतालाई उचालिरहन्छ तर उसले व्यवहारमा कहिल्यै त्यसको पालना गर्दैन । हरदम अतिक्रमण गर्दछ ।

(च) धर्मवादी

पुँजीवादी व्यवस्था धर्मवादी भएको छ । वैचारिक रूपले धर्मवादलाई प्रयोग गर्नु पुँजीवादको राजनीतिक विशेषता बनेको छ जो उसको राजनीतिक खराबी हो । धर्मवाद भनेको समाज, वर्ग, राज्य, जाति, संस्कृतिलाई ईश्वर, भगवान् , प्रभु, अल्लाहको रचना र सिर्जना मान्ने दृष्टिकोण हो । धर्मबारे एङ्गेल्सले भन्नुभएको छ, ‘धर्म मानिसको दिनचर्यालाई नियन्त्रण गर्ने बाह्य शक्तिहरूको मानवीय मस्तिष्कभित्र पर्ने अत्यन्त लहडी प्रतिबिम्बशिवाय केही होइन ।’
(माक्र्सवादी–लेनिनवादी दर्शनशास्त्र, पृ. १७८) ।

धर्मवादको मुख्य पक्षपोषक सामन्तवादी सत्ता, पण्डित–पुरोहित, राजारजौटा र सामन्तहरू हुन् । यो दृष्टिकोणअनुसार जस्तो सत्ता छ, जो सत्तामा मालिक छ, जो गरिब र श्रमिक छन्, जसले मोजमस्ती पाएका छन्; यी सबै ईश्वर–भगवान्का सिर्जना हुन् । यी सबैलाई यसरी नै चल्न दिनुपर्छ । यसलाई बदल्न खोज्नु भनेको भगवान्, प्रभु, अल्लाहका विरुद्ध जानु हो । सुरुमा पुँजीवादले सामन्तवादविरुद्ध विद्रोह गर्दा धर्मबाट राज्यलार्ई अलग गरेको थियो तर आज जब वैज्ञानिक समाजवादले पुँजीवादलाई परास्त गर्न थाल्यो तब पुँजीवादले आफूलाई पछि फर्काउँदै धार्मिक दृष्टिकोणसँग मिलाउन पुग्यो । कतिसम्म भने सामन्तीकाललार्ई उछिन्दै धर्म प्रचार र रक्षाका लागि खर्बौं रकम राज्यले उपलब्ध गराइरहेको छ । डलरको बलमा सर्वसाधारण नागरिकलार्ई धर्म स्वीकार्न र परिवर्तन गर्न लगाइरहेको छ । योजनाबद्ध रूपले श्रमिक जनतालाई वर्गसङ्घर्षबाट अलग गर्न क्रिस्चियन र मुस्लिम, मुस्लिम र हिन्दु, हिन्दु र बौद्ध धर्मका सङ्घर्षहरू सिर्जना गर्ने कार्य भइरहेको छ । मान्छेहरूलाई काल्पनिक बिम्बका लागि बलिदान गर्न लगाइँदैछ । जो मानव दुनियाँँका लागि निकै दुःखदायी रहेको छ ।

(छ) जातिवादी

पुँजीवाद जातिवादी बनेको छ । जातिवाद भनेको रङ, चेहरा, नश्ल, जातिका आधारमा मानवजातिलाई विभाजित र विभेद गर्ने दृष्टिकोण हो । कुनै अमूक जातिलाई उच्च र अर्कोलाई निच, एउटालाई श्रेष्ठ र अर्कोलाई तुच्छ, एउटा अब्बल र अर्कोलाई कमसल, एउटालाई शासक र अर्कोलाई शासित बनाउने विचार हो । यो प्रवृत्ति दासयुगमा श्रम विभाजनबाट सुरु भई सामन्तवाद हुँदै आजसम्म कायम छ । वैज्ञानिक कारणबाट हेर्दा कुनै पनि जाति आफैँमा राम्रो र नराम्रो, श्रेष्ठ र तुच्छ, शासक र शासित हुँदैन र हुन सक्दैन । यो सबै मानवजाति वर्ग–विभाजित समाजमा प्रवेश गरेपछि मात्र पैदा भएको हो । सुरुमा पुँजीवादले जातिवादलाई पार गरेको थियो । आज पनि पुँजीवाद साम्राज्यवाद हुँदै उत्तरसाम्राज्यकालमा प्रवेश गरेपछि आपूm निकै अन्तर्राष्ट्रिय बन्न पुगेको छ तर जब श्रमिकवर्गको एकता र शक्ति बलियो भएर आयो; पुँजीवादले पराजय बेहोर्नुप¥यो तब उसले योजनाबद्ध रूपले जातिवादलाई फैलाउन थाल्यो, आज त्यसलाई अतिमा पु¥याइरहेको छ । जनतालाई फुटाउन र कमजोर बनाउन उसले जातिवादलाई रोप्ने, हुर्काउने गरिरहेको छ । कतिसम्म भने एक जातिका विरुद्ध अर्को जातिलार्ई उचाल्ने, जातिभित्र जाति र त्योभित्र पनि गोत्र र वंशमा विभाजित गरिहेको छ । त्यही जातीय विभाजनलाई जातीय द्वन्द्वमा बदल्ने कार्य गरिरहेको छ । उसले नै एउटा जातिका विरुद्ध अर्को जातिलाई हतियार र आर्थिक उपलब्ध गराइरहेको छ । जाति र क्षेत्रलाई उचालेर देशहरू टुक्र्याइदिने र देशहरूलाई खाइदिने गरिरहेको छ । आज विश्वमा चलिरहेका जातीय द्वन्द्वमा पुँजीवादको नै प्रत्यक्ष हात रहेको छ जो मानवजाति र सभ्यताका लागि विध्वंसक छ ।
(क्रमशः अर्को अङ्कमा)

२०७५ भदाै ३० गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :