कम्युनिस्ट अभिभारा

नेपाल सार्वभौम, स्वाधीन र स्वतन्त्र देश हो । यसका आफ्नै ऐतिहासिक, प्राकृतिक मूल्य र मान्यता छन् । नेपाल र नेपालीको आफ्नै पन र पहिचान छ । नेपाली प्रकृति र आदिवासीबीच ऐतिहासिक गौरवमय सामिप्यताको विरासत छ । नेपाली प्रकृतिले आदिवासी हुँदै नेपालीलाई हुर्काएको र नेपालीले आफू समीप प्रकृतिलाई आमातुल्य बुझेर स्याहार गरेको संस्कार छ । आफ्नै प्रकृतिका शैली, भेषभूषा, रीतिरिवाजलगायत पनहरू छन् । नेपालीको पहिचान नेपालबाहेक अर्थोकले हुनै सक्तैन । विश्व मानजजातिको एउटा विशिष्ट फूलबारी नेपाल हो भन्ने कुरामा दुईमत छैन । यस छटायुक्त फूलबारीमा रंगीचंगी वासनादार फूलहरू मगमगाइरहेका छन् । यसैले त नेपाली हुनुमा बेग्लै आनन्द छ । नेपाली प्रकृति विश्वकै अनुपम उदारहणीय नमुना छ र त नेपाली पौरखी, साहसी, धैर्यवान् र वैचारिक छन् । नेपालीको भावना विश्व मानवजातिमध्येकै उन्नत छ र त सिर्जित र आयातीत शोषण, सबै प्रकारका दोहनको सामना गर्न सामथ्र्यवान् छन् । हर–प्रकारका चुनौती र पीडाहरू पचाएर उज्यालो पस्किन हरेश नखानु नेपालीको विशेष गुणवेत्ता हो । यति मात्र कहाँ हो र, इतिहासको पाना पल्टाएर हेर्दा त्याग, तपस्या, बलिदानका कीर्तिमानहरू खडा भएका छन् । नेपाल र नेपाली अझै उन्नति, प्रगतिमा बेगवान् रूपमा कुद्न के कुराले दिएको छैन ? समस्याको पहिचान गर्न र निदानको उपाय सुल्झाउन नेपालीमध्येका उन्नत चेतना चानचुने कहाँ छन् र ! सामाजिक जीवनका सतत् मूल्य–मान्यता त सामान्य जीवनका दिनचर्या नै हुन् । तर, इतिहास र वर्तमानका राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिकलगायतका विषयको गहन अध्ययन, मूल्याङ्कन, समीक्षा गरी सही र गलत, वैज्ञानिक र अवैज्ञानिक, जीवनशील र मरणशील, गतिशील र गतिहीन पक्ष राजनीतिक–वृत्तमा औँल्याइएको छ । साथै, भविष्यमा कस्तो प्रकारको राष्ट्र, कस्तो प्रकारको व्यवस्था हुँदा नेपाल र नेपालीको समस्याको वैज्ञानिक निकास होला ? भन्नेबारे मानचित्र कोरिएको छ । राजनीतिक विचारधाराको क्षेत्रमा हेर्दा पुँजीवादी र वैज्ञानिक समाजवादी अर्थात् संसद्वादी र क्रान्तिकारीबीच ठूलो टकराव देखिएको छ । पुँजीवादी अर्थात् संसद्वादी (कांग्रेस, संशोधनवादी कम्युनिस्ट, सामन्ती राजावादी) हरूले आमूल परिवर्तन गर्ने त कता हो कता, यो कुरा सुन्न पनि चाहँदैनन् । उनीहरूको एउटै स्वर छ– सत्ता, शान्ति, भोट र विकास । तर परिणाम– अराजकता, भ्रष्टाचार, लुटखसोट, तस्करी, गुन्डागर्दी, छाडापन, मनपरीतन्त्र, दलालीकरण, साम–दाम–दण्ड–भेद, शोषण र दोहन । कुलमा हेर्दा खानेकुरा र आचीको घोल अर्थात् यथास्थितिको पक्षपोषण । वैदेशिक शक्तिकेन्द्रहरूको अगाडि लम्पसार र तलुवाचाट संस्कृतिको खेती झट्ट हेर्दा सत्ता, शान्ति, भोट, विकास भन्ने कुरा राम्रै देखिन्छ । सामान्य मानिसले उन्नति, प्रगति, अमनचयनको आशा सजाएर अर्को विकल्प नदेख्दासम्म ग्रहण गर्छन् तर सपनाको महल खडा गरी चाटुकार संसद्वादी राज्य सञ्चालकहरूले भोट असुल्छन् । उनीहरू विश्वास नभएका कारण र डराएका कारण बन्दुक र प्रशासनको दुरुपयोग गर्न पनि पछि पर्दैनन् ।

प्रति–त्रासमय अर्थात् श्वेतआतङ्क फैलाएर चुनावको महाजालमा सर्वसाधारणदेखि आसेपासे, आउरे, बाउरे, धुपौरेहरूको छाप लाउँछन् । विकासको साइनबोर्ड विज्ञापन शैलीमा खडा गर्दछन् तर भित्री उद्देश्य बेग्लै हुन्छ अर्थात् चुनावमा पोखिएको लगानी ब्याज, स्याजसहित असुल्नु । त्यसका लागि बिचौलियालाई पोस्नु, कानुन, प्र्रशासन, गुन्डालाई किन्नु र आफ्नो लगानी मुनाफासहित असुली गर्नु साथै, अर्को चुनावको लागि मनी–माइन्ड–मसलको गारेन्टी गर्नु । अब भन्नोस्, यो विकास हो कि विकार वा विनास ? राजनीतिक निकासबिनाको विकास वास्तविक अर्थमा डकार विकार हुँदै विनाससिवाय अरू केही पनि हुन सक्तैन । कमिसनतन्त्रको जन्म यसरी हुन जान्छ । भ्रष्टाचार यसरी अनिवार्य बन्न पुग्छ । गुन्डाखेती यसरी मौलाउँछ । कानुन, प्रशासनिक संयन्त्र यसरी सत्ता र शक्ति पक्षधर बन्न विवश हुन्छ । फेरि पनि सर्वसाधारण जनजीवन नुनिला आँसुका ढिका पिउँदै बिदेसिन बाध्य हुन्छन् । नेता, पार्टी, राजीतिलाई सत्तोसराप गर्दै समाज कचिङ्गलकै दिनचर्यामा फस्न र निम्छरो बन्न बाध्य हुन्छ । यस्तो अवस्थामा फसाइएको नागरिकले राष्ट्र, राष्ट्रियता, स्वाधीनता, जनमुक्तिबारे के नै सोच्ने फुर्सद पाउँछ र ! यसरी गरिन्छ राष्ट्र, राष्ट्रियताको लिलाम ! यसरी गरिन्छ, देश, जनताप्रति घात ! यसरी साबित गरिन्छ, जनतालाई भोट बैङ्क । वास्तविक अर्थमा नागरिक–जनता र राष्ट्र एक–अर्काका परिपूरक तत्व हुन् । राष्ट्र घर हो भने नागरिक परिवार । राष्ट्रियता पहिचान हो भने स्वाधीनता अस्तित्व र सामथ्र्य । यसका लागि पहिलो कुरा जनता मुक्त हुन जरुरी छ । जब मुक्त भइन्छ, उन्मुक्ति त राज्यले आफ्नो नागरिकलाई अनिवार्य व्यवस्था गर्नुपर्दछ । नागरिक जब अधिकार सम्पन्न बनेको अनुभूतिले लछप्पै हुन्छ, उन्मुक्तिको प्रतिफल नै विकास, उन्नति र प्रगति हुन पुग्दछ । जब जनअधिकारसहित विकास, उन्नति प्रगति हुन्छ, राष्ट्र सबल कहलिन्छ; तब न वैदेशिक हस्तक्षेप रोकिन्छ तर आजसम्मका सरकारले विभिन्न बहानाबाजी गरेर जनतालाई ललिपप खुवाएर राष्ट्रघात गर्ने गरेका छन् । यस विषयमा, दिल्लीको मागबमोजिम दिल्ली दरबारको अगाडि सिल्ली बनेर नदीनालालगायत नेपाली अस्मिता बिक्री गर्ने गरेका तमाम प्रमाण छन् । घोषित रूपमा भारतीय साम्राज्यवादकै स्वार्थसिद्ध हुनेखालले नेपालका सत्ताधारीहरू ‘दक्षिणाय नमः’ गर्दछन् । के यस्तो हर्कतले राष्ट्रिय स्वाधीनता बलियो बन्ला त ! कुरा गम्भीर छ । यसो हे¥यौँ भने कथित सङ्घीयता पनि दुरुस्त भारतीय फोटोकपीजस्तै देखिन्छ ।

निवर्गीय सङ्घीयता कति खतरनाक हुन्छ भन्ने कुरा पनि समयमै बुझिएन र विकल्प दिन सकिएन भने यसको परिणाम नेपाल फेरि पनि लिलिबिली पारेर लिलाम गर्नु र दलालहरूको रजाइँ चलाउनु, दलाल पुँजीवाद र सामाजिक दलाल पुँजीवादीको उर्बरभूमिमा परिणत गरेर नेपालीलाई केवल उपभोक्ता र सस्तो कामदारमा बदल्ने उद्देश्य बुझ्न कुनै आइतबार कुर्नु पर्दैन ।

त्यस्तै राजनीतिक क्रान्ति पूरा भइसक्यो, अब आर्थिक क्रान्ति, समाजवाद भन्नेहरूले के जनअधिकारको ग्यारेन्टी गरिसके त ? कथित सङ्घ, प्रदेश र स्थानीय निर्वाचन जोरजबर्जस्त ढङ्गबाट जसोतसो सम्पन्न भयो । यसको केकति सकस प¥यो, संसदीय दलहरूलाई थाहा होला । समाजका भ्रष्ट, क्रान्तिका भगुवा र ठगुवालाई टेन्डरशैलीमा जिताइएको छ । हिजोसम्म कमिसन, घूस, २ हजार प्रतिशतसम्मको करको मार जनताकै थाप्लोमा बज्रँदैछ र चेत खुल्दैछ कि फलानोलाई जिताउनु गल्ती भएछ । तर यिनीहरूलाई कारबाही गरिदिनु¥यो भनेर गुहार मागेका समाचार छन् । जनमुक्ति अर्थात् जनअधिकार भनेको केवल भोट हाल्नु, सत्ता सरकारका जनविरोधी नीतिनियमका सामु निम्छरो बनेर मान्नु होइन । देशमा विभेद र शोषण, दोहन ज्यँका त्यूँ छ । असमानताको खाडल साँघुरिएको सम्म पनि छैन । यसर्थ यी यावत् समस्याको गुजुल्टोमा कुम्भकर्ण बनेर डकार्ने चरित्र साबित दलाल संसदीय व्यवस्थाको अवैज्ञानिक, सडेगलेको, प्रणालीलाई पूर्ण रूपले बदल्न नेपालमा एउटा साँचो अर्थको कम्युनिस्ट पार्टीको खाँचो छ । उसो त नेपालमा कम्युनिस्ट पार्टी नभएको भन्ने सवाल बिल्कुलै होइन । २००६ सालदेखि कम्युनिस्ट पार्टी बन्ने र बलिदान वा संशोधनवादमा पतन हुने, दुई लाइन सङ्घर्षपछि सम्बन्धविच्छेद हुनुपर्ने अवस्था आइलागेको कुरा इतिहासमा जगजाहेर छ ।

सामान्य रूपमा हेर्दा फुट, विभाजनको नकारात्मक बुझाइले सर्वसाधारणमा अविश्वास पैदा गरेको छ । अझ गहिरिएर भन्नुपर्दा सहिद, बेपत्ता, परिवार, घाइते योद्धा, इमानदार, त्यागी कार्यकर्तामा गहिरो चोटसहित अविश्वास, आशङ्का पैदा गरेको छ । गैरकम्युनिस्टहरूले यही विषयलाई मसलाकै रूपमा उछालिरहेका छन् । अर्कोतिर ठूलठूला दुई लाइन सङ्घर्ष, अन्तर्सङ्घर्ष सञ्चालनको पीडासहित क्रान्तिकारी धाराले वर्गसङ्घर्षसहितको क्रान्तिलाई अगाडि बढाइरहेको अवस्था छ । माक्र्सवाद–लेनिनवाद–माओवादलाई दह्रोसँग पक्रेर मौलिक र वैज्ञानिक विचारको विकास गरिरहेको कुरा नै आजको उज्यालो पक्ष हो । २००६ सालमा क्रान्तिको उद्देश्यसहित कम्युनिस्ट पार्टीको गठन भयो, जुगेडी, हर्रेबर्रे आदि किसान आन्दोलन भए । यी क्रान्तिकारी कदम थिए । झापा आन्दोलन, सत्याग्रह, जनयुद्ध, १९ दिने जनआन्दोलन क्रान्तिका झनै विकसित रूप थिए । परिणामस्वरूप राजतन्त्र ढल्न पुग्यो । तर संसदीय व्यवस्था ढाल्ने कदमको सट्टा फेरि पनि क्रान्तिका नायकहरू भगुवावादको सिकार भए ।

यी सारा घटना, परिघटना बेहोर्दै अहिले नेपालमा एकीकृत जनक्रान्तिको कार्यदिशा वर्गसङ्घर्षको मैदानमा प्रक्षेपण भइरहेको छ । नेतृत्व र कार्यदिशाको स्पिरिटले आशा र भरोसा पैदा गरेको छ । नेतृत्व, कार्यदिशा, कम्युनिस्ट पार्टी, मोर्चा, जनवर्गीय सङ्गठन यी विषय सामान्य नभएर यक्ष विषय हुन् । राजनीतिक विचारधारा, कार्यदिशामा संकेन्द्रित जब हुन पुग्छ, नेतृत्वको जन्म पनि त्यहीँबाट हुने गर्दछ र भयो पनि जस्तो एकीकृत जनक्रान्ति र विप्लव । यो कुरा सर्वसाधारणदेखि सबैको मुखमा झुन्डिरहेकै छ । एकीकृत जनक्रान्तिको कार्यदिशा वर्गसङ्घर्षमा अभिव्यक्ति हुँदा सत्ताधारी चिटचिटाहट अवस्थामा पुग्दैछ भने क्रान्तिकारीहरू र श्रमजीवीहरूमा झनझनाहट पैदा भइरहेको छ । ठीक यहीँनेर बुझ्नुपर्ने कुरा के हो भने कम्युनिस्ट क्रान्तिका लागि कम्युनिस्ट पार्टी अपरिहार्य हुृन्छ । थबाङ आठौँ महाधिवेशनले नेपाल कम्युनिस्ट पार्टीको जन्म दियो । के यति मात्र भनेर पुगिहाल्छ त ? अहँ ! उसो भए के गर्ने त ? वास्तविक अर्थमा कम्युनिस्ट पार्टीको अर्थ साम्यवादी पार्टी भन्ने हुन्छ । अहिलेको खिचडी समाजमा साम्यवादी को हो त भन्दा अवश्य पनि कम्युनिस्ट पार्टीका सदस्य हो । कम्युनिस्ट समुदायको निर्माण गर्नु त्यसको कर्तव्य हो । कम्युनिस्ट समुदाय निर्माणका लागि एउटा कम्युनिस्ट पार्टी सदस्यले वर्गसङ्घर्षको दायित्व पूरा गर्नुपर्दछ । जब वर्गसङ्घर्षमा विजय हासिल हुँदै जान्छ, तब कम्युनिस्ट समुदाय पनि मौलाउँदै र फैलिँदै जान्छ । एउटा कम्युनिस्ट पार्टी सदस्य साम्यवादको भ्रूण हो भने केन्द्रीय निकाय त्यसमा पनि शीर्षस्थ नेतृत्व टिम पार्टी निर्माणदेखि नै साम्यवादी नभई कम्युनिस्ट क्रान्ति हाँक्नै सक्तैन किनभने संशोधनवादी कम्युनिस्ट फूलबुट्टे हुने भएकाले सर्वसाधारण झुक्किन पुग्छन् । क्षमताअनुसारको काम, आवश्यकताअनुसारको माम (दाम) साम्यवाद हो । क्रान्तिकालको साम्यवाद नेतृत्वमा अवश्य लागू हुनुपर्दछ । क्षमताअनुसारको काम, काम र आवश्यकताअनुसारको माम (दाम) समाजवाद हो । क्रान्तिकालको समाजवाद कार्यकर्तामा लागू हुनुपर्दछ । कामअनुसारको माम (दाम) जनवाद हो । क्रान्तिकालको जनवाद जनतामा लागू हुनुपर्दछ ।

साम्यवादको नेतृत्वमा जनवाद र समाजवाद अर्थात् वैज्ञानिक समाजवाद । यसको प्राप्ति भनेकै एउटा सच्चा कम्युनिस्ट पार्टीमा नीतिगत र विधिगत रूपमा जीवन–व्यवहारमा लागू गर्ने कुरा हुन् । तसर्थ, एउटा पार्टी सदस्यदेखि केन्द्रीय नेतृत्वसम्मको पहिलो उन्नत चेतना भनेको आफू कम्युनिस्ट बन्नेमा अभ्यस्त हुनु र प्रतिस्पर्धा गर्नु हो । जब एउटा असल र कुशल कम्युनिस्टको आचरण, व्यवहार र स्तर झल्कँदै र फैलिँदै जान्छ, कम्युनिस्ट समुदाय अवश्य निर्माण हुँदै जान्छ । असल कम्युनिस्ट समुदायमध्येको उन्नत चेतनाले लैस नेतृत्व, कार्यकर्ता, जनताको सङ्गठनलाई नेपाल कम्युनिस्ट पार्टी नभनेर के भन्ने ? जसले आमूल परिवर्तनसहितको क्रान्ति, वैज्ञानिक समाजवाद हुँदै स्वर्णिम साम्यवादमा मात्र मानव–मानवबीचको विभेद अन्त्य हुन्छ, सबै श्रमजीवी मानिस अधिकार सम्पन्नताको स्वतन्त्रता प्राप्त गर्ने कुरा मात्र बुझेको हुन्छ । जसमा भावनात्मक एकता, सद्भाव, परिश्रमी साथै, वैज्ञानिक सोच, विचार र व्यवहारका ठेलमठेल मुहान हुन्छन् । साँचो अर्थमा एउटा असल कम्युनिस्ट पूर्वको बिहानी हो । आशावादको भण्डार हो । हलकर्ता हो । समस्याको पहिचानकर्ता पनि हो । एउटा कुशल डाक्टर हो समाज विज्ञानको क्षेत्रमा ।

त्यसैले, स्वाधीन राष्ट्र निर्माण र जनताको मुक्तिका लागि क्रान्ति अपरिहार्य शर्त र आवश्यकता हो भन्ने कुरा मात्र बुझेर आफू कम्युनिस्ट बन्ने र कम्युनिस्ट पार्टी निर्माणको महान् अभियानमा विशेषतः युवालगायत क्रान्तिप्रेमी र राष्ट्रप्रेमी सबै जुट्नु वर्तमानको माग हो । होेइन भने नेपाल गम्भीर रूपले राष्ट्रघातको सिकार बन्ने र नेपालीहरू पराधीन–गुलाम बन्नुसिवाय अर्थोक हात लाग्नेछैन । बिग्रिएका कम्युनिस्टहरूले सामाजिक दलाल पुँजीवादको खेती गरेर युद्ध थोपर्दैछन् । कम्युनिस्ट पार्टी र समुदायले युद्धलाई क्रान्तिद्वारा परास्त गरी वैज्ञानिक समाजवाद जन्माउन आवश्यक छ । स्वाधीन राष्ट्र र मुक्त–उन्मुक्त जनताको ग्यारेन्टी गर्नु कम्युनिस्टहरूको मात्र अभिभारा हो । यसर्थ आउनुहोस् सो अभिभारा पूरा गर्न श्रमजीवी जनसमुदाय र सबै मित्र शक्तिहरूसित मितेरी गाँसौँ ।

२०७५ भदौ २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :