विकास निर्माण गर्दै स्थानीय जनसत्ता

अम्बिका चन्द / काठमाडौँ : पुरानो राज्यव्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने उद्देश्यसहित २०५२ सालमा सशस्त्र जनयुद्धको आरम्भ गरेको तत्कालीन नेकपा (माओवादी) शान्तिप्रक्रियासँगै सोही पुरानो संसदीय व्यवस्थामा विलीन हुन पुग्यो । १० वर्षसम्म सञ्चालित सशस्त्र जनयुद्धको नेतृत्व गरेका तत्कालीन माओवादीका अध्यक्ष प्रचण्ड माओवादी केन्द्र हुँदै अन्ततः एमालेमा विलय भए । उक्त प्रक्रियासँग असहमति ब्यक्त गर्दै क्रान्तिको अधुरो कार्य पूरा गर्ने उद्देश्यले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृृत्वको नेकपा पुरानो संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनसत्ताको स्थापना र अभ्यास गर्दै अघि बढिरहेको छ । नेकपाले स्थापना गरेको उक्त नयाँ जनसत्ताले विकास निर्माण, न्याय, सुरक्षालगायत काम गरिरहेको नयाँ जनसत्ताका प्रतिनिधिहरू बताउँछन् ।

नयाँ जनसत्ताले ग्रामीण इलाकामा विकास निर्माणलगायत सामाजिक सेवाका विभिन्न कार्यहरू गर्दै आइरहेको जनाएको छ । जनसत्ताले कालीकोटमा विकास निर्माणको नमुना काम ७ किलोमिटर सडक निर्माणप्रक्रिया अघि बढाएको छ । आजभन्दा ४० वर्षपहिले सर्वेक्षण गरिएको भए पनि निर्माणकार्य सुरु हुन नसकेको उक्त सडकको निर्माण अहिले नेकपाको स्थानीय जनसत्ताले धमाधम अघि बढाएको छ । खुलालदेखि माल्कोट–रुपसा हुँदै कोटबारासम्म जोड्ने ७ किलोमिटर सडकको निर्माण नेकपाले चलाएको नयाँ जनसत्ताको पहलमा धमाधम अघि बढेको हो । २०७४ चैत २४ गते खन्न सुरु गरिएको उक्त योजनामा कम्तीमा पनि २१ करोड रकम लाग्ने अनुमान गरिएको छ भने यसका लागि जनसत्ताले १५ करोड रकम विनियोजन गरिसकेको जनाएको छ ।

यस्तै रोल्पामा सहिदमार्ग निर्माण गरिएको छ भने सिन्धुली, काठमाडौँ, कपिलवस्तुलगायत स्थानहरूमा जनसत्ताले समाजघरहरू बनाएको छ । जनताको दैनिक जीवन निकै कष्टकर भएका ठाउँहरूमा विकास निर्माणका नमुना कार्यहरू अघि बढाउने नयाँ जनसत्ताका प्रतिनिधिहरू बताउँछन् ।

२०७५ भदौ १७ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :