ब्राह्मणवाद र राज्यसत्ता – हरि नेपाली

सामान्य अर्थमा ब्राह्मण भनेको वेदका बारेमा जान्ने व्यक्ति हो । मनुका अनुसार ‘ब्राह्म जानाति ब्राह्मण’ अर्थात् ब्राह्मण त्यो हो जसले ब्राह्म (अन्तिम सत्य ईश्वरीय वा परम ज्ञान) लाई जान्दछ जो ईश्वर ज्ञाता हो त्यो ब्राह्मण हो । नीतिशास्त्रका अनुसार सुरुमा एक वर्ण मात्र थियो । त्यतिबेला कुनै जाति थिएन । बुद्धले समेत आफ्नो प्रवचनमा ‘भिक्षुहरू हो, कुनै मानिस जन्मका आधारमा ब्राह्मण हँुदैन’ भनेको पाइन्छ । हिन्दु धार्मिक ग्रन्थमा रहेका चार आश्रम (ब्रह्मचर्य आश्रम, गृहस्थ आश्रम, वाणप्रस्थ आश्रम र संन्यास आश्रम) सबैका लागि अनिवार्य थियो तर कालान्तरमा सवर्ण, आश्रम अनिवार्य मान्ने र असवर्ण, आश्रम अनिवार्य नमान्ने गरी वर्णाश्रम व्यवस्था सुरु भयो । हाल नेपालका ब्राह्मणहरू आर्यमूलअन्तरगत पर्ने एक हिन्दु धार्मिक समुदाय वा जाति हो जसलाई गाउँले जनजिब्रोको भाषामा बाहुन, पण्डित वा पुजारी पनि भनिन्छ । नेपालमा तीन भिन्न आर्य हिन्दु ब्राह्मण जाति वा समुदाय (पहाडी ब्राह्मण, नेवारी ब्राह्मण र मैथिली ब्राह्मण) छन् । ब्राह्मण नेपाली समाजको सबैभन्दा उन्नत जाति हो र यसको महत्वपूर्ण योगदान पनि छ । विद्वान्हरूका अनुसार के प्रस्ट छ भने केही फटाहा र धूर्त व्यक्तिहरूले तोडमोड गरेर विद्याका आधारमा नभई वंशका आधारमा ब्राह्मणलाई जातिमा रूपान्तरण गरे र ब्राह्मणवादको विकास गरे । ब्राह्मणवाद मुख्यतः हिन्दु वर्णाश्रम व्यवस्थामा आधारित छ । यसले दलित र महिलालाई पशुभन्दा पनि तल्लो दर्जामा राख्छ ।

शाब्दिक रूपमा संस्कृत भाषाको ‘ब्राह्मण’ शब्दका पछाडि ‘वाद’ उपसर्ग जोडिएर ब्राह्मणवाद शब्द बनेको छ । आफ्नो जाति, धर्म, भाषा, संस्कृति महान् र सर्वश्रेष्ठ, अरू निच भन्ने सोचाइ हो ब्राह्मणवाद । यसलाई जबरजस्त लागू गर्न मनु र मनुस्मृति ग्रन्थको मुख्य भूमिका रहेको छ । तथापि त्यसको विकासमा २१ जना ब्राह्मशास्त्रीहरू अङ्गीर, अपस्तभ्म, अत्री, बृहस्पति, बौद्धायन, दक्ष, गौतम, हरित, कात्यायन, लिखित, मनु, परासर, संवर्त, शङ्ख,शत्तय, उपानस, वशिष्ठ, विष्णु, वेदव्यास, यज्ञवल्क्य, यमकलगायत शङ्कराचार्यहरूको पनि योगदान छ ।

हाम्रो समाजमा अझै पनि ब्राह्मणवाद कति हिंश्रक र क्रूर छ भन्ने कुरा बर्दिबासकी बुद्धमाया विश्वकर्मा जसले जातीय छुवाछूत र विभेदविरुद्धको लडाइँमा त कानुनी रूपले अदालतबाट जितिन् तर सामाजिक रूपमा भने हार सवीकार्दै आत्महत्याजस्तो गलत र भयानक त्रासदीको बाटो रोज्नुप¥यो । उनको यो अवस्था न व्यक्तिगत हो, न त सामान्य घटना नै हो । त्यस्तै यो एक महिनायता सुदूरपश्चिममा समान प्रकारका दुई पाशविक र जङ्गली प्रकारका घटना भए । कैलाली गौरीगङ्गा नगरपालिका ११ की कक्षा १२ मा पढ्ने विद्यार्थी माया विश्वकर्मा र कञ्चनपुर भीमदत्त नगरपालिका २ खोलटीकी विद्यार्थी निर्मला पन्त । यी दुवैजना विद्यार्थीको बलात्कारपछि हत्या गरिएको थियो । दुवै घटना आमसञ्चारमा महत्ववका साथ आए तर सामाजिक र राजनीतिक रूपमा माया विश्वकर्माको सामूहिक बलात्कार र जघन्य हत्याको विरोधमा न समाज बोल्यो, न दलहरू, न विद्यार्थी सङ्गठन, न महिला सङ्गठन बोले तर निर्मला पन्त हत्याको उस्तै घटनामा स्थानीय स्तरमा समाज र दलहरू आन्दोलित भए । विद्यार्थी र महिला सङ्गठनहरूले सडक प्रदर्शन गरे प्रदेश र केन्द्रीय संसद्मा कुरा उठे । सरकार बोल्न बाध्य भयो । यो सही छ । तर माया विश्वकर्माको हत्यामा बोल्न नसक्नेहरू निर्मला पन्तको घटनामा उग्र आन्दोलनकारी कसरी भए होलान् ? त्यहाँ एउटा सांस्कृतिक दर्शनले काम गरेको छ, त्यो हो ब्राह्मणवाद । जसको चुरो चीज हिन्दु कर्मकाण्डीय वर्णाश्रम व्यवस्था हो जसले सबै जातजातिलाई एक हुनै दिँदैन । जनतालाई फुटाउने र राज गर्ने नीति निहित छ । जातिप्रथा मान्ने, छुवाछूतमा विश्वास गर्ने, अरूलाई स्वाँठ, निच देख्ने र हेप्ने निकृष्ट एवम् अमानवीय बर्बर सामन्ती व्यवहार गर्ने विचार हो ब्राह्मणवाद । जसरी जन्मँदै राजा हुने राजनीतिक व्यवस्था थियो त्यस्तै जन्मँदै ब्राह्मण हुने सामाजिक, सांस्कृतिक व्यवस्था हो यो । पुरानो वर्ण व्यवस्थाको सङ्कीर्णतामा अल्झेर आफूलाई एक सर्वश्रेष्ठ जाति ठान्ने चिन्तन हो ब्राह्मणवाद जो सर्वथा गलत छ । केही सज्जन र असल ब्राह्मणहरू पनि छन् । कुरीतिको भत्र्सना गर्छन् । विज्ञानमा विश्वास गर्छन् । सबै मानव जातिको मुक्तिका निम्ति सङ्घर्षरत छन् । ती यी कुविचारबाट मुक्त छन् । तर राज्यसत्ताले नै सदियाँैदेखि जबर्जस्ती लादेर आएको हुँदा दलित, जनजातिलगायत अन्य जातजाति र पूरै समाजमा व्याप्त छ ब्राह्मणवाद । विज्ञानको विरोध गर्ने, अध्यात्मवादमा विश्वास गर्ने सबै दलित र जनजातिहरू पनि ब्राह्मणवादका ठिमाहा सन्तान हुन् ।

नेता, बुद्धिजीवी, पत्रकार प्रत्येकको मस्तिष्कमा ब्राह्मणवादको विष भरिएको छ । नेताहरूले जनता र कार्यकर्तामा भरपर्न छोडेर ज्योतिषीका कुरामा भर पर्नु, कम्युनिस्ट भनिनेहरू ग्रहदशा लागे भनेर भैँसीपूजा गर्दै हिँड्नु, कपाल खौरेर र जनै भिरेर सेता वस्त्र पहिरिएर किरिया वस्नुलगायत क्रियाकलापले समाजमा यसको प्रभाव कति गहिराइसम्म छ भन्ने देखाउँछ । खासगरेर यो नेपाल र भारतको हिन्दु समाजमा मान्छेको जन्मने प्रक्रियादेखि मृत्युपर्यन्त पनि ब्राह्मणको अनिवार्य आवश्यकता निर्धारण गरिएको एक कुरूप र भद्दा संस्कार हो । हिन्दु धार्मिक शास्त्रका अनुसार सोह्र संस्कार, जस्तै ः न्वारन, पास्नी, व्रतबन्ध, विवाह, मृत्यु, श्राद्धलगायत सबै काममा ब्राह्मणलाई पुज्नैपर्छ, ढोग्नैपर्छ । सबै चाडपर्व र तिथिहरूमा कुनै न कुनै रूपमा हिन्दु ब्राह्मणवादको साइनो गाँसिएको छ ।

नेपालको राज्यसत्ता र सामाजिक संस्कृतिमा बिशेष गरेर मल्ल कालदेखि शाहवंश र राणाकालीन शासकहरूले हिन्दु ब्राह्मणवादलाई प्रश्रय दिँदै आएको कुरा सर्वविदितै छ । हालको गणतान्त्रिक व्यवस्थामा पनि कायमै रहेको छ । हाम्रा शासकहरूको दिमागमा संसारका विकसित विचार, विज्ञान र प्रविधिवाट सिक्ने कुनै इच्छाशक्ति नै छैन । यिनीहरू केवल मनु, चाणक्य र कौटिल्यको हिन्दु ब्राह्मणवादी परम्पराबाट नै निर्देशित छन् । अहिले पनि चार जात छत्तीस वर्णको नारालाई राज्यसञ्चालनको मूल मन्त्र मान्दछन् । नेताहरूको निवासमा गुरुपुरोहित सल्लाहकार समूह रहनु राज्यले नै औपचारिक रूपमै पञ्चाङ्ग निर्णायक समिति राख्नु, धर्मनिरपेक्ष राष्ट्रका राष्ट्रप्रमुख र सरकारप्रमुख पूर्वराजाको झैँ लाजै नमानी धार्मिक कार्यक्रममा औपचारिक राजसी ठाँटका साथ उपस्थित हुनु, राज्यको लगानीमा बन्ने प्रत्येक भौतिक नवनिर्माणमा साइत जुराएर विशेष पूजापाठ गरी होम गरेर मात्र शिलान्यास, उद्घाटन गरिनु, राज्यसत्ताका सबै उच्च तहमा एकै जातिको नेतृत्व हुनु मात्र हैन, सत्ताका सबै अवयवहरू राजनीति, धर्म, संस्कृति, शिक्षा, मनोविज्ञान, समाज, अर्थतन्त्रलगायत संवत् र झन्डासमेतमा ब्राह्मणवादलाई जबर्जस्त स्थापित गरिएको छ । त्यसकारण हामीले बुझ्नुपर्ने मुख्य कुरा के छ भने नेपालका आम मुक्तिकामी, न्यायप्रेमी जनता, मजदुर, किसान, महिला, दलित, जनजातिहरूको साझा दुस्मन राज्यसत्ता नै हो । यसको मुख्य सामाजिक, सांस्कृतिक आधार हिन्दु सामन्ती ब्राह्मणवाद हो भने आर्थिक आधार दलाल पुँजीवाद हो । देशमा दिगो शान्ति, समृद्धि र स्थायित्व ल्याउने हो भने यो ब्राह्मणवादी दलाल पुँजीवादलाई जरैबाट उखेल्न सक्नुपर्छ । यसका लागि सानातिना सङ्घर्ष, आन्दोलन वा विरोध गरेर मात्र सम्भव छैन, अर्को एउटा महाक्रान्ति जरुरी छ । यसको नेतृत्व एकीकृत जनक्रान्तिले गर्नेछ । आजको दुनियाँमा छुवाछूत जस्तो घृणित अपराधलाई पचाउँदै अपमानित भएर बाँच्नुभन्दा आमदलित समुदाय सम्मानपूर्वक लडेर मर्न तयार हुनु पर्दछ । वैज्ञानिक समाजवादमा मात्र सम्पूर्ण मानव जातिको मुक्ति सम्भव छ । न्यायको जित निश्चित छ ।

२०७५ भदौ १७ गते आइतबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :