नरभक्षीहरूका विरुद्ध

 

ए नरभक्षी राक्षसहरू हो
आऊ मलाई फेरि पनि लुछ
म निदाएकी मात्र हुँ, मरेकी छैन
मलाई बलात्कार गरेर आनन्द लेऊ
तिमीहरूले सोचेजस्तो म ढलेकी पनि छैन
मेरा अनेक सपनाहरूमा आगो लगाएर
तिमीहरूले आगो ताप्दै गर्दा
जलनले म पग्लिएकी मात्र हुँ
मेरा अङ्गहरू च्यातेर तिमीहरू रमाउँदै गर्दा
दुखाइ सहन नसकेर म गलेकी मात्र हुँ
शरीर चिथोरेर छियाछिया बनाउँदा
अत्तालिएर म घोप्टो परेकी मात्र हुँ
फेरि आऊ मलाई कोपरेर प्यास मेट
समाप्त गर मेरो अस्तित्व
अझै टुक्राटुक्रा पारेर मलाई रेट
तिमीहरूसँग विलाप गरेर
मैले जीवनको भिक माग्दै गर्दा
रक्तपिपासु जनावरजस्तै
ममाथि उफ्रिएर मेरो रगत चुस्यौ
रोएँ, कराएँ, चिच्याएँ, के गरिनँ मैले ?
दाइ, भाइ, मामा, काका अनेक भनेँ तर
उफ्रियौ र झनै बेसरी लुछ्यौ
साँच्चै
अनेक लासको थुप्रोभित्रबाट
चिहान खोलेर म उदाउँदै गर्दा
तिम्रो शक्ति समाप्त भएर मसँग भिक माग्नेछौ
ए नरभक्षी पिचासहरू हो
यीः हेर, म मरेकी छैन
हजारौँ भएर म उदाउँदै गर्दा
तिमीहरू मबाट टाढा भाग्नेछौ
आऊ, दिनदहाडै फेरि
एकपटक अन्तिम भोज गर
मेरो शरीर चिथोरेर फेरि मोज गर
चिरहरण गर मेरो
म नमेटिने समयसम्म
बादल फाटेर आफैँ पानी पर्नेछ
मैले हैन, तिमीहरूको अन्त्य
अबको उदाउँदो युगले गर्नेछ ।

२०७५ भदौ २७ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :