राजधानीमै दुई बालिकामाथि बलात्कार

काठमाडौँ : दुई बालिकालाई चार दिनसम्म बन्धक बनाएर बलात्कार भएकी छन् । काठमाडौंको किर्तिपुरमा बन्धक बनाएर बालिकालाई चार दिनसम्म बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।

प्रहरीले बालिकालाई उद्दार गरेको छ भने बलात्कारमा संलग्नलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कैलालीको घोडाघोडी घर भई हाल काठमाडौं किर्तिपुर–७, हनुमानघाट बस्ने हेमबहादुर खत्रीले आफ्नो डेरामा बालिकालाई बन्धक बनाई राखेको अवस्थामा प्रहरीले आइतबार साँझ बालिकाको उद्दार गरेपछि घटना सार्वजनिक भएको हो ।

सिन्धुपाल्चोक घर भएकी १४ वर्षीया र १३ वर्षीया बालिकालाई खत्रीको कोठामा चारदिनसम्म बन्धक बनाई बलात्कार गरेको प्रहरीले जनाएको छ । हाल ललिपुरको इमाडोल डेरा गरी बस्ने ती दुई बालिका यही भदौ २१ गते साँझ बानेश्वर जाने गाडीबाट खत्रीले आफ्नो कोठामा लिएर गएका थिए । उनले बालिकालाई ललाई–फकाई आफ्नो डेरामा लगेर बन्धक बनाएको प्रहरीले बताएको छ ।

प्रहरी वृत्तबाट दुई किलोमिटरको दुरीमा कोठा लिएका खत्रीले लगातारको बलात्कारपछि एक बालिकालाई आइतबार बल्खु ल्याएर छोडे भने अर्की बालिकालाई सँगै राखे । बल्खु छोडिएकी बालिकाले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरी वृत्त किर्तिपुरबाट प्रहरी नायब उपरीक्षक अनिलकुमार खड्काको नेतृत्वमा गएको टोलीले बालिकाको उद्दार गर्दै खत्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

स्वास्थ्य परीक्षणका लागि दुबै बालिकालाई थापाथलीस्थित प्रसूति गृह पठाइएको प्रहरीले जानकारी दिएको छ ।
२०७५ भदौ २५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :