देशैभर जनअभियान तीव्र, ‘सच्चा कम्युनिस्ट बन्नुस्, हाम्रो साथ छ’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले गत भदौ १ गतेदेखि लगातार जनआभियान सञ्चालन गरिराखेको छ । नेकपाका नेता र कार्यकर्ता अहिले जनताको घरदैलोमा पुगेका छन् । जनताका काम गरिदिएका छन् । आफ्ना पार्टीका धारणा व्यक्त गरेका छन् । जनताका सल्लाह र सुझाव लिइरहेका छन् । सङ्गठन विस्तार गरिराखेका छन् । अहिले वर्षाले छाडेको छैन । बाढीपहिरोले जनता आक्रान्त छन् । महिलामाथिको हिंसा बढेको बढ्यै छ तर संसदीय पार्टीहरू स्थानीयदेखि सङ्घसम्मका सरकार चलाउने नाममा जनतामाथि करैकरले थिचिरहेका छन् । हामी जनप्रतिनिधि हौँ भन्दै धम्क्याउँदै हिँडेका छन् । यस्तो अवस्थामा नेकपाका नेता/कार्यकर्ता जनताका घर–झुप्रोमा पुग्दा जनता आश्चर्यचकित र आशावादी बन्दै गएका छन् ।

पूर्वदेखि पश्चिमसम्म चलेका यस्ता अभियानहरूमा नेकपाका नेता/कार्यकर्ताहरूसँग जनपरिषद्द्वारा प्रकाशित पोस्टर र पर्चाहरू पनि छन् । ती पर्चा र पोस्टरमा लेखिएका र अङ्कित अक्षर र चित्रले जनताका लोकतन्त्र, जनजीविका र राष्ट्रियताका सवालहरूलाई इङ्गित गरेका छन् । यी पोस्टर, पर्चा र नेकपाका नेता/कार्यकर्ताहरूलाई आफ्नो घरदैलोमा पाउँदा जनता निकै सवाल गर्ने, सुझाव दिने र सङ्गठिन हुने गरिरहेका छन् । अधिकांश जनताले ‘तपाईंहरू प्रचण्ड र केपी ओलीजस्तो जनतालाई ठग्ने कम्युनिस्ट नहुनुहोला’ भन्ने गरेका छन् । उनीहरूले ‘तपाईंहरू जनताको सच्चा सेवक र क्रान्तिकारी कम्युनिस्ट हुनुहोला । अहिलेको सरकारले सबै चीजमा कर लगाएको छ । त्यसबाट हामी हैरान भएका छौँ । यो करका विरुद्ध आन्दोलन गर्नुस् । स्थानीय सरकारका नाममा भ्रष्टाचार भएको छ । त्यसलाई रोक्ने कार्यक्रम ल्याउनुस् । स्वास्थ्य र शिक्षामा हाम्रो पहुँच नै भएन । कसरी हुन्छ सहज र सुलभ हुने वातावरण बनाउनुस्’ भन्ने गरेका छन् ।

अभियानमा खटिएका नेताहरूका अनुसार जनता आफैँ जम्मा हुन्छन् । अभियानमा खटेका नेता÷कार्यकर्तालाई खाने–बस्ने व्यवस्था गरिराखेका छन् । अभियान टोलीमा जनकलाकार पनि रहेकाले अझ आकर्षित बनाइदिएको छ । यसरी जनताको व्यापक सहभागिता, सहयोग र सङ्गठित हुनेहरूको लस्कर नै लाग्न थालेकाले आफूहरूलाई असाध्यै उत्साहित बनाएको एकजना केन्द्रीय सदस्य तथा अभियान टोली प्रमुखले बताए । ती प्रमुखका अनुसार अधिकांश जनताले ‘हामीले भोट हालेर गल्ती गरेछौँ । अब कुनै पनि संसदीय पार्टीहरूको भ्रममा परिँदैन’ भन्न थालेको पनि बताए ।

२०७५ भदौ २८ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :