साफ च्याम्पियनसिपको दोस्रो खेलमा भुटानविरुद्ध नेपालको शानदार जित

काठमाडाैँ : बंगलादेशमा जारी  साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ४–० को जित हात पारेको छ । पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले बिहीबार भुटानलाई खेलभर दबावमा राखेको थियो ।

खेलको २१ औं मिनेटमा नै अनन्त तामाङको गोलबाट अग्रता लिएको नेपालका लागि ७० औँ मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए । भुटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डी एरियामा फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

त्यससँगै वाङ्दीले दोहोरो पहेंलो कार्ड पाएपछि भुटान १० खेलाडीमा सीमित भएको छ । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउण्डमा आएको बललाई सुनील बलले गोलमा परिणत गरेका थिए ।

पाकिस्तानसँगको पहिलो खेलमा दोस्रो हाफमा मात्रै अवसर पाएका सुनीललाई प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्ध सुरुवाती ११ मै राखेका थिए । जसमा सुनिल प्लेमेकरका रुपमा देखिए । मिडफिल्डमा उनको भूमिका निकै प्रभावकारी थियो ।

त्यसपछि खेलको ७७ औं मिनेटमा अञ्जन विष्टको ठाउँमा मैदान छिरेका भरत खवासले त्यसको दुई मिनेटपछि सेन्टर नजिकैबाट एक्लै अगाडि बढाएको बललाई उत्कृष्ट प्रहार गर्दै नेपाललाई ३–० ले अघि र्पुयाए ।

भुटानलाई लगातार दबावमा राखेको नेपालले ८८ औं मिनेटमा चौथो गोल र्गयो । नेपालका लागि ८८ औं मिनेटमा निराजन खड्काले गोल गरेर ४–० ले जिताए ।

नेपालले भुटानको पोस्टमा गरेका २८ प्रहारमा १३ प्रहार पोस्टको दिशामा थिए । भुटानले गरेको ८ प्रहारमा २ प्रहार मात्रै सही दिशामा थियो ।

खेलमा ६३ प्रतिशत समय बलमा नियन्त्रण बनाएको नेपालको भुटानको तुलनामा पास एक्युरेसी पनि राम्रो थियो । नेपालमा १३ कर्नर किक प्रहार र्गयो भने भुटानले ४ कर्नर पाएको थियो ।

समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
२०७५ भदौ २१ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :