जनपक्षीय कला–साहित्य र सांस्कृतिक कार्य – खेम थपलिया

 गताङ्कको बाँकी …

४. सांस्कृतिक क्रान्ति
सन् १९४९ अक्टोबर १ मा चीनमा नयाँ जनवादी गणतन्त्रको घोषणा भयो । सन् १९५१ मा निम्न तीन खराबी देखिएको कुरा माओले संश्लेषण गर्नुभयो ः (क) भ्रष्टाचार (ख) बर्बादी (ग) नोकरशाही । सन् १९५२ मा निम्न पाँच खराबी देखिए ः (क) निजी औद्योगिक प्रतिष्ठानहरूमा घुसखोरी (ख) कर छली (ग) राज्य सम्पत्तिको चोरी (घ) सरकारी ठेक्कापट्टामा ठगी (ङ) आर्थिक सूचनाको चोरी । सांस्कृतिक क्रान्तिको पूर्वसन्ध्यामा प्रदर्शित ‘हाईजुईलाई पदबाट बर्खास्त गरियो’ नामक नाटक विशेष स्मरणीय छ । सन् १९६१ म पेकिङका उपमेयर वु हानद्वारा लिखित सो नाटकले क्रान्ति विरोधी सारवस्तु बोकेको थियो । सो नाटकमा हाईजुई नाम पात्र खडा गरेर सन् १९५९ मा पेङ तेह हुई (रक्षामन्त्री) लाई बर्खास्त गर्नु गलत थियो भन्ने सन्देश दिन खोजिएको थियो । माओको निर्देशनमा कमरेड यावो वेन युवानले त्यो नाटकको आलोचना गरेर लेखसमेत लेखेका थिए । माओले बेइजिङको चोकमा गएर लेख्नुभयो– ‘मुख्यालयमा बम वर्षा गर । ’ यो कदम साङ्केतिक रूपमा ली शाओ ची र लिन पियाओतिर (दुई बुर्जुवा मुख्यालय) थियो । त्यसपछि केन्द्रीय समितिको सांस्कृतिक समूहले माओको उक्त घोषणालाई सही सावित गरेपछि ‘पुँजीवादी मुख्यालयमा बम वर्षा गर’ भन्ने नारा दिइयो । त्यसपछि ठूल–ठूला पोस्टर टाँसियो । त्यसमा लाखौँ युवा सहभागी भए । महान् सर्वहारा सांस्कृतिक क्रान्तिको मुख्य सिद्धान्त थियो– ‘क्रान्तिको निशाना आफैँलाई बनाऊ । ’

कतिपय सन्दर्भमा माओलाई आफ्नै पार्टीको पोलिटब्युरो सदस्यहरूले दिने गरेको प्रतिवेदनमा विश्वास हुँदैनथ्यो । जनताले के भनेका छन् ? के खाएका छन् ? उनीहरूको जीवनस्तर कस्तो छ ? भनेर उहाँ आफ्ना अङ्गरक्षकलाई जनताको घर पठाउने गर्नुहुन्थ्यो । सन् १९६० मा भोकमरीले चीनलाई लपेट्यो । माओका अङ्गरक्षक लि यिङ्किआओले गाउँका किसानहरूले खाने सुख्खा रोटी माओका लागि ल्याइदिए । त्यसलाई भाँचेर माओले मुखमा हाल्नुभयो । त्यो अति नै सा¥हो थियो, चपाउन सक्नुभएन । उहाँको आँखाबाट बरर्र आँसु झ¥यो । माओले तत्काल पोलिटब्युरोको बैठक आह्वान गर्नुभयो । बैठकमा सबैलाई सोही रोटीको एक–एकवटा टुक्रा दिनुभयो । सा¥हो भएकाले कसैले पनि चपाउन सकेनन् । माओले आफ्नै नेतृत्वमा २८ वर्षसम्म युद्ध लडेर ल्याएको व्यवस्थामा जनताको दयनीय अवस्थाको चित्रण गर्दै विरोध गर्नुभयो । अन्ततः उहाँले नारा दिनुभयो– ‘विद्रोह गर्नु अधिकार हो । ’

चिनियाँ कम्युनिस्ट पार्टीको ‘केन्द्रीय समितिको परिपत्र (१६ मे, १९६६) र आठौँ केन्द्रीय समितिको ११ औँ पूर्ण बैठकले सन् १९६६ अगस्ट ८ मा पारित गरेको महान् सर्वहारा सांस्कृतिक क्रान्तिसम्बन्धी ‘१६ बुँदे निर्णय’ लाई महान् सर्वहारा सांस्कृतिक क्रान्तिको घोषणापत्र मानिन्छ । महान् सर्वहारा सांस्कृतिक क्रान्ति विचार, भावना, आदत तथा संस्कारमाथि विजय प्राप्त गर्दै अघि बढ्ने तथा पुँजीवादको पुनस्र्थापना रोक्ने कार्य र संशोधनवादको मूलेच्छेदन गर्ने उद्देश्यमा आधारित सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्तमा आधारित राजनीतिक क्रान्ति हो । राजनीतिलाई शीर्षासनमा राख्नु, सयौँ फूल्हरूलाई फुल्न दिनु, लाल र निपुर्ण बन्नु, क्रान्तिकारी उत्तराधिकारी तयार पार्नुजस्ता यसका मान्यता हुन् । चीनमा पुँजीपतिवर्गलाई मिल्काइए तापनि शोषकवर्गले पुराना विचार, संस्कृति, चालचलन र बानी–व्यहोराहरूलाई प्रयोग गरेर जनसमुदायलाई शोषण गर्न, तिनीहरूमा भ्रम छर्न र सत्तामा फर्किन प्रयास गरिरहेका थिए । त्यहाँ समाजवादी सत्ताको सुनिश्चित गर्न र पुँजीवादी पुनस्र्थापना रोक्न राजनीतिक, आर्थिक, वैचारिक र सांस्कृतिक सबै मोर्चाहरूमा अन्तसम्म समाजवादी क्रान्तिलाई अघि बढाउनु आवश्यक भयो । एक वा दुई पुस्ताभित्र समाजवादको पूर्ण विजय हुन सक्दैन, यसको पूर्ण समाधान गर्न दस पुस्ता वा अझ धेरै पनि लाग्न सक्दछ भन्नेजस्ता आधार लिइएको थियो ।

एकीकृत जनक्रान्ति सफल पार्न महत्वपूर्ण हतियार सांस्कृतिक क्रान्ति सञ्चालन गर्नु पनि हो । पुराना आदतविरुद्ध लड्न आवश्यक छ । सांस्कृतिक क्रान्तिको उद्देश्य विश्व दृष्टिकोणको समस्या समाधान गर्नु हो । यसको अर्थ संशोधनवादको जरा उखेल्नु हो । क्रान्ति निरन्तर चलाउनुपर्दछ । महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको नामले परिचित छ । नेपालको जनयुद्ध राजनीतिक र सैनिक स्वरूपमा मात्र थिएन, त्यो सांस्कृतिक क्रान्ति पनि थियो । पुरानो विचारधारा, संस्कृति, चालचलन, बानीबेहोरा, साहित्य तथा कला, सामाजिक चिन्तन, धर्ममाथि क्रान्ति नै सांस्कृतिक क्रान्ति हो । जसले महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई मान्दैन, ऊ मालेमावादी हुनै सक्तैन । जो मालेमावादी हुन सक्तैन, ऊ कम्युनिस्ट पनि हुन सक्तैन । साथै, आलोचना–आत्मालोचना सांस्कृतिक क्रान्तिको एउटा विधि हो । माओ त्से तुङले उत्तराधिकारी–नेता बन्न आलोचना–आत्मालोचनाको गुण हुनुपर्नेमा कुरामा जोड गर्नुभएको पाइन्छ । उहाँको थप भनाइ छ, “सिर्जनात्मक आलोचनात्मक चेत भएका नेता तथा कार्यकर्ता पार्टीका अमूल्य पुँजी हुन् । ”
५. सांस्कृतिक कार्य
जनपक्षीय फाँटमा सांस्कृतिक कार्यले विराट क्षेत्र ओगटेको छ । सांस्कृतिक आन्दोलन दीर्घकालीन युद्धमोर्चा हो । राजनीतिक आन्दोलनको दिशाअनुरूप नै सांस्कृतिक आन्दोलनको दिशा निर्दिष्ट हुन्छ । नेपालका क्रान्तिकारी लेखक, साहित्यकार तथा संस्कृतिकर्मीहरू नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक कार्यदिशा ‘एकीकृत जनक्रान्ति’ लाई आत्मसात् गरेका छन् । राजनीतिक रूपले जनताको प्रधान अन्तर्विरोध दलाल पुँजीवादसँग भएजस्तै क्रान्तिकारी संस्कृतिकर्मीहरूको प्रधान अन्तर्विरोध पनि दलाल पुँजीवादी संस्कृतिसितै छ । हाम्रो प्रहारको निशाना पनि त्यही हो । सांस्कृतिक पल्टनको राजनीतिक सेनापति कम्युनिस्ट–सर्वहारावर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टी हो भने वैचारिक सेनापति माक्र्सवाद–लेनिनवाद–माओवाद हो । त्यसको राजनीतिक कार्यदिशा एकीकृत जनक्रान्ति हो । राष्ट्रिय, जनवादी तथा वैज्ञानिक संस्कृतिको पक्षपोषण गर्दै सिर्जनात्मक रूपमा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको आधारमा वैज्ञानिक संस्कृतिको पक्षमा प्रचारात्मक तथा क्रियात्मक आन्दोलनलाई अगाडि बढाउनु सांस्कृतिक क्षेत्रको महत्वपूर्ण कार्य हो । जनपक्षीय सांस्कृतिक मूल्यबोधलाई ऐतिहासिक द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, वैज्ञानिक समाजवाद–साम्यवादको उदात्त आदर्शसित जोडेर विकास गर्नुपर्दछ । सांस्कृतिक आदर्शलाई केन्द्रमा राख्दै मुक्तिका निम्ति जीवनोत्सर्ग गर्ने सहिदहरू, बेपत्ता योद्धाहरू र घाइते अपाङ्गका त्याग, वीरता र बलिदानका उत्कृष्ट कीर्तिमान सांस्कृतिक आदर्शले ज्ञान, सिर्जना, शिल्प, चिन्तन र जीवनशैलीमा प्रगति र स्तरीकरणको पहलकदमी बढाउनु यो क्षेत्रको अर्को महत्वपूर्ण कार्य हो । भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद, सामाजिक दलाल पुँजीवाद, उपभोक्तावाद, उत्तर–आधुनिकतावादको व्यापक भण्डाफोर गर्नु सांस्कृतिक कार्य हो । जनसङ्घर्ष तथा विद्रोहद्वारा स्थापित मूल्यहरू समग्र समाजको संस्कार बन्नका लागि निश्चित समय र प्रयत्नको आवश्यकता पर्दछ तर जनयुद्धले स्थापित गरेका मूल्यहरू संस्कारगत चरणमा प्रवेश नगर्दै प्रतिक्रान्ति भयो । सांस्कृतिक क्षेत्रमा भएका गम्भीर विचलन र प्रतिक्रान्तिको समीक्षात्मक अध्ययन यो क्षेत्रको अर्को कार्य हो ।

जनयुद्ध दिवस (फागुन १), सहिद सप्ताह (फागुन १४–२१), सांस्कृतिक प्रतिरोध दिवस (चैत ५), सांस्कृतिक बलिदान दिवस (जेठ १३), किसान दिवस (असार ६), युद्धका विभिन्न मोर्चा, विभिन्न महत्वपूर्ण नेताको कार्यक्षेत्र, जन्म, बलिदानसित जोडिएका क्षेत्रहरू, पार्टी स्थापना दिवस, अन्तर्राष्ट्रिय नारी दिवस, अन्तर्राष्ट्रिय मजदुर दिवसलगायतलाई पुँजीकृत गर्दै जानु सांस्कृतिक क्षेत्रको कार्य हो । सामन्ती संस्कृतिका विरुद्धमा जनतालाई अपील गर्नु, त्यो चेतनालाई परिवर्तन गरेर प्रगतिशिलीकरण गर्न आफ्ना सिर्जनाहरूलाई केन्द्रित गर्नु, मानवजातिको मुक्ति सम्भव छ भन्दै वैज्ञानिक समाजवादी लक्ष्यतिर आकर्षित र प्रशिक्षित गर्नु तथा समाजिक दलाल पुँजीवादी सत्ताप्रति चरम घृणा उब्जाउनु पनि सांस्कृतिक क्षेत्रको कार्य हो । कम्युनिस्ट भएर सामन्ती तथा पुँजीवादी कला–साहित्यको बढोत्तरीमा लाग्ने तर समाजवादी–यथार्थवादी कलालाई लात मार्ने कुराको सशक्त प्रतिवाद गर्नुपर्दछ । नेपाली सांस्कृतिक सुन्दरता, नेपालको विविधताभित्रबाट नेपालको सौन्दर्य मूल्य र सौन्दर्यदृष्टिलाई वैज्ञानिक परिभाषा गरेर त्यसलाई सिर्जनामा प्रयोग गर्नुपर्छ । प्रगतिशील स्रष्टाहरूलाई सङ्गठित गर्नु, संयुक्त मोर्चा बनाउनु, उनीहरूको प्रतिभाको परिष्कारका निम्ति वातावरण निर्माण गर्नु, प्रेरित र प्रोत्साहित गर्नु, वैचारिक रूपले माझ्नु, सङ्गठनात्मक अवस्थालाई बलियो बनाउनु र परिवर्तनका निम्ति सर्जकीय हस्तक्षेपसहित सङ्घर्षमा ओर्लनु, दलाल तथा प्रतिक्रियावादी सत्ताको तावेदारीविरुद्ध आन्दोलित हुनु र अग्रगामी निरन्तर प्रवाहमा हेलिनु सांस्कृतिक क्षेत्रको अर्को महत्वपूर्ण कार्य हो । प्रतिरोध गर्ने हिम्मतको अभावमा कैयौँ स्रष्टा स्वतन्त्रताको सपना देखेर पनि उदासीनता, आलस्य, निराशा र कुण्ठाको बाटो समाएका हुन्छन्, निर्जन विपत्तिका बीचमा पनि हामीले तिनलाई अगाडि बढाउनु पनि महतवपूर्ण जिम्मेवारीभित्र पर्दछ ।

पुरातन सांस्कृतिक आधारका विरुद्ध नयाँ तथा जनपक्षीय वैकल्पिक सांस्कृतिक आधार तयार पार्नु सांस्कृतिक कार्य हो । सचेतन पहलद्वारा वैकल्पिक संस्कृतिका आधार तयार पार्न सकिन्छ । सांस्कृतिक रूपान्तरण केन्द्रीय पक्ष हो, समयक्रमसँगै रूपान्तरण हुँदै गएर बन्ने विकल्प र सचेतन प्रयत्नद्वारा रूपान्तरण हुँदै निर्माण भएको नयाँ विकल्पका यसका आधारहरू हुने गर्दछ । हुन त नेपाली समाजका धेरै संस्कारहरू फेरिँदैछन् । नयाँ–नयाँ विकल्प तयार हुँदै जाँदा ती जनसंस्कृतिका महत्वपूर्ण आधार बन्छन् । महान् अक्टोबर क्रान्तिका नायक भीआई लेनिन र उनको घन्टाको प्रसङ्ग परम्परागत संस्कार र संस्कृतिको रूपान्तरणको एउटा राम्रो जनपक्षीय उदाहरण हो । २०११ सालमा लमजुङको दुराडाँडामा पण्डितहरूले हलो जोते, जो ‘हलो क्रान्ति’ को नामले प्रसिद्ध छ । पछि त्यसवरिपरि क्षेत्रका अन्य ब्राह्मणहरूले पनि हलो जोत्न सुरु गरे ।

नेपालमा सयभन्दा बढी जातजाति, धर्म सम्प्रदाय, भेषभूषालगायत समग्र पक्षको विशेष अध्ययन गरेर तिनलाई संरक्षण गर्नुपर्ने, परिमार्जन र परिष्कार गर्नुपर्ने तथा हटाउनुपर्ने गरी तीन श्रेणीमा विभाजन गर्नुपर्दछ । त्यसरी विभाजन गरेपछि सोहीअनुसार प्रयोगमा लैजाँदा परम्परागत संस्कार–संस्कृतिको विकल्प तयार हुँदै जान्छ । संस्कार संस्कृतिसम्बन्धी निर्णायक अधिकार प्रयोग गर्ने निकाय, सांस्कृतिक रूपान्तरणसम्बन्धी सरोकार राख्ने व्यक्ति वा सङ्घ–संस्थाहरूले तिनीहरूसित छलफल गरी निश्चित धारणा बनाउँदै जाँदा राज्यस्तरमा एक चरणको विकल्प दिन सकिन्छ । घरपरिवार, शिक्षक–शिक्षिका, तिनको पठनपाठनले पनि सांस्कृतिक रूपान्तरणमा निकै ठूलो महत्व राख्ने गर्दछ । यस्ता विषयलाई पाठ्यपुस्तकमा समेत समावेश गर्नाले जनसंस्कृतिको विकासमा सकारात्मक प्रभाव पार्छ । जनयुद्धले जनपक्षीय संस्कृतिको विकासमा सकारात्मक भूमिका खेलेकै थियो । त्यतिखेर दसैँ, तिहार, तीजजस्ता परम्परागत चाड पर्व, संस्कार संस्कृतिका विकल्पमा नयाँ चेतना फैलाइएको थियो । ती महान् प्रक्रियामा तयार हुँदै गएका जनसांस्कृतिक मूल्यलाई विस्मृतिमा जान नदिन तथा तिनको सार्वभौम मूल्यलाई पुँजीकृत गर्नु पनि सांस्कृतिक क्षेत्रको महत्वपूर्ण कार्य हो ।
विचार, आस्था वा भावनासित जोडिएका कुनै पनि स्थानमा पुग्नु वा व्यक्तिसित भेटघाट हुनु दृष्टिकोण निर्माणसित सम्बन्धित कुरा पनि हो । आज संसारभरका मानिसहरू माक्र्स, लेनिन, माओजस्ता उच्च व्यक्तित्वहरू जन्मेको ठाउँमा पुगिरहेका छन्, उच्च सम्मान व्यक्त गरिरहेका छन् । नेपालमा पुष्पलाल जन्मेको स्थान, जनयुद्धमा वीरता प्रदर्शन गरिएका स्थानहरू, तयारीका क्षेत्रहरू, बलिदानका स्थलहरू तथा गाउँहरूलाई सांस्कृतिक नमुना गाउँको स्वरूप दिनु, तिनलाई जनताका जीवनसित जोड्दै नयाँ संस्कृतिको विकास गर्नु पनि यो क्षत्रको महत्वपूर्ण कार्य हो । हामीले वैज्ञानिक समाजवादी राज्यसत्ताको कुृरा गरिरहेका छौँ । यसका निम्ति उठान हुने वर्गसङ्घर्षको तीव्रतासँगै परम्परागत संस्कार–संस्कृतिका पर्खालहरू भत्कँदै जान्छन् । नेपाली समाजमा पेचिलो बन्दै आएको मृत्यु संस्कारलाई सरलीकरण गर्दै मृतकका असल कामको प्रशंसा गर्ने र समाजका लागि प्रेरणाको विषय बनाउन सकिन्छ । मृत्युसंस्कारसम्बन्धी पुरानो परम्पराका ठाउँमा नयाँ विकल्प दिई शोकमा पनि मानिसलाई धैर्य, साहस, उत्साह दिनाले पनि वैकल्पिक संस्कृतिको निर्माण हुँदै जान्छ ।
सांस्कृतिक रूपान्तरणमा स्कुलिङ महत्वपूर्ण हुने गर्दछ । जनपक्षीय संस्कार–संस्कृतिलाई जीवनमा उतार्ने प्रक्रियामा नयाँ–नयाँ विकल्पको विकास हुँदै जान्छन् । वर्गसङ्घर्षका क्रममा भएका वा हुने संवेदना, भावना र विचार सङ्केन्द्रित सांस्कृतिक मूल्यलाई संस्थागत विकास, विस्तार र प्रचार गर्दै जानु सांस्कृतिक क्षेत्रको कार्य हो । जनपक्षीय वैकल्पिक सांस्कृतिक अभियान चलाउँदै भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद तथा सांस्कृतिक बजारीकरणका विरुद्ध सङ्घर्ष गर्दै न्यु मिडियाको अधिकतम प्रयोग गर्नु पनि यो क्षेत्रको अर्को महत्वपूर्ण कार्य हो । आज अनसनमा पनि साम्राज्यवाद घुसेर आएको छ । अधिकारी दम्पत्ति र गोविन्द केसीको अनसन त्यसको दृष्टान्त हो । यस्ता क्रियाकलापको व्यापक भण्डाफोर गर्न आवश्यक हुन्छ । एकीकृत जनक्रान्तिले जनपक्षीय वैकल्पिक संस्कृतिमार्फत जनसंस्कृतिमा जोड दिएको छ । सांस्कृतिक क्षेत्रका महत्वपूर्ण कार्यको तीब्रतासँगै सांस्कृतिक लक्ष्य हासिल गर्न सकिन्छ ।

सिर्जनाका विभिन्न क्षेत्रमा तीब्रता ल्याउँदै आवश्यकताअनुसार सांस्कृतिक जनकारबाहीलाई पनि तीब्रता दिनु पनि सांस्कृतिक क्षेत्रको कार्य हो । टुप्पीदेखि पैतालासम्म सुधारवाद र संशोधनवादी भासमा फसेकाबाट नयाँ संस्कृति निर्माणको आशा, अपेक्षा तथा कल्पना गर्नै नसकिने हुँदा क्रान्तिकारी संस्कृतिको निर्माणका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व अनिवार्य हुने कुरालाई व्यापक प्रचार गर्नुपर्दछ । माओले भन्नुभएको छ, “हरेक क्रान्तिका लागि दुई प्रकारका सेनाको आवश्यकता पर्छ । एउटा आधारभूत सेना, जसले मुख्य सङ्घर्षको नेतृत्व गरोस् र दोस्रो सांस्कृतिक सेना जसले मुख्य मोर्चालाई सहयोग गरोस् । ” यसर्थ, माओले भन्नुभएजस्तै सांस्कृतिक सेनाको मर्मलाई आत्मसात् गर्दै जसरी जनयुद्धकालमा विश्वभर माओवादी जनयुद्धको प्रचार र कृष्ण सेन ‘इच्छुक’ को हत्याविरुद्ध प्रतिरोधी आवाज मुखरित भएएको थियो, त्यसैगरी समकालीन क्रान्तिकारी संस्कृतिकर्मीहरूको आवाजलाई भूमण्डलीकृत गर्नबाट टुटेको पछिल्लो अन्तर्राष्ट्रिय कडीलाई जोड्नु पनि जनपक्षीय सांस्कृतिक क्षेत्रको महत्वपूर्ण कार्य हो । हामीले यो जिम्मेवारी कुनै पनि मूल्यमा पूरा गर्नुको विकल्प छैन ।
उपसंहार
हामीले जनपक्षीय कला–साहित्य र सांस्कृतिक आन्दोलनका विविध पक्षका विषयमा सामान्य छलफल ग¥यौँ । यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी र त्यसनिकट केन्द्रीय जनपरिषद्ले यसबारे कसरी सोचिरहेको छ भन्ने कुरा पनि महत्वपूर्ण हुन आउँछ । नेपाल कम्युनिस्ट पार्टीनिकट केन्द्रीय जनपरिषद्को सांस्कृतिक नीति यसप्रकार रहेको छ ः विद्यमान दलाल संस्कृति र सामन्ती संस्कृतिका अवशेषहरूलाई जनवादी संस्कृतिमा बदल्ने र जनसंस्कृतिहरूको संरक्षण गर्ने हाम्रो नीति हुनेछ । तत्काल यसलाई निषेध, नियन्त्रण र नियमन गर्दै नयाँ जनवादी संस्कृतिमा रूपान्तरण गर्ने र जनसंस्कृतिहरूको संरक्षण र विकास यसको विधि हुनेछ । यसको उद्देश्य नेपालीहरूलाई सुसभ्य र सुसंस्कृत गर्ने नेपाललाई सांस्कृतिक हिसाबले समृद्ध नेपाल बनाउनु हुनेछ । त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक नीति यसप्रकार रहेको छ ः (१) जनतामा थोपरिएको विभेद, उत्पीडन, दमनबाट जनतालाई मुक्त गर्दै मानव समाजलाई सभ्य, समान, उन्नत समाजवादी सभ्यतातर्फ अग्रसर गराउने संस्कृति निर्माण गरिनेछ । (२) आफ्नो देशको स्वाधीनता, स्वतन्त्रता, जनताको मुक्तिलाई व्यक्त गर्ने संस्कृतिको संरक्षण र विस्तार गरिनेछ । (३) हजारौँ र सयौँ वर्षदेखि जनताले सिर्जना गरेका जनसंस्कृति र आधुनिक युवा पुस्तासम्मले विकास गरेका जनताका संस्कृतिको संरक्षण र संवद्र्धन गरिनेछ । (४) जनताका मुक्तिका लागि जीवन समर्पित गर्ने राजनीतिज्ञ, सहिद, बेपत्ता, घाइते योद्धाहरूको त्याग, लगानी, मिहिनेतलाई स्थापित र विस्तार गर्ने संस्कृतिको विकास गरिनेछ । (५) सांस्कृतिक मोर्चाहरूमा कार्यरत कलाकार, लेखक, चलचित्रकर्मी, ललितकलाकर्मी, निर्माता आदिलाई संवद्र्धन र प्रोत्साहित गरिनेछ । (६) छाडा, अश्लील, पुँजीवादी, सामन्तवादी संस्कृतिको अन्त्य गरिनेछ । (७) श्रमप्रति माया र सम्मान गर्ने संस्कृतिको विकास गरिनेछ । जनपक्षीय कला, साहित्य तथा संस्कृतिको संरक्षण गरिनेछ । (८) विज्ञान, प्रविधि, समाजसेवामार्फत देशको प्रतिष्ठा र समृद्धिमा योगदान गर्ने नागरिक अगुवाहरूको सम्मान गर्ने संस्कृतिलाई प्रोत्साहित गरिनेछ । (९) जनताको त्याग, बलिदान र शौर्यबाट विकास भएको नयाँ यथार्थको संस्थागत प्रचार र संवद्र्धनमा विशेष ध्यान दिइनेछ ।
अन्तमा सांस्कृतिक क्रान्तिसम्बन्धी निम्न उद्धरण प्रस्तुत गर्नु सान्दर्भिक हुनेछ, ‘क्रान्तिकारी संस्कृति व्यापक जनसमूहका लागि एक शक्तिशाली क्रान्तिकारी हतियार हो । क्रान्ति सुरु हुनुभन्दा अगाडि यसले क्रान्तिकारी विचारधारा फैलाएर क्रान्तिका निम्ति सैद्धान्तिक बाटो तयार पार्छ । क्रान्तिताका स्वभावतः क्रान्तिकारी मोर्चामा यो एउटा महत्वपूर्ण एकदमै महत्वपूर्ण जुझारु मोर्चा हो । यस सांस्कृतिक मोर्चामा लागेका क्रान्तिकारी संस्कृतिकर्मीहरू विभिन्न दर्जाका कमान्डरहरू हुन् । ’
के हामी उपर्युक्त कार्य पूरा गर्न सांस्कृतिक कमान्डर हुन तयार छौँ त ?
२०७५ भदौ १९ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :